साहित्यकार देवी ‘क्षेत्री’ दुलालको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन र विश्लेषण {Study and analysis of the biography, personality and work of the writer Devi Chhetri Dulal
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली विभाग
Abstract
दुई दशक भन्दा बढी समयदेखि नेपाली साहित्यका नाटक, एकाङ्की, कथा, कविता, उपन्यास, समालोचना, आदि विधामा कलम चलाउँदै आएका देवी ‘क्षेत्री’ दुलाल वर्तमान समयमा पनि यसतर्फ लागिरहेका छन् । नेपाली साहित्यमा उदयमान वर्तमान पूर्वेली श्रष्टा दुलालको समग्र जीवनी, व्यक्तित्व र पुस्तकाकार कृतिहरूको अध्ययन र विश्लेषण यस शोध–प्रबन्धमा गरिएको छ ।
साहित्यकार देवी ‘क्षेत्री’ दुलालको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन र विश्लेषण गर्ने क्रममा यस शोधपत्रलाई जम्मा ६ परिच्छेदमा विभाजन गरिएको छ । जसको प्रथम परिच्छेदमा शोध परिचय मूल शीर्षक भएको हुँदा शोध गर्दा अपनाउनुपर्ने नियमगत उपशीर्षकहरू शोधशीर्षक, शोध प्रयोजन, विषय परिचय, समस्याकथन, शोधकार्यको उद्देश्य, पूर्वकार्यको विवरण र समीक्षा, शोधकार्यको औचित्य, शोधकार्यको सीमाङ्कन, शोधविधि र शोधपत्रको रुपरेखालाई प्रस्तुत गरिएको छ ।
यस शोधपत्रको दोस्रो परिच्छेदमा ‘साहित्यकार देवी ‘क्षेत्री’ दुलालको परिचय र जीवनी’ अन्तर्गत दुलालको वंशपरम्परा, जन्म, जन्मस्थान, शिक्षादीक्षा, पारिवारिक जीवन, जागिरे जीवन, आर्थिक अवस्था, भ्रमण, शारीरिक बनोट, स्वभाव र रुचि राखिएका छन् । यी सबै कुराहरू शोधनायक र उनको पारिवारिक स्रोतबाट प्राप्त जानकारीका आधारमा प्रस्तुत गरिएका छन् ।
यस शोधपत्रको तेस्रो परिच्छेदमा साहित्यकार देवी ‘क्षेत्री’ दुलालको व्यक्तित्वका प्रमुख पक्षहरूमध्ये साहित्यिक र साहित्येतर व्यक्तित्व गरी दुई दृष्टिकोणबाट हेर्ने प्रयास गरिएको छ । साहित्यिक व्यक्तित्वका पक्षहरूमा नाटककार व्यक्तित्व, एकाङ्कीकार व्यक्तित्व, कवि व्यक्तित्व, कथाकार व्यक्तित्व, उपन्यासकार व्यक्तित्व, समालोचक व्यक्तित्व र साहित्यिक पत्रपत्रिका र संस्थाहरूमा संलग्नता र सम्पादक व्यक्तित्व गरी छुट्टाछुट्टै उपशीर्षकमा प्रस्तुत गरिएको छ भने साहित्येतर व्यक्तित्वमा राजनैतिक व्यक्तित्व, पत्रकार व्यक्तित्व र प्राध्यापक व्यक्तित्वका रुपमा अध्ययन गरिएको छ साथै अन्त्यमा छोटो एक अनुच्छेदमा व्यक्तित्व पक्षको सारांश पनि राखिएको छ ।
यस शोधपत्रको चौथो परिच्छेद अन्तर्गत साहित्यकारका रुपमा देवी ‘क्षेत्री’ दुलाललाई उपस्थित गराउन आमुख, लेखनकार्यका निम्ति प्रेरणा र प्रभाव, प्रथम प्रकाशित कृति, साहित्य लेखनका विधा र पुस्तकाकार कृतिहरू, साहित्यकार देवी ‘क्षेत्री’ दुलालको साहित्य यात्रा तथा जीवनी व्यक्तित्व र साहित्यलेखन बीचको अन्तः सम्बन्ध उपशीर्षकहरू रहेका छन् । यसमा देवी ‘क्षेत्री’ दुलाललाई साहित्यकार भन्न सकिने आधारहरू प्रस्तुत गरिएका छन् ।
यस शोधपत्रको पाँचौ परिच्छेदमा “साहित्यकार देवी ‘क्षेत्री’ दुलालको कृतित्वको अध्ययन विश्लेषण” मूल शीर्षक अन्तर्गत कृतित्वको विधागत वर्गीकरण सहित नाटककारका रुपमा देवी ‘क्षेत्री’ दुलाललाई उपस्थित गराई आमुख र नाट्य प्रवृत्तिगत विशेषताहरूलाई प्रस्तुत गरिएको छ । यसपछि ‘साहस’ नाटकको परिचयात्मक अध्ययन र विश्लेषण उपशीर्षकमा ‘साहस’ नाटकको परिचय सहित नाट्य तत्वका आधारमा विश्लेषण गरिएको छ साथै अन्त्यमा शीर्षक र साहस नाटक बीचको सम्बन्धलाई पनि प्रस्तुत गरिएको छ ।
यसै पाँचौ परिच्छेदको अर्को उपशीर्षकमा एकाङ्कीकारका रुपमा दुलाललाई चिनाई ‘सेतो परेवा’ (२०५५) एकाङ्की सङ्ग्रहमा सङ्ग्रहित ६ वटा एकाङ्कीहरू सेतो परेवा, जोखाना, सासू–बुहारी, रुने मान्छे, बाँच्ने रहर र सगरमाथाकी छोरी ‘सारु’ को एकाङ्कीगत तत्वका आधारमा व्याख्या विश्लेषण सहित प्रत्येक एकाङ्कीको शीर्षक सार्थकतालाई पनि खोज्ने प्रयास गरिएको छ ।
यसै पाँचौ परिच्छेदको अर्को उपशीर्षकमा उपन्यासकारका रुपमा दुलालालई प्रस्तुत गर्दै उनको एकमात्र प्रकाशित रङधोजी (२०६० असोज) उपन्यासका आधारमा दुलालको सामान्य औपन्यासिक विशेषतालाई प्रस्तुत गरिएको छ साथै ‘रङधोजी’ उपन्यासको औपन्यासिक तत्वका आधारमा अध्ययन र विश्लेषण गर्ने प्रयास गरिएको छ ।
यस शोधपत्रको छैटौं परिच्छेदमा “साहित्यकार देवी ‘क्षेत्री’ दुलालको समग्र व्यक्तित्व र कृतित्वको मूल्याङ्कन” मूल शीर्षक अन्तर्गत व्यक्तित्वको मूल्याङ्कन र कृतित्वको मूल्याङ्कन दुई उपशीर्षकमा दुलालको समग्र मूल्याङ्कन छोटकरीमा गर्ने प्रयास गरिएको छ । यसै भित्र भावी कार्यको सम्भावना पनि प्रस्तुत गरिएको छ ।
यस शोधपत्रको अन्त्यमा सन्दर्भसामग्री भाग अन्तर्गत सन्दर्भसामग्री सूची पनि राखिएको छ । जसमा शोधपत्र तयार पार्दा प्रयोग गरिएका अति महत्वपूर्ण ग्रन्थहरूको सूची राखिएको छ साथै परिशिष्ट भागमा दुलालको एउटा ‘बाँच्ने रहर’ एकाङ्की र तस्वीर राखिएको छ ।
