सामाजिक यथार्थवादी नेपाली कथामा प्रतिनिधित्व (Samajik yatharthawadi Nepali kathama pratinidhitwa)
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
मानविकी तथा सामाजिकशास्त्र सङ्काय, नेपाली
Abstract
सामाजिक यथार्थवाद मानव जीवनको सामाजिक परिप्रेक्ष्यमा व्याख्या गर्ने एउटा वैज्ञानिक दृष्टिकोण हो । साहित्यमा यसले समाजका कुरीति, अन्धविश्वास आदिको विरोध गर्छ र मानवीय जनजीवनका व्यवहार, संस्कार, रहनसहन र आचरणको यथातथ्य वर्णन गर्छ । यसले समाजलाई नजिकबाट नियाल्छ र त्यहाँका खराबीलाई देखाएर त्यसको निदान गर्न प्रेरित गर्दछ । नेपाली कथापरम्परामा गुरुप्रसाद मैनालीले ‘नासो’ कथा १९९२ सालमा प्रकाशन गरेर सामाजिक यथार्थवादको प्रारम्भ गरेका हुन् । मैनालीले प्रारम्भ गरेको सामाजिक यथार्थवादलाई पुष्करशमशेर, पूर्णप्रसाद ब्राह्मण, हृदयचन्द्रसिंह प्रधान, भीमनिधि तिवारी, कृष्णप्रसाद चापागाईँलगायतका कथाकारहरूले अगाडि बढाएका छन् । करिब तीन दशकसम्म प्रधान तथा त्यसपछि सहायक धाराका रूपमा विस्तारित यस मान्यताका निम्नवर्गीय समस्याको चित्रण, ग्रामीण जनजीवनका विषयको प्रस्तुति, सामाजिक विकृति र विसङ्गतिको चित्रण, सामाजिक मूल्य–मान्यता र संस्कार, नारीका भोगाइ र अनुभूतिको अभिव्यक्ति, सामाजिक रूढि र अन्धविश्वासको चित्रण मुख्य विशेषता हुन् । सामाजिक यथार्थवादी कथामा सामाजिक कुप्रथा, सङ्कीर्ण रूढि, अन्धविश्वास, लैङ्गिक रूपमा व्यथा र वेदनाले छट्पटिएको नारी जीवन, उत्पीडन र तिनले देखाएको त्यागमय आदर्श, आर्थिक सङ्घर्ष र अभावग्रस्तता, उत्पीडित वर्ग, जाति र लिङ्ग तथा तिनीहरूको सामाजिक–सांस्कृतिक मूल्य र मान्यताको प्रतिनिधित्व गराइएको छ ।
प्रस्तुत शोधमा १९९२ सालदेखि २०१६ सालसम्मका सामाजिक यथार्थवादी नेपाली कथाकारका कथाको विश्लेषण गरिएको छ । १९९२ सालदेखि २०१६ सालसम्मका जम्मा अठतिस जना सामाजिक यथार्थवादी कथाकारका मौलिक र सम्पादित गरी त्रिपन्नवटा कथासङ्ग्रह प्रकाशित भएका छन् । उक्त त्रिपन्नवटा कथासङ्ग्रहमा सङ्कलित पाँच सय तीस कथामध्ये जम्मा नब्बेवटा कथा प्रतिनिधित्वका दृष्टिले विश्लेषण गर्न उपयुक्त रहेका छन् । बाँकी कथा अन्य इतिहास, शारीरिक, मानसिक, राजनीतिक, व्यङ्ग्य आदि विभिन्न विषयवस्तुमा केन्द्रित रहेका
छन् । सर्वेक्षण गरिएका नब्बेवटा कथामध्ये वर्गीय प्रतिनिधित्वको मूल स्वर रहेका उनन्तिसवटा, जातीय प्रतिनिधित्वको मूल स्वर रहेका चौबिसवटा र लैङ्गिक प्रतिनिधित्वको मूल स्वर रहेका सैँतिसवटा कथा रहेका छन् । प्रस्तुत शोधमा वर्गीय प्रतिनिधित्वका कोणबाट पूर्णदास श्रेष्ठको ‘सत्यको बाटोमा’, कृष्णप्रसाद चापागाईँको ‘दाङका थारू’, तेजबहादुर प्रसाईंको ‘झोपडीको आँशु’, भीमनिधि तिवारीको ‘ऐन बमोजिम !’, माधव भँडारीको ‘खेतीको फल’, दौलतविक्रम बिष्टको ‘राजीनामा’, दलभञ्जन कार्कीको ‘बिदा’, कृष्णबम मल्लको ‘तेसू खोलो’ र कृष्णप्रसाद सर्वहाराको ‘तोर्मे’ गरी नौवटा कथाको विश्लेषण गरिएको छ । जातीय प्रतिनिधित्वका कोणबाट गुरुप्रसाद मैनालीको ‘पापको परिणाम’, लक्ष्मीप्रसाद देवकोटाको ‘मस्र्याङ्दी’, कृष्णप्रसाद चापागाईंको ‘कामत’, कृष्णबम मल्लको ‘हली’, बल्लभमणि दाहालको ‘को अटेरी ?’, कृष्णप्रसाद सर्वहाराको ‘ऊ रुन थाल्यो’, चूडामणि रेग्मीको ‘वेश्या’ र मुकुन्द ढुङ्गेलको ‘त्याग’ गरी आठवटा कथाको अध्ययन गरिएको छ । त्यसै गरी लैङ्गिक प्रतिनिधित्वका कोणबाट गुरुप्रसाद मैनालीको ‘नासो’, पूर्णदास श्रेष्ठको ‘समाजको अञ्चलमा’, पूर्णप्रसाद ब्राह्मणको ‘म लोग्ने हुँ’, कृष्णप्रसाद चापागाईंको ‘दोषी को ?’, भीमनिधि तिवारीको ‘धाई’, कवीन्द्रमान सिंहको ‘त्यो पहाडी कन्या’, कोशराज रेग्मीको ‘छोरीको जात’, माधव भँडारीको ‘तीज’ र शशिकला शर्माको ‘सामाजिक क्रान्ति’ गरी नौवटा कथाको विश्लेषण गरिएको छ ।
प्रतिनिधित्व स्टुअर्ट हल (सन् १९३२—सन् २०१४) को मान्यता हो । यो भाषामार्फत अर्थको उत्पादन हो । सांस्कृतिक सन्दर्भमा कुनै वर्ग, लिङ्ग, जाति, विचारधारा, राष्ट्रियताको उपस्थिति कृतिमा कसरी भएको छ भन्ने कुराको खोजी नै प्रतिनिधित्व हो । साहित्यमा प्रतिनिधित्वको खोजी पछिपरेको समुदाय, निम्नवर्ग, लिङ्ग, महिला, जनजाति, दलित, अल्पसङ्ख्यक समूह, स्थान, भूगोल आदिका माध्यमबाट गरिन्छ । तत्कालीन विमर्शात्मक संरचनाबाट नै अर्थको उत्पादन हुन्छ र त्यस अर्थले विभिन्न व्यक्ति, जाति, वर्ग, लिङ्ग आदिको प्रतिनिधित्वलाई सङ्केत गर्छ भन्ने धारणा यसको छ । यही पद्धतिभित्र वर्गीय, जातीय र लैङ्गिक प्रतिनिधित्वका मान्यता समेटिन्छन् । वर्गीय प्रतिनिधित्वले सामाजिक वर्गको उपस्थितिलाई जनाउँछ । जातीय प्रतिनिधित्वले हिन्दू वर्णाश्रम व्यवस्थामा प्रचलित नेपाली महाजातिभित्रका प्रचलित विभिन्न जाति तथा जनजाति व्यवस्थालाई जनाउँछ । लैङ्गिक प्रतिनिधित्वले सामाजिक संरचनामा महिला वा पुरुषको प्रतिनिधित्वको अवस्थालाई देखाउँछ । प्रस्तुत शोधकार्यमा प्रतिनिधित्वका कोणबाट सर्वेक्षण गरी नमुना छनोट गरिएका सामाजिक यथार्थवादी नेपाली कथामा वर्गीय, जातीय तथा लैङ्गिक प्रतिनिधित्व केकसरी प्रस्तुत भएको छ भनी विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।
नेपाली समाजमा विद्यमान तत्कालीन सामन्तवादी विमर्शात्मक संरचनाका कारण उच्चवर्गले निम्नवर्गको जायजेथा कब्जा गरेर, षड्यन्त्रपूर्वक सम्पत्ति र घरबास हडपेर, श्रमको शोषण गरेर, घृणा गरेर, हत्या गरेर र जेल हालेर निम्नवर्गमाथि गरेको अन्याय र अत्याचारका कारण वर्गीय सम्बन्ध शत्रुतापूर्ण बनेको छ । त्यो वर्गीय सम्बन्ध अमानवीय र असन्तुलित प्रकृतिको छ । नेपाली समाजमा विद्यमान तत्कालीन सामन्तवादी विमर्शात्मक संरचनाका आधारमा निर्मित ज्ञानको स्थापना र प्रसारण भएका कारण सामाजिक यथार्थवादी नेपाली कथामा प्रस्तुत निम्नवर्गीय पात्रमा आफ्नो वर्गीय हित र वर्गसङ्घर्षको चेतना प्रकटीकरण हुन नसकेको, वर्गीय हित र वर्गसङ्घर्षको चेतनाको उदय भए तापनि उच्चवर्गीय दमनका कारण त्यो सार्थक निष्कर्षमा पुग्न नसकेको अनि निम्नवर्गीय हित, सङ्घर्ष र चेतना पनि विभाजित भएको अवस्थाको चित्रण गरिएको छ । तत्कालीन सामन्तवादी उच्चवर्गीय अहम्, वर्चस्व, दम्भ र प्रभुत्वका कारण उच्चवर्गीय हित र सङ्घर्षको चेतना संरक्षित बनेको हुनाले निम्नवर्गको हित, सङ्घर्ष र चेतना कमजोर भई सवर्गीय र विरोधी वर्गीय हित र चेतना असन्तुलित र अमानवीय बनेको
देखिन्छ । आफ्नो वर्गीय स्वार्थकै कारण उच्चवर्गले निम्नवर्गको कत्ति पनि हित चाहेको देखिँदैन ।
सामाजिक यथार्थवादी नेपाली कथामा तत्कालीन समाजमा विद्यमान उच्चवर्गद्वारा स्थापित ज्ञान, सत्ता, शक्ति, प्रभुत्व, वर्चस्वकै कारण वस्तुको उत्पादन, उपभोग र वितरणका साधनमाथि उच्चवर्गीय अधीनस्थता रहेको हुनाले निम्नवर्गमाथि अमानवीय ढङ्गको अत्याचार, विभेद, शोषण, दमन र उत्पीडन भएको देखिन्छ । यसो हुनमा तत्कालीन समाजमा स्थापित सामन्ती ढाँचाको विमर्शात्मक संरचना नै मुख्य कारण हो । यी कथामा उच्चवर्गले निम्नवर्गमाथि उत्पीडनकारी र दमनकारी व्यवहार मात्र गरेको छैन चरम अधीनस्थ अवस्थामा पु¥याई सामाजिक प्रभुत्व पनि कायम गरेको छ । उच्चवर्गकै कारण निम्नवर्ग व्यक्तिगत र सामाजिक न्याय, श्रमको मूल्य र सत्तासम्बन्धबाट वञ्चित हुन गई चरम विभेद, शोषण, दमन र उत्पीडनमा परेको देखिन्छ । यी कथामा अमानवीय, असन्तुलित र शत्रुतापूर्ण वर्गीय सम्बन्धलाई प्रतिनिधित्व गर्ने पात्र, तिनका कार्य तथा घटनाको प्रस्तुतीकरण भएको छ । यस्तो हुनमा तत्कालीन समाजमा विद्यमान उच्चवर्गीय अधीनस्थता, वर्चस्व र स्वार्थ मुख्य कारकका रूपमा रहेको देखिन्छ । ‘सत्यको बाटोमा’, ‘झोपडीको आँशु’, ‘खेतीको फल’, ‘दाङका थारू’, ‘बिदा’, ‘तेसू खोलो’ र ‘तोर्मे’ जस्ता कथामा यस्तो प्रवृत्ति देखिन्छ ।
सामाजिक यथार्थवादी नेपाली कथामा जातलाई नै मुख्य आधार बनाएर राज्यका स्रोत साधन र पहुँचबाट विमुख गराएर, सामाजिक, आर्थिक र प्रशासनिक क्षेत्रबाट एक्ल्याएर, यौनहिंसा तथा श्रमको शोषण गरेर, अपमान र घृणा गरेर, वैवाहिक सम्बन्धमा अवरोध सिर्जना गरेर, क्रूरतापूर्वक सजाय दिएर र सामाजिक वहिष्करणमा पारेर तत्कालीन सामाजिक संरचनामा कथित उच्चजातले निम्नजात÷जनजातिमाथि अन्याय र अत्याचार गरेको हुनाले जातीय अन्तःसम्बन्ध शत्रुतापूर्ण बन्न गई अमानवीय, शत्रुतापूर्ण र असन्तुलित बनेको देखाइएको छ । तत्कालीन सामन्तवादी विमर्शात्मक संरचनायुक्त जातीय समाजमा कथित उच्चजातिका मानिसले निम्नजात भनिएकाको पुख्र्यौली थातथलोमाथि कब्जा जमाएर, सामाजिक र शैक्षिक वहिष्करणमा पारेर, अमानवीय यातना दिएर र पुख्र्यौली थातथलो छोड्न वाध्य बनाएर दमन, शोषण र उत्पीडन गरेको हुनाले जातीय सम्बन्ध सुमधुर बन्न सकेको छैन । सामाजिक यथार्थवादी नेपाली कथामा जातीय सम्बन्ध असन्तुलित बन्दा निम्नजात कथित उच्चजातको बलशाली वर्चस्व र प्रभुत्वबाट अधीनस्थ भई शक्तिहीन र सीमान्तीकृत अवस्थामा पुगेको छ ।
सामाजिक यथार्थवादी नेपाली कथामा तत्कालीन सामन्तवादी विमर्शात्मक सामाजिक संरचनामा कथित उच्चजातीय सामन्ती प्रकृतिको सामाजिक–सांस्कृतिक वहिष्करण, प्रभुत्व, दम्भ, अहङ्कार, वर्चस्व र अधीनस्थता, असमानतापूर्ण र विभेदकारी जातीय दुव्र्यवहार, घृणा, उपेक्षा तथा उत्पादन, उपभोग र वितरणका साधनको परिचालन र श्रमको मूल्य निर्धारणमा उच्चजात भनिएकाकै वर्चस्व कारण निम्नजाति÷जनजाति सीमान्तीकृत अवस्थामा पुगेको छ । यसबाट सामाजिक यथार्थवादी नेपाली कथामा कथित निम्नजाति÷जनजाति शोषण, हिंसा, अधीनस्थता, भेद, आपराधीकरण र उत्पीडनको दायराभन्दा माथि उठ्न सकेको देखिंदैन । ‘पापको परिणाम’, ‘मस्र्याङ्दी’, ‘कामत’, ‘हली’, ‘को अटेरी ?’ ‘ऊ रुन थाल्यो’, ‘वेश्या’, ‘त्याग’ जस्ता कथामा यस्तो प्रवृत्ति देखिन्छ ।
सामाजिक यथार्थवादी नेपाली कथामा नारीलाई सन्तान जन्माउने साधनका रूपमा उपयोग गरेर, विधवा अवस्थामा घृणा तथा अपमान गरेर, यौनभोगको साधन बनाएर, मानसिक प्रताडना सिर्जना गरेर र श्रम शोषण गरेर पुरुषले नारीमाथि गरेको अन्यायका कारण लैङ्गिक सम्बन्ध परस्पर विरोधी र शत्रुतापूर्ण बनेको छ । त्यसकारण यी कथामा प्रस्तुत लैङ्गिक सम्बन्ध असन्तुलित, अमानवीय र विभेदजन्य बनेको देखिन्छ । सामाजिक यथार्थवादी नेपाली कथामा नारीमाथिको लैङ्गिक हिंसाको प्रमुख आधार पितृसत्ता बनेको छ भने त्यसको पनि आधारका रूपमा तत्कालीन सामन्तवादी विमर्शात्मक सामाजिक संरचना रहेको छ । यी कथामा पितृसत्ताका पुरुषले अबला नारीमाथि गरेको विभेद, यौनहिंसा, दमन, शोषण र उत्पीडनका कारण नारीहरू अबला, निरीह, शक्तिहीन र कमजोर बनेको देखाइएको छ । यी कथामा नारीहरूको स्वतन्त्र लैङ्गिक भूमिका र अस्तित्व देखिँदैन । यी कथामा पुरुष र नारीबीचको लैङ्गिक सम्बन्धमा विरोधाभासपूर्ण अमानवीय अवस्था देखिन्छ । यसले गर्दा पुरुष र नारीबीचको लैङ्गिक सम्बन्ध विचलित असमान र शत्रुतापूर्ण बनेको छ ।
सामाजिक यथार्थवादी नेपाली कथामा मानिसको प्राकृतिक लिङ्गका विपरीत सामाजिक–सांस्कृतिक आधारमा निर्मित विभेदकारी लैङ्गिक सम्बन्ध स्थापित भएको छ । त्यसले पारिवारिक र सामाजिक सत्ता पुरुषका हातमा सुम्पिएर असमान लैङ्गिक सम्बन्ध निर्माण गरेको
छ । तत्कालीन विमर्शात्मक सामाजिक संरचनामा रहेका कतिपय परम्परागत सांस्कृतिक मान्यताहरूले पनि नारी र पुरुषको सम्बन्धमा असमानता ल्याएका छन् । उत्पादनका साधन, उपभोग, वितरण प्रणाली र श्रमको मूल्य निर्धारणमा नारीको सहभागिता शून्य भएकाले नारीहरूको अवस्था अधीनस्थ बनेको देखाइएको छ । सामाजिक यथार्थवादी नेपाली कथामा नारीको प्रतिरोध शक्तिलाई कमजोर तुल्याएर उनीहरूलाई अबलाका रूपमा स्थान तय गरिएको
छ । पितृसत्ताका आडमा नारीको शरीरलाई भोगको साधनका रूपमा उपयोग गरिएको
छ । परम्परागत मान्यता, रूढि, अन्धविश्वास, कुसंस्कार र सांस्कृतिक मूल्यलाई नारीविरोधी ज्ञानका रूपमा निर्माण, विकास, विस्तार र प्रसारण गरी दमन, शोषण र उत्पीडनका लागि बलियो आधार निर्माण गरिएको छ । नारीमाथि पुरुषबाट गरिएका विभेद, यौनहिंसा, दमन र शोषणलाई तत्कालीन कानुन, प्रशासन तथा सामन्ती स्वरूपको विमर्शात्मक सामाजिक संरचनाका माध्यमबाट वैधता प्रदान गरिएको छ । ‘नासो’, ‘छोरीको जात’, ‘समाजको अञ्चलमा’, ‘दोषी को ?’, ‘म लोग्ने हुँ’, ‘त्यो पहाडी कन्या’, ‘धाई’ ‘तीज’ ‘सामाजिक क्रान्ति’ जस्ता कथामा यस्तो प्रवृत्ति देखिन्छ ।
समग्रमा सामाजिक यथार्थवादी नेपाली कथामा वर्ग, जाति र लिङ्ग तिनै पक्षलाई उत्तिकै प्राथमिकताका साथ चित्रण गर्ने प्रवृत्ति कमै पाइन्छ । कुनै कथामा वर्ग, कुनैमा लिङ्ग तथा कुनैमा जाति चित्रणको प्रधानता पाइन्छ यी कथामा उच्चवर्गले निम्नवर्गमाथि गरेको विभेद, दमन, शोषण र उत्पीडनका कारण वर्गीय सम्बन्ध विरोधाभासपूर्ण, शत्रुतापूर्ण, अमानवीय, असन्तुलित एवम् असमानतामूलक भएको देखिन्छ । वर्गद्वन्द्व र सङ्घर्षका कारण उच्चवर्गले निम्नवर्गको हित चाहेको देखिँदैन । यी कथामा कथित उच्चजातले निम्नजातमाथि शत्रुतापूर्ण, अमानवीय र मानवहित प्रतिकूल व्यवहार गरेको देखाइएको छ र यसबाट शत्रुतापूर्ण जातीय सम्बन्ध प्रस्तुत भएको छ । यी कथामा कथित उच्चजातीय वर्चस्व छ र तल्लो जात भनिएका मानिसप्रति विभेद, शोषण, दमन र उत्पीडनकारी व्यवहार गरी उपेक्षा भाव प्रस्तुत गरिएको छ । यी कथामा पुरुषले नारीमाथि गरेको विभेद, दमन र यौनशोषण र हिंसाका कारण विभेदकारी र उत्पीडनकारी लैङ्गिक सम्बन्ध अमानवीय, असमानतामूलक र असन्तुलित हुन पुगेको छ । पुरुषले नारीमाथि चरम हिंसा र विभेदजन्य दुव्र्यवहार प्रदर्शन गरेको छ । यी कथामा प्रस्तुत लैङ्गिक समस्याको मूल कारक तत्कालीन सामन्तवादी पितृसत्तात्मक विमर्शात्मक संरचनायुक्त वर्चस्व, प्रभुत्व, अहङ्कार र दम्भ रहेको छ । पुरुषमुखी लैङ्गिक सम्बन्ध र पितृसत्ताकै केन्द्रमा लैङ्गिक विचारधारा प्रतिनिधित्व गराइएको यी कथामा वैरभावपूर्ण लैङ्गिक सम्बन्ध, नकारात्मक लैङ्गिक भूमिका, नारीमाथि परम्परागत उत्पीडनकारी पितृसत्ताको वर्चस्व, पुरुष प्रभुत्व, अधीनस्थता, यौनहिंसा, दमन, शोषण, उत्पीडन र आपराधीकरणको चित्रण गरिएको छ । यी कथामा उच्चवर्गीय, उच्चजातीय, पुरुष पक्षीय र पितृसत्तात्मक अधीनस्थता र प्रभुत्वको चित्रण छ र त्यो शक्ति, सत्तासम्बन्ध र सामाजिक–सांस्कृतिक पहुँचका आधारमा उच्चवर्गीय, उच्चजातीय र पुरुषप्रधान नै रहेको देखाइएको छ । तत्कालीन सामन्ती उच्चवर्गीय, उच्चजातीय तथा निम्नवर्गीय, निम्नजातीय चिन्तन, चरित्र, तिनका कार्य र व्यवहारको प्रतिनिधित्व गराइएको सामाजिक यथार्थवादी नेपाली कथामा निम्नवर्गीय र निम्नजाति÷जनजाति पुरुष र अबला नारीउत्पीडनका यथार्थतालाई सजीव रूपमा प्रतिनिधित्व गराइएको छ । यी कथामा वर्गीय, जातीय र लैङ्गिक अन्तःसम्बन्धको निर्माणमा तत्कालीन समाजमा स्थापित सामन्तवादी विमर्शात्मक संरचना मुख्य निर्णायक रहेको देखिन्छ ।
