मुसलमान महिलाहरुकाे सामाजिक अवस्था ( पाेखरा -13 मियापाटनका महिलाहरुकाे समाजशास्त्रीय अध्ययन ){ Musalman mahilaharuko samajik awastha ( Pokhara-13 miyapatanka mahilaharuko samajsastriya adhyayana)}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
शोध परिचय
नेपाली समाजमा लिङ्ग, वर्ण, जातजाति, भूगोल, सामाजिक आर्थिक स्थिति, धर्म, उमेर आदि विभिन्न कारणले व्यक्ति र समूह बीच असमानता रहेको छ । लैङ्गिक अध्ययन उच्च जाति, वर्ग, शहरी, शिक्षित समुदाय गरिनुले आम नेपाली महिलाहरूको सामाजिक अवस्थाको प्रतिनिधित्व हुन सकेको छैन । दलित, जनजाति, पिछडिएको वर्ग, धार्मिक आस्थाका कारण पछाडि परेका महिलाहरूको वस्ती र क्षेत्रमा गई उनीहरूको वास्तविक अवस्था, समस्या र निराकरणका उपायहरू पत्ता लगाउन गहन अध्ययन गरिएका कृतिहरू कमै मात्रामा छन् ।
अन्य धार्मिक सम्प्रदायका महिलाहरूको तुलनामा मुसलमान महिलाहरूको अवस्था दयनीय छ । मुसलमान समाजमा इस्लामिक धार्मिक ग्रन्थ कुरआन प्रदत्त न्याय, नियम, कानून ब्यवहारिक जीवनमा प्रयोग भैरहेको देखिन्छ । इस्लाम समुदायमा धर्मलाई चोखो र अपरिवर्तनीय रूपमा अपनाउने अभ्यास गर्दा धर्ममा रहेको पुरूष पक्षीय नियम कानून र न्यायले महिलाको लैङ्गिक अवस्था कमजोर हुन पुगेको छ ।
यसै सन्दर्भमा मुसलमान महिलाहरूको सामाजिक, सांस्कृतिक अवस्था, इस्लाम धर्मसम्बन्धी उनीहरूको दृष्टिकोण, लैङ्गिक विभेद र त्यसका कारक तŒवहरू, राज्यसँग उनीहरूको अपेक्षा आदि प्रश्नहरूको उत्तर खोजी गरी निराकरणका उपायहरू पत्ता लगाउनु यस अध्ययनलाई अगाडि बढाइएको छ ।
१. समस्याको कथन
मुसलमान एक अलग्गै धार्मिक, सांस्कृतिक पहिचान बोकेको समुदाय हो । उनीहरू आफ्नो धर्मप्रति अत्यन्तै संवेदनशील र आशक्त हुने गर्छन् । यस धार्मिक सम्प्रदायमा पितृसत्ताको वर्चस्व रहेको छ । सामाजिक जीवनमा पुरूषको भूमिका श्रेष्ठ र महिलाको भूमिका आश्रित किसिमको छ । उनीहरूको शिक्षाको स्तर अत्यन्तै कमजोर छ भने सरकारी सेवा सुविधामा संलग्नता, राजनीति, सामाजिक कार्य, कर्मचारीतन्त्र आदिमा उपस्थिति शून्य प्रायः छ ।
यस शोधपत्र मुसलमान महिलाहरूका निम्न समस्याहरूको उत्तर खोजी गर्न केन्द्रित रहेको छ ।
१. मुसलमान महिलाहरूको शिक्षा, पेशा, विवाहको उमेर, बहुविवाह, सम्बन्धविच्छेदको स्थिति कस्तो छ ?
२. मुसलमान महिलाहरूको धर्मप्रतिको दृष्टिकोण, धार्मिक विश्वास तथा संस्कारमा के–कस्तो परिवर्तन आएको छ ?
३. सामाजिक, सांस्कृतिक कारणले मुसलमान महिलाहरूमा विद्यमान लैङ्गिक विभेदको स्थितिका कस्तो छ ?
२. अध्ययनको उद्देश्य
मुसलमान महिलाहरूको सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थाको अध्ययन गरी उनीहरूका समस्या र समाधानका उपायहरू पहिचान गरी आवश्यक सुझाव पेश गर्नु यस अध्ययनको सामान्य उद्देश्य रहेको छ । यस उद्देश्य प्राप्तिका लागि शोध कार्यले निम्न विशिष्ट उद्देश्य पूरा गरेको छ ।
१ मुसलमान महिलाहरूको सामाजिक, आर्थिक र सांस्कृतिक पक्षको अध्ययन गरी उनीहरूको वास्तविक अवस्था पत्ता लगाउनु ।
२ मुसलमान महिलाहरूमा धर्मको प्रभाव कस्तो रहेकोे छ ?
३ मुसलमान महिलाहरूको सामाजिक, सांस्कृतिक अवस्थाको कारणबाट सृजित लैङ्गिक असमानता पत्ता लगाउनु ।
३. अध्ययनको औचित्य तथा महŒव
राज्यको दृष्टिमा नपरेको र विकासका संभावनाबाट ओझेलमा रहेको मुसलमान महिलाको विषयमा संवेदनशिल भएर अध्ययन गरिएका कृतिहरू ज्यादै न्यून छन् । यस शोधपत्रमा मुसलमान महिलाहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा धार्मिक अवस्थालाई सामाजिक लिङ्गको सम्बन्धसँग जोडेर अध्ययन गरिएको छ । देशका विभिन्न ठाउँमा छरिएर रहेका मुसलमान महिलाहरूको अवस्थाबारे जानकारी लिन सजिलो हुने भएकोले यो अध्ययन समसामयिक, संवेदनशील र औचित्यपूर्ण छ ।
४. अध्ययनको सीमा
१ उत्तरदाताका रूपमा विवाहित मुसलमान महिलाहरूको छनौट गरिएकाले अविवाहित छोरी तथा किशोरीका आवश्यकता र समस्यालाई यसले समेट्न सकेको छैन ।
२ मुसलमान महिलाहरू इस्लाम धर्म, कुरआन र अल्लाह प्रति अति संवेदनशील हुने भएकाले धर्मप्रतिको दृष्टिकोणसँग सम्बन्धित तथ्याङ्क कम यथार्थपरक हुन सक्छन् ।
अनुसन्धान विधि
१ अनुसन्धान ढाँचा
यस अध्ययनमा मुसलमान महिलाहरूको सामाजिक, आर्थिक अवस्थाको विस्तृत विवरण लिन वर्णनात्मक अनुसन्धान ढाँचा र इस्लाम संस्कार तथा धर्मको लैङ्गिक प्रभाव अध्ययन गर्न अन्वेषणात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएको छ ।
२ समग्र र नमुना छनोट
अध्ययन क्षेत्र पोखरा १३ मियापाटनमा मुसलमानहरूका जम्मा ६२ वटा घरधुरी रहेका छन् । ६२ घरधुरीलाई समग्र मानी प्रत्येक घरधुरीबाट एक जना महिलाको अनुपात पर्ने गरी विवाहित महिलालाई मात्र प्रतिनिधिका् रूपमा छनौट गरिएको छ ।
३ तथ्याङ्कका प्रकृति र स्रोतहरू
प्रस्तुत अनुसन्धानमा प्राथमिक र द्वितीय स्रोतबाट तथ्याङ्क तथा सूचनाहरू सङ्कलन गरिएको छ ।
प्राथमिक स्रोतहरू
प्राथमिक तथ्याङ्क सङ्कलन गर्नका लागि स्रोतकर्ता आफै अध्ययन क्षेत्रमा गएर अन्तरवार्ता, अवलोकन, छलफल विधि अपनाइएको छ । मियापाटनमा स्थायी बसोबास गरिरहेका मुसलमानहरू तथ्याङ्कका मुख्य सूचनादाता रहेका छन् । प्राथमिक स्रोतबाट तथ्याङ्कको सङ्कलन गर्दा गुणात्मक र सङ्ख्यात्मक तथ्याङ्क संकलन गरिएको भए पनि गुणात्मक तथ्याङ्कलाई विशेष प्राथमिकता दिइएको छ ।
द्वितीय स्रोतहरू
विभिन्न लेख, रचना, पुस्तक, प्रकाशन तथा अन्य साहित्य समीक्षा, नगरपालिका तथा वडाको प्रतिवेदन, स्थानीय मियाँ टोलविकास संस्था, विद्यालय, सामाजिक तथा प्रशासनिक कार्यालय आदिबाट द्वितीय प्रकृतिका सूचना तथा तथ्याङ्क सङ्कलन गरिएको छ ।
४ तथ्याङ्क सङ्कलनका विधिहरू
अध्ययनको विषय, समस्या र उद्देश्यलाई मूल्याङ्कन गर्दै तथ्याङ्क सङ्कलनका लागि निम्न विधिहरू प्रयोग गरिएको छ ।
क अन्तर्वार्ता सूची
ख लक्षित समूह छलफल
ग मुख्य सूचनादाता अन्तर्वार्ता
घ अवलोकन
५ तथ्याङ्कको विश्लेषण तथा प्रस्तुतीकरण
स्थलगत कार्यबाट सङ्कलन गरिएका तथ्याङ्कलाई प्रशोधन गरी संगठित र वर्गीकृत गरिएको छ । तथ्याङ्कले दिन खोजेको निष्कर्षलाई छिटो–छरितो बुझ्न सकियोस् भनी तालिका, स्तम्भचित्र, वृत्तचित्र आदिमा प्रस्तुत गरिएको छ र तथ्याङ्कलाई समाजशास्त्रीय दृष्टिकोणबाट व्याख्या, विश्लेषण र समीक्षा गर्दै निचोड निकालिएको छ ।
प्राप्ति तथा निष्कर्ष
१ कूल ६२ जना उत्तरदातामध्ये ३०.६४ प्रतिशत निरक्षर छन् भने ४१.६५ प्रतिशत महिलाहरूले एस्.एल्.सी भन्दा कम अध्ययन गरेका छन् । तसथर्, कमजोर शैक्षिक स्तरको कारण मुसलमान महिलाको लैङ्गिक विकासका आयामहरू अवरोध हुन पुगेका छन् ।
२ उत्तरदाताको वैवाहिक स्थितिलाई अध्ययन गर्दा ८.०६ प्रतिशतको सम्बन्धविच्छेद भएको र ९.६७ प्रतिशत विधवा रहेको पाइयो । तसर्थ, इस्लाम समुदायमा धारणागत रूपमा विधवा विवाहलाई स्वीकार गरिएको भए पनि व्याबहारिक रूपमा सहज नभएको देखिन्छ ।
३ सम्बन्ध विच्छेद भएका उत्तरदातामध्ये ८० प्रतिशत ले श्रीमान्बाट पारपाचुके पाएका छन् । तसर्थ इस्लाम समाजमा सम्बन्धविच्छेदको प्रक्रिया सजिलो भए पनि यस अधिकारमा महिलाको पहुँच न्यून रहेको छ ।
४ उत्तरदाताहरूको विवाहको समयमा शैक्षिक स्तरलाई हेर्दा ३५.४८ प्रतिशत निरक्षर र ४१.६५ प्रतिशत एस्.एल्.सी भन्दा कम अध्ययन गरेका छन् । यस तथ्यलाई बुँदा नं. १ सँग तुलना गरी हेर्दा मुसलमान महिलाहरूले विवाहपश्चात् शिक्षा निरन्तरताको कुनै अवसर नपाउने गरेको देखिन्छ ।
५ उत्तरदाताहरूको वैवाहिक उमेरको अवस्थालाई हेर्दा ४०.३२ प्रतिशत महिलाहरूको विवाह १५ वर्ष भन्दा कम उमेरमा भएको पाइयो । तसर्थ, यस समुदायमा बाल विवाहको प्रचलन रहेको छ । कम उमेरमा विवाह मुसलमान महिलाहरूको लैङ्गिक विकासको चुनौतीका रूपमा रहेको छ ।
६ उत्तरदातामध्ये ३२.२५ प्रतिशतले प्रेम विवाह गरेको पाइयो । यस तथ्याङ्कबाट मुसलमान समुदायमा प्रेम विवाहको प्रचलन बढ्दै गएको सङ्केत मिल्छ तथापि अधिकांशको विवाह पूर्वकिशोर अवस्था पार नगर्दै हुने गरेकाले उनीहरूको परिपक्क र सचेततापूर्वक प्रेम विवाह भएको पाइँदैन ।
७ १९.६४ प्रतिशत उत्तरदाताका श्रीमान्ले बहुपत्नी विवाह गरेको पाइयोे । पुरुषले ४ ओटा विवाह गर्न पाउने कुरआन प्रदत्त कानूनले पुरुषलाई वहुपत्नि विवाह गर्न प्रोत्साहन गरेको छ भने महिलालाई लोग्नेले अरू पत्नी ल्याउने हो कि ? भन्ने कुराले वैवाहिक जीवनमा सधैँ तनाव हुने गरेको अवस्था पाइयोे ।
८ ४०.३२ प्रतिशत उत्तरदाताहरू ब्यापार व्यवसायमा संलग्न छन् । ब्यापारिक कार्यमा उनीहरूको संलग्नता राम्रो देखिए पनि सरकारी तथा गैह्रसरकारी सेवासम्बन्धी पेशामा उनीहरूको संलग्नता शून्यप्राय छ ।
९ मुसलमान समुदायमा प्रचलित संस्कृति, धार्मिक संस्कारहरू पुरूष पक्षीय छन् ।
१० महिलाहरूले लगाउने विशेष प्रकारको पोषाक बुर्का विशेष अवसरहरूमा मात्र लगाउने उत्तरदाताहरू ७७.४१ प्रतिशत छन् भने १७.७४ प्रतिशत ले कहिल्यै बुर्का लगाउँदैनन् । तसर्थ, मुसलमान समुदायमा बुर्का लगाउनु पर्ने अनिवार्यता हट्दै गएको भए पनि बुर्का परम्परा पूर्ण रूपमा हट्न सकेको छैन ।
११ अभिनय, सुन्दरता सम्बन्धिका प्रतियोगिता, फेसन, मोडलिङ्ग पत्रकारिताजस्ता क्षेत्रहरूमा मुसलमान महिलाहरूको सहभागिता शून्यप्रायः छ ।
१२ मुसलमान समुदायको गैह्र मुसलमान समुदायसँग मेलमिलाप सरसहयोग र धार्मिक सहिष्णुताको अवस्था राम्रो छ । उनीहरूको जीवनशैलीमा आंशिक रूपमा हिन्दूकरणको प्रभाव परेको देखिन्छ ।
१३ ४०.३२ प्रतिशत उत्तरदाताहरूले ४ भन्दा बढी पटक गर्भधारण गरेका छन् । उच्च गर्भाधारणका कारणले मुसलमान महिलाहरू मातृशिशु स्वास्थ्यका जटिलताबाट पीडित छन् ।
१४ ३५.४८ प्रतिशत उत्तरदाताहरूले ४ ओटा भन्दा बढी सन्तान जन्माएका छन् । पुरानो पुस्तामा प्रजनन दर उच्च देखिए पनि नयाँ पुस्तामा दुईमात्र सन्तान जन्माई सानो र सुखी परिवार बनाउने चाहना बढ्दै गएको पाइयोे ।
१५ आफ्नो मञ्जुरीविना विविध कारणले करकापमा परी सन्तान जन्माउन बाध्य हुने उत्तरदाता १७.५४ प्रतिशत छन् । तीमध्ये ७० प्रतिशत महिलाहरूले धार्मिक विश्वासका कारणले इच्छा विपरीत धेरै सन्तान जन्माएकोे बताएका छन् ।
१६ ६९.६५ प्रतिशत उत्तरदाताहरूले विगत वा वर्तमान कुनै पनि समयमा गर्भनिरोधका साधनहरू प्रयोग गरेका छैनन् । अधिकांश मुसलमान महिलाहरूमा गर्भनिरोध सम्बन्धी ज्ञान, सीप र महŒवबारे राम्रो जानकारी छैन । पुरानो पुस्तामा धार्मिक कारणले परिवार नियोजनप्रतिको धारणा नकारात्मक रहेको भए पनि नयाँ पुस्तामा यसप्रतिको धारणा सकारात्मक हँुदै गएको छ ।
१७ परिवार नियोजनका साधन प्रयोग नगरेका मध्ये ५३.४८ प्रतिशत उत्तरदाताले कुरआनको आज्ञाअनुसार आफूले गर्भनिरोधको उपाय नअपनाएको बताएका छन् तसर्थ, यस समुदायमा परिवार नियोजनको अवरोधक तŒव अन्धविश्वासमा आधारित कुरआन प्रदत्त कानून रहेको छ ।
१८ ४५.१६ प्रतिशत महिलाहरू कुनै पनि सामाजिक कार्यमा संलग्न हुदैनन् । उनीहरू सामाजिक तवरले निष्कृय हुँदा नेतृत्व, स्वावलम्बन, आत्मविश्वास, मित्रताजस्ता सामाजिक गुणहरूको राम्रो विकास हुन सकेको छैन ।
१९ मुसलमान समाज र परिवारभित्र पुरूषको सक्रियता र प्रभुत्वले महिलाहरूको निर्णय प्रक्रियाको संलग्नतामा निष्कृयताको सृजना भएको छ ।
२० ७७.४१ प्रतिशत उत्तरदातालाई लैङ्गिक समानताबारे कुनै जानकारी छैन । शिक्षा, सीप र चेतनामूलक सामाजिक जागरणका कार्यक्रमको अभावमा उनीहरू आफ्नो अधिकारप्रति सचेत छैनन् ।
२१ ३.२२ प्रतिशत महिलाले मात्र प्रजननमा स्वनिर्णय गर्न पाउने गरेको पाइयोे । प्रजनन र यौनिकताजस्ता महिलाको जीवन र स्वास्थ्यसँग जोडिएको संवेदनशील विषयमा उनीहरू आफैले स्वतन्त्रपूर्वक निर्णय गर्न स्वाधिन छैनन् ।
२२ ५१.६१ प्रतिशत उत्तरदाताहरूले आफूहरूलाई शिक्षा, सीप र रोजगारी सम्बन्धका तालिम दिएको खण्डमा आफ्नो अवस्थामा सुधार आउन सक्ने धारणा राखेका छन् । शिक्षा, चेतना वा ज्ञान नै समस्या समाधानको प्रमुख र अन्तिम विकल्प हो । तसर्थ अति कमजोर शैक्षिक स्तर रहेको मुसलमान समुदायका अधिकांश महिलाहरूले चेतनामूलक शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार राख्नु अत्यन्त सान्दर्भिक देखिन्छ ।
सुझावहरू
१ मुसलमान महिलाहरूको परिलक्षित समूह बनाई अलग्गै विशेष चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने ।
२ मुसलमान महिला र पुरूषहरूबीचको सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध प्रति संवेदनशील भई महिला र पुरूष दुवैको सहभागितामा लैङ्गिक सशक्तीकरणको कार्यक्रम सञ्चालन गर्नुपर्ने ।
३ मुसलमान महिलाहरूलाई सीपमूलक तालिम दिई रोजगार तथा स्वरोजगारका व्यवसाय उपलब्ध गराउनुपर्ने ।
