प्रारम्भिक बालविकास केन्द्रको अनुगमन {Prarambhik balbikash kendrako anugaman }
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
प्रस्तुत अध्ययन प्रारम्भिक बालविकास केन्द्रको अनुगमन शीर्षकमा तयार गरिएको हो । अध्ययनको मुख्य उद्देश्य बालविकास केन्द्रको अनुगमन र अन्य पक्षको बर्तमान स्थिति अध्ययन गर्नु, समुदायमा आधारित बालविकास केन्द्रमा भएको क्रियाकलापका तुलनात्मक अध्ययन गर्नु, बालविकास केन्द्रका समस्याहरु पहिचान गरी समस्या समाधानका उपायहरु सुझाउनु र बालविकास केन्द्र सञ्चालन र अनुगमनसम्बन्धि संयन्त्र विकास गरी सुझाउनु रहेको छ ।
गुणात्मक तथा परिणात्मक अनुसन्धानात्मक ढाँचामा आधारित भई गरिएको अध्ययनमा प्राथमिक र द्वितीय गरी दुई प्रकारका तथ्याङ्कका स्रोतहरु प्रयोग गरिएको छ । खराङ्ग गा.वि.स.मा सञ्चालित विद्यालयमा आधारित ४ र समुदायमा आधारित १ वटा बालविकास केन्द्रको सहयागी कार्यकर्ता, अभिभावक, केन्द्र व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, विद्यालय निरीक्षक, स्रोत व्यक्तिहरूलाई मुख्यतया सूचना सङ्कलनको प्राथमिक स्रोतका रुपमा लिइएको छ भने विद्यार्थी हाजिरी पुस्तिका, वार्षिक परीक्षाको मार्कलेजर, यस अध्ययन सँग सम्बन्धित अनुसन्धान प्रतिवेदनहरु, लेख, रचना आदिलाई यस अध्ययनमा तथ्याङ्क सङ्कलनको द्वितीय स्रोतको रुपमा प्रयोग गरिएको छ । संरचनात्मक अन्तर्वार्ता, अवलोकन फारम, दस्तावेज पुनरावलोकन जस्ता तथ्याङ्क सङ्कलनका विधि र साधानहरु प्रयोग गरिएको छ ।
प्राप्त तथ्याङ्क र सूचनाको आधारमा हेर्दा बालविकास केन्द्रको संख्यात्मक बृद्धि सँग सगै गुणात्मक बृद्धि भएको पाइएन । बालविकास केन्द्रको भौतिक अवस्था राष्ट्रिय न्यूनतम मापदण्ड अनुरुप छैन । बालविकास केन्द्रमा सिकाई क्षेत्रको निर्माण भएको पाईएन । बालविकास केन्द्रमा केन्द्र व्यवस्थापन समिति भएता पनि पहिले कै समिति कार्यरत भएको पाइयो, त्यसको पुनर्गठन भएको छैन । केन्द्र व्यवस्थापन समिति र अभिभावकहरु सकृय रुपमा क्रियाशील भएको पाइएन । अधिकांश सहयोगी कार्यकर्ता तालिम प्राप्त र माध्यमिक शिक्षा उत्तीर्ण भएको पाइयो ।
समुदायिमा आधारित भन्दा विद्यालयमा आधारित केन्द्रमा बालविकास संख्या राम्रो देखियो । अभिभावक शिक्षाको अभाव देखियो । अनुगमनको स्थिति हेर्दा स्थानीय संघ संस्थाले लगानी गरेको बालविकास केन्द्रमा केही सन्तोषजनक पाइयो । विद्यालयमा आधारित बालविकास केन्द्रको अनुगमनको अवस्था केही राम्रो पाइयो । स्रोतकेन्द्र, जिल्ल शिक्षा कार्यालय लगायत अन्य संघसंस्थाबाट कम मात्रामा अनुगमन गरेको पाइयो । स्थानीय निकायबाट अनुगमन गरेको पाईएन साथै स्थानिय निकायले केन्द्र सञ्चालन गर्न अनुमति र स्वीकृति दिने तर बालविकास केन्द्रमा लगानी गरेको पनि पाइएन । बालविकास केन्द्रका समस्या तथा चुनौतिहरु धेरै पाइयो, जसलाई समाधान गर्न सम्बन्धित निकायले चासो दिएको पाइएन ।
अनुगमनलाई प्रतिफल मूलक बनाउन सरकारले सबै तहमा नीतिगत रुपमा संयन्त्र विकास गर्नु पर्दछ । जिल्ला शिक्षा कार्यालयमा बालविकास निरीक्षण तथा अनुगमन शाखा गठन गर्नुपर्दछ । बालविकास केन्द्रलाई विद्यालय संरचना भित्र ल्याउनु पर्छ । केन्द्र सञ्चालन समयलाई बिहान १० बजे देखि गर्ने व्यवस्था गर्नुपर्दछ । वर्तमान समयमा लागू भइरहेको नीति तथा नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ । स्थानीय निकायलाई अनुगमन गर्न जिम्मेवार बनाउनु पर्दछ । अभिभावक शिक्षा लागु गर्नुपर्छ । बालविकास केन्द्रको प्रभावकारीता, अनुगमनको प्रभावकारिता, यसको समस्या तथा समाधानका उपायहरू, बालविकास केन्द्रको भौतिक पूर्वाधारले सिकाइमा पार्ने प्रभाव, खाजा कार्यक्रमले बालविकासको नियमिततामा पार्ने प्रभाव लगायत अन्य पक्षका बारेमा अनुसन्धान सरकारी निकाय र अन्य पक्षबाट गरिनु पर्दछ ।
