माध्यमिक तहमा गरिएको आर्थिक लगानी र शैक्षिक क्षतिको एक अध्ययन वनियानी, झापा (Madhyamik tahama garieko aarthik lagani ra shaikshik kshatiko ek adhyayan Baniyani, Jhapa)
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
“माध्यमिक तहमा गरिएको आर्थिक लगानी र शैक्षिक क्षतिको एक अध्ययन; बनियानी, झापा” शिर्षक राखी गरिएको यस अध्ययनको मुख्य उद्देश्य माध्यमिक तहको विद्यार्थी प्रवाह दर पत्ता लगाउनु, माध्यमिक तहको शैक्षिक क्षति गणना गर्नु र माध्यमिक तहमा गरिएको आर्थिक लगानी र शैक्षिक उपलब्धीको तुलनात्मक अध्ययन गर्नु रहेको छ । यस उद्देश्यलाई प्राप्त गर्न उद्देश्यमूलक नमुना छनोट अन्तर्गत बनियानी गा.वि.स लाई नमुना को रुपमा लिइएको छ भने उक्त गा.वि.स का दुई माध्यमिक विद्यालयहरू लक्ष्मी उच्च माध्यमिक विद्यालय र विद्या निकेतन माध्यमिक विद्यालयलाई शत प्रतिशत छनोट गरिएको छ । त्यसैगरी विद्यालयका विद्यार्थी, शिक्षक र प्रधानाध्यापक पनि शत प्रतिशत नै छनोट गरिएको छ ।
यस अध्ययनका लागि शोधकर्ता स्वयम् उपस्थित भई विद्यालयमा विद्यार्थी प्रवाहदरको अवस्था थाहा पाउन विद्यार्थी, अभिभावक, प्र.अ., विद्यालय परिवार, जिम्मेवार निकाय समेतलाई प्रत्यक्ष तथा अप्रत्यक्ष अन्र्तवार्ता, प्रश्नोत्तर, छलफल आदि कार्य सञ्चालन गरिएको छ । यसकालागि तथ्याङ्क संकलन कार्य गुणात्मक साथै परिमाणात्मक विधिबाट प्राथमिक र आवश्यक परेका तथ्याङ्क द्वितिय स्रोतका माध्यमबाट संकलन गरी प्राप्त तथ्याङ्कलाई आवश्यकताअनुसार तालिकामा प्रस्तुत गरी तिनको व्याख्या र विश्लेषण गरिएको छ । प्राथमिक स्रोतबाट तथ्याङ्क संकलन गर्न छुट्टाछुट्टै प्रश्नावली निर्माण गरी प्र.अ., शिक्षक, विद्यार्थी, अभिभावकलाई प्रत्यक्ष अन्र्तवार्ता लिइ तथ्याङ्क संकलन गरिएको छ । द्वितीय तथ्याङ्कहरु विभिन्न लेख, रचना, पत्रपत्रिका, गा.वि.स., जि.वि.स.को कार्यालय, शिक्षा कार्यालय, केन्द्रिय तथ्याङ्क विभाग, अन्य प्रकाशित र अप्रकाशित तथ्याङ्कलाई साथै विद्यालयका विद्यार्थी अभिलेखबाट संकलन गरिएको छ ।
माध्यमिक विद्यालयमा विद्यार्थी प्रवाहदरलाई हेर्दा माध्यमिक तहमा वार्षिक औषत ७ सय ६७ जना विद्यार्थी भर्ना भएको देखियो, जसमा ४६.८८ प्रतिशत छात्रा रहेका छन् भने ५३.०९ प्रतिशत छात्र रहेको छ । तीनवटा शैक्षिक वर्षको औषत प्राप्तांकलाई हेर्दा माध्यमिक तहको उत्र्तिण दर ८५ प्रतिशत रहेको छ । त्यस्तै, कक्षा दोहो¥याउने दर १३.८९ प्रतिशत रहेको छ भने विचैमा कक्षा छोड्ने दर १.५१ प्रतिशत रहेको छ ।
माध्यमिक विद्यालयहरुको माध्यमिक तहको शैक्षिक क्षति गणना गर्दा शैक्षिक वर्ष २०७० मा १.५९ छ भने आन्तरिक दक्षता ६३ प्रतिशत रहेको छ । यस्तै, शैक्षिक वर्ष २०७१ मा शैक्षिक क्षति १.७५ रहेको छ भने आन्तरिक दक्षता ५७ प्रतिशत रहेको छ, जसमा श्री लक्ष्मी उच्च माध्यमिक विद्यालयको औषत शैक्षिक क्षति १.७७ रहेको छ भने आन्तरिक दक्षता ५६ प्रतिशत छ । त्यस्तै गरि विद्या निकेतन माध्यमिक विद्यालयको औषत शैक्षिक क्षति १.०४ रहेको छ भने आन्तरिक दक्षता ९५ प्रतिशत रहेको छ।
माध्यमिक विद्यालयहरूको प्रत्येक शैक्षिक वर्षको औषत आम्दानी १ करोड, ३५ लाख २३ हजार, १ सय ९८ रुपैया ३३ पैसा रहेको छ । यसमा, कुल आम्दानीको ६५.२ प्रतिशत रकम अनुदान स्वरुप प्राप्त भएको छ जुन श्री लक्ष्मी उच्च माध्यमिक विद्यालयलाई मात्र प्राप्त भएको छ । त्यस्तैगरी, ०.१५ प्रतिशत छात्रवृत्तिबाट, ३५.०६ प्रतिशत रकम विद्यार्थी शुल्क वापत र ०.५८ प्रतिशत रकम अन्य श्रोतहरूबाट सङ्कलन गरिएको पाइन्छ ।
माध्यमिक विद्यालयहरुको वार्षिक औषत लगानी १ करोड, २ लाख, ३७ हजार, ५ सय ९३ रुपैया ६७ पैसा रहेको पाइयो । जसमा कुल लगानीको ७३.०८ प्रतिशत शिक्षक तलव तथा भत्तामा खर्च भएको पाइन्छ । यस्तै, ५.९५ प्रतिशत शैक्षिक क्रियाकलापमा, २.२६ प्रतिशत मसलन्द खर्च, ०.२३ प्रतिशत छात्रवृत्तिमा, १५.६१ प्रतिशत रकम विद्यालयको पूजीँगत खर्च, २.८६ प्रतिशत रकम अन्य विभिध क्षेत्रमा खर्च हुने गरेको छ । तर अतिरिक्त क्रियाकलापमा खासै लगानी गरिएको देखिदैन ।
प्रति विद्यार्थी अभिभावकको औषत वार्षिक लगानी २३ हजार, ६ सय ३३ रुपैया ३३ पैसा रहेको छ । कूल लगानीको २.७५ प्रतिशत रकम भर्नामा खर्च हुने गरेको छ भने ३३.४३ प्रतिशत मासिक शूल्कमा, २४.१९ प्रतिशत खाजामा, ९.२४ प्रतिशत पोषाकमा, १५.३० प्रतिशत शैक्षिक सामाग्रीमा, १५.०९ प्रतिशत अन्य विभिन्न क्षेत्रमा खर्च हुने गरेको छ । आर्थिक लगानीलाई हेर्दा श्री लक्ष्मी माध्यमिक विद्यालयमा सरकारी लगानी बढि रहेको पाइयो भने विद्या निकेतन माध्यमिक विद्यालयमा निजी लगानी बढी रहेको छ ।
माध्यमिक विद्यालयहरुको विगत तीनवटा शैक्षिक वर्षको एस.एल.सी. परिक्षाको शैक्षिक उपलब्धीलाई हेर्दा शैक्षिक वर्ष २०७० मा जम्मा उत्र्तिण प्रतिशत ७०.३ रहेको छ भने शैक्षिक वर्ष २०७१ मा उत्र्तिण प्रतिशत वृद्धि भएर ७७.०५ प्रतिशत भएको छ । यस्तै शैक्षिक वर्ष २०७२ मा यसमा केहि ह्रास भएर ७६.२४ प्रतिशत भएको छ । उत्तिर्ण प्रतिशतमा ह्रास भएपनि यस शैक्षिक वर्ष २०७२ मा विद्यार्थीको प्रप्ताङ्कमा भने क्रमशः वृद्धि भएको छ । यसैगरि, वार्षिक औषत उत्र्तिण प्रतिशत ७४.५६ रहेको छ । तिन शैक्षिक वर्षमा जम्मा ८ सय ६१ परिक्षार्थी मध्ये ४० जना विशिष्ट श्रेणी र १ सय ८९ जना प्रथम श्रेणी , ३२२ जना द्धितिय श्रेणी र ९२ जना तृतिय श्रेणी गरि जम्मा ६ सय ४३ जना उत्तिर्ण भएको छ । अर्थात्, जम्मा उत्तिर्ण प्रतिशत ७४.६८ प्रतिशत मात्र रहेको छ ।
माध्यमिक तहमा गरिएको आर्थिक लगानी र शैक्षिक उपलब्धीको तूलना गर्दा शैक्षिक वर्ष २०७० मा विद्यालयको कूल लगानी ९१ लाख, ५० हजार, १ सय ६५ रहेको छ र अभिभावकको लगानी २१ हजार ५० रहेको छ भने जम्मा विद्यार्थी उत्तिर्ण प्रतिशत ७०.३ प्रतिशत रहेको छ । यसैगरी, शैक्षिक वर्ष २०७१ मा आर्थिक लगानीमा वृद्धि गर्दा शैक्षिक उपलब्धीमा पनि करिब ७ प्रतिशतले वृद्धि भएको भएको छ । यस्तै, शैक्षिक वर्ष २०७२ मा आर्थिक लगानीमा वृद्धि गर्दा शैक्षिक उपलब्धीमा भने खासै वृद्धि भएन तर प्राप्ताङ्क भने वृद्धि भएको छ । यसरी हेर्दा पछिल्लो शैक्षिक वर्षमा आर्थिक लगानीमा वृद्धि गर्दा विद्यार्थी उत्तिर्ण प्रतिशतमा वृद्धि नभएको देखिए पनि विद्यार्थीको प्राप्ताङ्क र उत्तिर्ण सङ्ख्यामा भने वृद्धि भएको छ ।
अन्त्यमा, माध्यमिक तहमा लगानी भए अनुरुप शैक्षिक क्षति वढिरहेको छ भने अपेक्षित शैक्षिक उपलब्धी प्राप्त हुन सकेको छैन । यसलाई कम गर्न र शैक्षिक उपलब्धीमा वृद्वि गर्न छात्रवृत्तिमा लगानी वृद्वि गर्नुपर्ने, विद्यार्थी केन्द्रित शिक्षण विधि अवलम्वन गर्नुपर्ने, शैक्षिक प्रणालीको निरन्तर अनुगमन गर्नुपर्ने, समय–समयमा शिक्षक अभिभावक भेला राख्नुपर्ने र आगामी अनूसन्धानकालागि सूझावहरु प्रस्तुत गरिएको छ ।
