शिक्षण सिकाइ क्रियाकलाप प्रवद्र्धनमा स्रोतव्यक्तिको योगदान {Contribution of Resource Persons in Promotion of Teaching and Learning activities}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
शिक्षण सिकाइ क्रियाकलाप प्रवद्र्धनमा स्रोतव्यक्तिको योगदान नामक यो शोधपत्रका उद्देश्य शिक्षण सिकाइ क्रियाकलाप प्रवद्र्धनमा स्रोतव्यक्तिले दिएको योगदानको विश्लेषण गर्नु रहेको छ । यस अध्ययन अनुसन्धानको उद्देश्य परिपूर्तिका लागि गुणात्मक र परिमाणात्मक मिश्रित शोधढाँचाको प्रयोग गरिएको छ
यस अध्ययन अनुसन्धानका लागि झापा जिल्लाका १७ वटा स्रोतकेन्द्रहरुमध्ये सुविधाजनक विधिको आधारमा ५ वटा स्रोतकेन्द्र छनौट गरिएको छ भने सोही ५ वटा स्रोतकेन्द्र अन्तरगतका १० जना प्रधानाध्यापकहरुलाई पनि यही सुविधाजनक विधिको आधारमा छनौट गरिएको छ र सो १० विद्यालयका ४० जना शिक्षकहरुलाई सम्भावनायुक्त विधिको आधारमा छनौट गरिएको छ । अनुसन्धान कार्यलाई सार्थक निष्कर्षमा पु¥याउन सूचना सङ्कलनका लागि मूलतः २ प्रकारका स्रोतहरुको प्रयोग गरिएको छ । प्रश्नावली र कक्षा अवलोकन फारमलाई प्राथमिक स्रोतको रुपमा र विद्यालयमा र स्रोतकेन्द्रमा प्राप्त अभिलेख आदिलाई द्वितीय स्रोतको रुपमा लिइएको छ । जिल्ला शिक्षा अधिकारी, स्रोतव्यक्ति र प्रधानाध्यापक एवं शिक्षकलाई प्रश्नावली मार्पmत प्रतिक्रिया सङ्कलन गरिएको छ ।
स्रोतव्यक्तिहरुले प्राथमिक तहको शिक्षण सिकाइ क्रियाकलाप प्रवद्र्धनका लागि अपेक्षित योगदान दिएको पाइएन । कक्षा शिक्षणमा शिक्षकहरुले उद्देश्य निर्धारण र विषयवस्तुमा स्पष्टता देखाए तापनि शिक्षणलाई विद्यार्थी केन्द्रित गरी शिक्षण पश्चातको मूल्याङ्कन प्रक्रियालाई प्रभावकारी बनाउन सकेको देखिएन । विद्यालयका प्रायः सवै शिक्षकहरु तलिमप्राप्त भए पनि तालिमबाट प्राप्त ज्ञान र सिपको कक्षाकोठामा पूर्ण रुपमा प्रयोग गरेको पाइएन । त्यसै गरी वन्द, हड्ताल तथा राजनीतिक अस्थिरताले विद्यालयको वार्षिक कार्यतालिका अनुसार विद्यालय सञ्चालनमा कठिनाइ भएको पाइयो । अधिकांश स्रोतव्यक्तिहरुमा स्नातकोत्तर तहको शैक्षिक योग्यता र प्राथमिक तहको शिक्षण अनुभवको अभावले पनि स्रोतव्यक्तिको भूमिका अपेक्षित रुपमा प्रभावकारी नभएर प्राथमिक विद्यालयहरुको शिक्षण सिकाइ क्रियाकलापमा सुधार नभएको देखिन्छ ।
स्रोतव्यक्तिको नियुक्तिलाई शिक्षा आयोग मार्फत स्पष्ट र पारदर्शी प्रक्रियाद्वारा सम्पन्न गर्नुपर्ने देखिन्छ । स्रोतव्यक्तिहरुको छनोट गर्दा स्नातकोत्तर शैक्षिक योग्यता र प्राथमिक तहको समेत शिक्षण अनुभव प्राप्त व्यक्तिलाई मात्र आवेदन गर्ने अवसर प्रदान गर्नुपर्ने देखिन्छ । नियुक्ति पाएका स्रोतव्यक्तिलाई शिक्षा मन्त्रालयबाटै पर्याप्त तालिम, आर्थिक सुविधा, स्रोतकेन्द्र कार्यालयमा एक सहयोगी कर्मचारीका साथै अधिकारको समेत प्रत्यायोजन गरिनु पर्छ । स्रोत व्यक्तिले जिल्ला शिक्षा कार्यालयमा बुझाएका प्रतिवेदनहरुलाई तत्काल जिल्ला शिक्षा कार्यालय मार्फत कार्यान्वयन गर्ने र उनीहरुलाई कार्य सम्पादनको आधारमा सरुवा, बढुवा, दण्ड र पुरस्कारको व्यवस्था गर्ने प्रक्रिया आरम्भ गर्नुपर्ने देखिन्छ । स्रोतव्यक्तिले नै प्रधानाध्यापक र शिक्षकको कार्य सम्पादन मूल्याङ्कन गर्ने व्यवस्था लगायत स्रोतव्यक्ति स्वयंकै सेवा, सुविधा, शर्त र मुल्याङ्कनकै सम्बन्धमा शिक्षा नियमावलीमा स्पष्ट रुपमा उल्लेख गरिनुपर्छ ।
