प्राथमिक शिक्षामा झाँगड जातिका बालबालिकाहरूको सहभागिता {Jhangad caste in primary education Children's participation}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र सङ्काय सुकुना बहुमुखी क्याम्पस इन्द्रपुर, मोरङ
Abstract
नेपाल एउटा बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक राष्ट्र हो । यहाँ विभिन्न जातजाति तथा जनजातिहरूको बसोबास रहेको छ । नेपालमा बसोबास गर्ने विभिन्न आदिवासी जनजातिहरूमध्ये नेपालको पूर्वी तराईमा बसोबास गर्ने झाँगडहरू अशिक्षित, गरिब, पिछडिएका र अल्पसङ्ख्यक समुदायका रूपमा चिनिन्छन् । यस समुदायका बालबालिकाहरूको प्राथमिक शिक्षामा सहभागिता पत्ता लगाउन “प्राथमिक शिक्षामा झाँगड जातिका बालबालिकाहरूको सहभागिता” शीर्षक अन्तर्गत यस अध्ययनलाई अगाडि बढाइएको छ ।
प्राथमिक शिक्षामा झाँगड जातिका बालबालिकाहरूको सहभागिता पत्ता लगाउने र शैक्षिक उपलब्धिको लेखाजोखा गर्ने उद्देश्य राखी अगाडि बढाइएको यस अध्ययनमा लुडविङ भोन बटनफाइ (सन् १९५०) को प्रणाली सिद्धान्त र अब्राहम मास्लो (सन् १९४३) को उत्प्रेरणा सम्बन्धी सिद्धान्तलाई वैचारिक खाकाको रूपमा राखिएको छ भने सम्बन्धित साहित्यको पुनरवलोकन गर्ने क्रममा विभिन्न लेख, रचना, पुस्तक, शोधपत्र तथा अध्ययन–प्रतिवेदनको समीक्षा गरिएको छ । माथिको उद्देश्य पूरा गर्न वर्णनात्मक तथा विश्लेषणात्मक ढाँचालाई आधार मानी प्राथमिक र द्धितीय स्रोतबाट सङ्कलन गरिएका तथ्याङ्क तथा जानकारीहरूलाई प्रदर्शन, व्याख्या तथा विश्लेषण गर्न तालिका, ग्राफ, स्तम्भचित्र, वृत्तचित्र र प्रतिशतको प्रयोग गरिएको छ ।
अध्ययन क्षेत्रका झाँगड बालबालिकाहरूको विद्यालय सहभागिता तुलनात्मक रूपमा न्यून रहेको, पछिल्ला वर्षहरूमा भर्नादर बढ्दै गए पनि कक्षा बढ्दै जाँदा भर्नादर घट्दै गएका, सबै झाँगड बालबालिकाहरू विद्यालय जान नसकेको तथ्य प्राप्त भयो । यस जातिका बालबालिकाहरूको शैक्षिक उपलब्धिको लेखाजोखा गर्दा अन्य विद्यार्थीको तुलनामा कक्षा उत्तीर्ण प्रतिशत कम रहेको, शै.व. को बीचैमा कक्षा छाड्ने र कक्षा दोहो¥याउने दर बढी रहेको पाइयो भने सिकाइ उपलब्धि अत्यन्त कमजोर रहेको पाइयो ।
यसरी हेर्दा मृगौलिया गा.वि.स. मा बसोबास गर्ने झाँगड समुदायका बालबालिकाहरूको विद्यालय सहभागिता र शैक्षिक उपलब्धि कमजोर रहेको छ । विभिन्न शैक्षिक समस्याहरू भोग्न बाध्य यस जातिका बालबालिकाहरूको विद्यालय सहभागिता र शैक्षिक उपलब्धि वृद्धि गर्न आर्थिक अवस्थामा सुधार गर्नुपर्ने, चेतना बढाउनका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, छात्रवृत्ति र पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था गर्नुपर्ने, शैक्षिक नीतिमा परिवर्तन गरी भेदभावलाई अन्त्य गर्नुपर्ने बालश्रमको नियन्त्रण, शिक्षामा सुनिश्चितता र रोजगारीमा आरक्षण दिनुपर्ने साथै सामाजिक जागरण कार्यक्रम मार्फत सामाजिक–साँस्कृतिक संस्कारमा परिवर्तन गर्नुपर्ने देखिन्छ ।
