विद्यालय व्यवस्थापनमा सामाजिक परीक्षणको प्रभाव {Impact of Social Testing on School Management}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
विद्यालय व्यवस्थापनमा सामाजिक परीक्षणको प्रभाव” शीर्षकमा गरिएको यस अनुसन्धान कार्यको मुख्य उद्देश्य विद्यालयमा समाजिक परीक्षणले विद्यालय व्यवस्थापनमा पारेको प्रभावको विश्लेषण गर्नु रहेकोे छ ।
यस अध्ययनको सैद्धान्तिक खाका नियन्त्रणको सिद्धान्त, सर्वमान्य लेखाविधिको सिद्धान्त र शिक्षा प्रशासनको सिद्धान्तमा आधारित छ । यस अध्ययनलाई अगाडि बढाउन गुणात्मक र परिमाणात्मक ढाँचाको अवलम्बन गरिएको छ । सम्भाव्यतामा आधारित नमूना छनौट विधिद्वारा प्राथमिक र द्वितीय स्रोतको माध्यमवाट तथ्याङ्क सङ्कलन गर्ने काम भएको छ । अध्ययनको क्रममा मोरङ जिल्लाको बाहुनी स्रोतकेन्द्र अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरु मध्ये सम्भाव्यतामा आधारित नमुना छनौट गरी ती विद्यालयमा कार्यरत प्र. अ., वि. व्य. सं अध्यक्ष शिक्षक र अभिभावक छनौट गरी आवश्यक तथ्याङ्क तथा सूचना, सङ्कलन गर्नका लागि प्रश्नावली, अन्तर्वार्ता र दस्तावेज अध्ययन जस्ता अनुसन्धानका साधनहरुको प्रयोग गरी आवश्यक जानकारी सूचना र तथ्याङ्क लिइएको छ ।
सामाजिक परीक्षणको बारेमा विद्यालय व्यवस्थापन समिति र प्र. अ.बीच सामान्य जानकारी रहेको पाइएको छ । त्यसमा पनि सामाजिक परीक्षणको बारेमा तालिम गोष्ठीमा भाग लिएका व्यक्तिहरु पाइएनन् । सामाजिक परीक्षणलाई कतिपय व्यक्तिहरुले लेखा परीक्षणका रुपमा मात्र बुझेको पाइयो भने अभिभावकहरु तथा वि. व्य. स. सं का अधिकांश सदस्यहरुले सामाजिक परीक्षणको बारेमा राम्रो जानकारी नै नभएको पाइयो । सामाजिक परीक्षणको वारेमा बुझेका व्यक्तिहरुले पनि यसलाई भञ्झटिलो र बोझका रुपमा मात्र लिएको पाइयो । धेरै जसो विद्यालयहरुमा सामाजिक परीक्षण समितिले समाजिक परीक्षण गरेपश्चात अभिभावक भेला गराई सुनाउने गरेको छ भने केही विद्यालयहरुले वि. व्य. स. मा मात्र प्रस्तुत गर्ने गरेको पाइयो । सामाजिक परीक्षण विद्यालयमा भयो कि भएन भन्ने वारेमा माथिल्लो तहबाट पनि खोजी नभएको हुदाँ यसको प्रभावकारी कार्यान्वयन नभएको देखिन्छ ।
सामाजिक परीक्षण विद्यालयको हितका लागि गरिने भएको हु“दा विद्यालयका सरोकारवालाहरुको तालिम र गोष्ठीद्वारा क्षमता वृद्धि गर्नुपर्दछ । यसका लागि समस्या समाधान गर्न केन्द्रीय निकायबाट प्रत्यक्ष अनुगमन तथा सुपरीवेक्षण गर्नुपर्दछ । विद्यालयमा शिक्षक अभिभावक सङ्घको भूमिकालाई क्रियाशील बनाई सामाजिक परीक्षणसँग सम्बन्धित तालिम गोष्ठिको व्यवस्था गरी क्षमता वृद्धि गर्नु पर्दछ। विद्यालयको वार्षिक कार्यक्रम निर्माण, कार्यान्वयन र उपलब्धि मूल्याङकनमा बढीभन्दा बढी सरोकारवालालाई संलग्न गराउनु पर्दछ । विद्यालयको आम्दानी तथा खर्चको विवरणलाई प्र. अ. ले तालिका चार्ट बनाई पारदर्शी ढंगले देख्ने गरि राख्नुपर्दछ । प्रधानध्यापकले समुदायसँग सुमधुर सम्बन्ध कायम गर्दै विद्यालय हाम्रो हो भन्ने भावनाको विकास गरी विद्यालयको चौतर्फी विकासमा लाग्नुपर्दछ ।
