पर्वत जिल्ला कारागारमा बन्दीहरूको सामाजिक, आर्थिक अवस्थाको अध्ययन {Social Inmates of the Parbat District Prison, A Study of the Economic Situation}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
समाजशास्त्र सङ्काय
Abstract
प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत समाजशास्त्र÷मानवशास्त्र विभाग, समाजशास्त्र विषयको स्नातकोत्तर तह द्वितीय वर्षको आठौं पत्रको प्रयोजनका लागि तयार गरिएको हो । यो शोधपत्र कारागारको बारेमा अध्ययन गरिएको छ । प्रस्तुत अध्ययन खास गरी “पर्वत जिल्ला कारागार र बन्दीहरूको सामाजिक, आर्थिक अवस्थाको अध्ययन” शीर्षक छनोट गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको शोधपत्र मुख्यतः दुई उद्देश्यमा केन्द्रित गरिएको छ । जसमा कारागारमा रहेका बन्दीहरूको सामाजिक र आर्थिक पक्षको विश्लेषण गरिएको छ भने बन्दी जीवन पद्धति र कारागार व्यवस्थापन सम्बन्धी अध्ययन गरी विश्लेषण गरिएको छ ।
बन्दीहरूको अपराधप्रतिको दृष्टिकोण र समग्र कारागार समाज बुझ्ने उद्देश्यकासाथ गरिएको प्रस्तुत अनुसन्धान मानवीय संबेदनाको कोणबाट हेर्दा अत्यन्त आवश्यक, महत्वपूर्ण र औचित्यपूर्ण छ । अझ हालसम्म कारागार सम्बन्धी अध्ययन अनुसन्धान नभइरहेको अवस्थामा समय, जनशक्ति र आर्थिक अभावका कारणले सीमित गरिएको प्रस्तुत अध्ययन पर्वत जिल्ला कारागारका ४४ बन्दीमा आधारित रहेर गरिएको यो अनुसन्धान प्रक्रियामा सघन विधिलाई आधार बनाई अगाडि बढाइएको छ । प्रस्तुत अध्ययन वर्णनात्मक र अन्वेषणात्मक पद्धतिमा आधारित छ । तथ्याङ्क स्रोत मध्ये प्राथमिक स्रोतलाई बढी जोड दिइएको छ जसले गर्दा अनुसन्धान बढी यथार्थपरक र वैज्ञानिक रहोस् भनी सामग्री सङ्कलनका प्राथमिक स्रोतमा लागि प्रश्नावली, अवलोकन र छलफल विधिको उपयोग गरिएको छ भने द्वितीय स्रोतहरूमा प्रकाशित र अप्रकाशित लेख, रचना र पुस्तकहरू समाविष्ट गरिएको छ ।
प्रस्तुत शोधपत्रमा जम्मा ७ अध्याय, २३ शीर्षक, ४९ उपशीर्षक, ४३ तथ्याङ्क तालिका, ३ अनुसूची, सन्दर्भ ग्रन्थ समेत गरी ९३ पृष्ठ सहित निम्न निष्कर्ष निकालिएको छः
१. बन्दीहरू अन्य मुद्दामा भन्दा पनि ज्यान सम्बन्धी मुद्दामा परेकाहरू बढी छन् साथै कैदीको तुलनामा थुनुवाको संख्या बढी रहेको छ ।
२. बन्दीहरू युवा अवस्थामा (१५—३४ वर्ष) अपराध गर्नेहरू बढी पाइएको छ । साथै बृद्ध अवस्थामा अपराध गर्ने बन्दीहरूको संख्या भने कम पाइएको छ ।
३. अविवाहितको तुलनामा विवाहितको संख्या बढी रहेको छ साथै अन्य कारण भन्दा साथी संगतको कारण अपराध गर्ने बन्दीहरू बढी पाइएको छ ।
४. धेरै बन्दीहरूको घरको वार्षिक आम्दानीले वर्षभरि खान नपुग्ने, केहीको जग्गा जमिन नभएको, भएको पनि ज्यादै न्यून भू–स्वामित्व भएको पाइएको छ ।
५. आर्थिक अवस्था धेरै कमजोर भएपनि आर्थिक कारणबाट हुने अपराधको संख्या भने कम पाइएको छ ।
६. कारागारबाट दिइने सुविधाले नपुग्नेहरू मध्ये केहीले त्यहीँ आयआर्जन गरेर र केहीले घरबाट मगाएर खर्च चलाएका छन् । आयमूलक सिप तालिमको व्यवस्था नभएकोले धेरै बन्दीहरू आफूलाइ खर्च अभाव भएपनि त्यसै निर्वाह गरी दिन बिताउन बाध्य भएको पाइएको छ ।
७. परिवार इष्टमित्रको नकारात्मक दृष्टिकोणका कारण केही बन्दीहरू घर परिवारसँगको भेटमा वन्चित छन् ।
८. बन्दीहरू बीचको सम्बन्ध राम्रो रहेको र कारागारका कर्मचारी बीचको सम्बन्धलाइ सामान्य किसिमको मान्ने बन्दीहरू बढी पाइएको छ ।
९. बन्दीहरूको मुख्य समस्याको रूपमा रहेको कारागारको भौतिक सुधार, नयाँ भवनको निर्माण, खानेपानी, शौचालय, स्नानगृह आदि रहेका छन्. ।
१०. बन्दीहरू कारागारबाट छुटेपछि बढीले कृषि कार्य नै गर्नेमा जोड दिएका छन् बाँकी केहीले नयाँ व्यवसाय अपनाएर जीवन यापन गर्ने संकल्प लिइएको पाइएको छ ।
११. बन्दीहरू आफ्नो घरमा पुग्न नसक्दाको कारण मुख्य रूपमा आर्थिक समस्या परेको बताउँछन् ।
१२. हाम्रो समुदायका सदस्यहरूको बन्दीहरू प्रति हेर्ने दृष्टिकोण र धारणाले गर्दा समुदायप्रति वन्दिहरू बढी मात्रामा सशंकित छन् ।
