विद्यालयको योजना निर्माण र कार्यान्वयनमा विद्यालय व्यवस्थापन समितिको भूमिका{Vidyalayako yojana nirmaṇa ra karyanvayanama vidyalaya byavasthapana samitiko bhumika}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Faculty of Education
Abstract
त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय अन्तर्गत शैक्षिक योजना तथा व्यवस्थापन विभाग, स्नातकोत्तर तह द्वित्तीय वर्षको अनिवार्य पत्रको रुपमा आंशिक आवश्यकता पूरा गर्नका लागि प्रस्तुत शोधपत्र विद्यालयको योजना निर्माण र प्रभावकारी कार्यान्वयनमा विद्यालय व्यवस्थापन समितिको भूमिका शीर्षकमा आधारित रहेर गरिएको एक अध्ययनको हो । विद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागि विद्यालयमा योजनाहरूको निर्माण र कार्यान्वयन गर्ने गरिन्छ । यस प्रकार विद्यालय स्तरको योजना निर्माण र सो को कार्यान्वयनमा विद्यालय व्यवस्थापन समितिको भूमिका अध्ययन गर्ने यो शोधको मूख्य उद्देश्य रहेको छ ।
यस अध्ययन कार्यलाई पूरा गर्न नागी स्रोतकेन्द्रका ६ वटा विद्यालयहरूलाई छनौट गरिएको छ । विद्यालय, अभिभावक र शिक्षकको छनौट सम्भावनायुक्त छनौट विधि र प्रधानाध्यापक, वि.व्य.स. अध्यक्ष र पदाधिकारीको छनौट उद्देश्यमूलक नमूना छनौट विधिको आधारमा छनौट गरी प्रश्नावली, प्रत्यक्ष छलफलबाट प्राप्त तथ्यहरूको आधारमा अध्ययन गरिएको छ । यसैगरी सर्वेक्षणमा परेका विद्यालयहरुको निर्णय पुस्तिका, लब्धाङ्क पुस्तिका र स्थलगत अवलोकन गरी तथ्याङ्कक सङ्कलन गरिएको छ । यसरी प्राप्त परिमाणात्मक तथा गुणात्मक प्रकृतिका तथ्याङ्ककलाई तालिका बनाई बर्णनात्मक व्याख्या र विश्लेषण गरिएको छ ।
अध्ययनको क्रममा स्थानीय स्तरमा निर्माण गरिने योजनाको निर्माणमा स्थानीयबासीहरूको संलग्नता भएमा मात्र दिगो हुने भएकोले उनीहरूलाई अझ बढी सहभागी गराउन आवश्यक छ । विद्यालयमा रहेका साझा समस्याहरूको निराकरण गरी विद्यार्थीको शैक्षिक गुणस्तर उकास्ने वातावरण सिर्जना गर्न विद्यालय व्यवस्थापन समितिको महत्वपूर्ण स्थान रहन्छ । विद्यालयद्वारा निर्माण गरी प्रयोग गरिने विद्यालय सुधार योजनाले विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउन सहयोग गरेको छ । यसकारण विद्यालयको योजना निर्माण र कार्यान्वयनमा वि.व्य.स.को उचित सहभागिता रहन आवश्यक छ ।
विद्यालयको सर्वाङ्गीण विकासको लागि चालिने हरेक कदमको योजना बनाउन आवश्यक हुन्छ । यसले विद्यालयलाई सही दिशा पहिल्याउन कठिन हुन्छ । निःशुल्क शिक्षाको कारण उदासिन रहेका विद्यालयका अभिभावकहरूलाई निःस्वार्थ भावना सहित विद्यालयको भौतिक व्यवस्थापनमा सहभागी गराउनु पर्छ । वि.व्य.स. को सहभागितासँगै भित्रन सक्ने राजनीतिक खिचातानीबाट विद्यालयलाई मुक्त राख्नु, विद्यालयका सम्पूर्ण पक्ष पारदर्शी हुनु र सहभागितामूलक ढंगले योजना निर्माण र कार्यान्वयन गरिनु आवश्यक छ । विद्यालयमा बनाइने आर्थिक, भौतिक, प्रशासनिक, शैक्षिक योजनाको प्रतिफल नै शैक्षिक उपलब्धि राम्रो हुनु हो । एउटा योजनाको सफल कार्यान्वयनले सिकाइ उपलब्धिमा सुधार ल्याउन आधार तयार गर्दछ ।
