बालमजदुर विद्यार्थीहरूको सिकाइको अवस्था Baalmajdur Bidyarthiko Sikaeko Awastha
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Faculty of Education
Abstract
बालमजदुरी गर्ने विद्यार्थीहरुको सिकाईको अवस्था शीर्षकमा तयार पारिएको शोधपत्रमा मुख्य उद्देश्य बाल मजदुरी गर्ने विद्यार्थीहरुको सिकाईको अवस्था पहिचान गरी सो अवस्थालाई सुधार गर्ने उपायहरुको खोजी गरिएको छ ।
यो अध्ययन परिमाणात्मक र गुणात्मक दुवै अनुसन्धान ढाँचामा आधारित छ । यस अध्ययनमा सामान्य सम्भावनायुक्त नमूना छनौट विधिको प्रयोग गरी माध्यमिक विद्यालयहरूको छनौट गरि सोधकार्यलाई पूर्णता दिईएको छ । उद्देश्यमूलक नमुना छनौट विधिको प्रयोग गरी स्रोतकेन्द्रका स्रोतव्यक्ति, सम्वन्धित विद्यालयका प्रधानाध्यापकहरू, बालमजदुरी गर्ने विद्यार्थीहरु र तिनका अभिभावकहरूलाई छनौट गरि अध्ययन कार्यलाई पूरा गरिएको छ । त्यसैगरी सामान्य सम्भावनायुक्त नमुना छनौट विधिको प्रयोग गरी शिक्षकहरू छनौट गरिएको छ । नम्ुना छनौटमा परेका व्यक्तिहरूसँग अन्तर्वार्ता, छलफल, प्रश्नावली तथा दस्तावेज पुनरावलोकन जस्ता तथ्याङ्क संकलनका साधनहरूको प्रयोग गरि सिंगो आकारमा ढालिएको छ । अध्ययनमा प्राथमिक स्रोतको रुपमा प्रश्नावली तथा अन्तर्वार्ता र छलफलका माध्यमवाट प्राप्त तथ्याङ्क तथा सूचनाहरूलाई लिइएको छ भने सहायक स्रोतको रुपमा विद्यालयको अभिलेखलाई लिइएको छ ।
बालबालिकाहरू आफ्नो अध्ययन गर्ने उमेरमा शारीरिक तथा मानसिक रुपमा असर पुग्ने खालका काममा सम्लग्न भएको भेटियो । बालबालिकाहरू घरेलु श्रमिकका रुपमा आफ्नो तथा अर्काको घरमा काम गरिरहेका, कृषि श्रमिकको रुपमा ज्याला मजदुरी गरिरहेका, यातायात, होटल तथा अन्य क्षेत्रमा बालबालिकाहरूले काम गरिरहेको प्रत्यक्ष देखियो । बालबालिकाहरूले काम गर्ने क्षेत्रमध्ये सवैभन्दा बढी होटल तथा व्यापार श्रमिकका रुपमा २५ प्रतिशत, दोस्रोमा घरेलु श्रमिकको रुपमा काम गरिरहेको अवस्था पाइयो । त्यसैगरी यातायात, कृषि तथा अन्य क्षेत्रमा पनि काम गरिरहेको पाइयो । बालबालिकाहरूले बालमजदुरी गर्नुपर्ने कारणहरूमा अभिभावकहरूमा जनचेतनामा कमी, परिवारको आकार ठूलो हुनु, बालबालिका तथा परिवारका सदस्यहरू रोगी हुनु, परिवारको आर्थिक अवस्था कमजोर हुनु, निशुल्क श्रमिकको रुपमा छोराछोरीको प्रयोग गर्नु, शिक्षकले विद्यालयमा भेदभावपूर्ण व्यवहार गर्नु, विद्यालयको वातावरण बालमैत्री तथा अपाङ्गमैत्री नहुनु, कक्षामा अनुत्तिर्र्ण हुनु आदि रहेको पाइयो ।
बालबालिकाहरूको बालमजदुरीको अवस्थालाई सुधार गर्न अशिक्षित तथा शिक्षाको महत्व नवुझेका अभिभावकहरूलाई शिक्षाको आवश्यकता र महत्व बुझाउनु पर्छ । गरिवी न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरेर, गरिव तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति वितरण गर्नुका साथै उक्त छात्रवृत्ति रकमको सही सदुपयोग गरेर, विद्यालयमा हुने भेदभावपूर्ण व्यवहारको अन्त्य गर्नुपर्छ । बालबालिकाहरू अनुत्तिर्र्ण हुने दर घटाउन सकेमा विद्यालय छोड्ने दरमा कमी ल्याउन सकिन्छ ।
शिक्षाको लागि सरोकारवाला पक्षहरूलाई बढी जिम्मेवार र उत्तरदायी बनाउने नीतिगत व्यवस्था मिलाउनु पर्छ । आर्थिक रुपमा विपन्न ग्रामिण समुदायका जनसमुदायहरूलाई उनीहरूको आर्थिक स्तर उकास्ने तथा आत्मनिर्भर बनाउने किसिमका कार्यक्रमहरू संचालन गर्नुपर्दछ । छात्रवृत्ति वितरण कार्यलाई समुचित रुपमा लक्षित वर्गको पहिचान गरी वितरण गरिनुपर्दछ । विद्यार्थीहरूको मनोविज्ञानलाई बुझेर पठनपाठन गराउने व्यवस्था गराउनु पर्दछ । पाठ्यक्रम तथा पाठ्यपुस्तकहरू व्यवहारिक र समसामयिक बनाउँदै शिक्षण क्रियाकलापको सम्वन्धित निकायहरूवाट निरन्तर निरीक्षण तथा अनुगमनको व्यवस्था मिलाउनु पर्दछ ।
