Nepali Language Education
Permanent URI for this collection
Browse
Browsing Nepali Language Education by Author "अधिकारी Adhikari, शिक्षाराज Shikshyaraj"
Now showing 1 - 1 of 1
Results Per Page
Sort Options
Item कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूको चिठी लेखन क्षमताको अध्ययन {Kakshya Dashma Adhyayanrat Biddhyarthiharuko Chithi Lekhan Kshamatako Adhyayan}(नेपाली भाषा शिक्षा सङ्काय, 2019) अधिकारी Adhikari, शिक्षाराज Shikshyarajप्रस्तुत शोधपत्रको मुख्य उद्देश्य चितवन जिल्ला, भरतपुर महानगरपालिकाका विद्यार्थीहरूको चिठी लेखन क्षमताको अध्ययन गर्नु रहेको छ । यसअन्तर्गत चितवन जिल्ला भरतपुर महानगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूको प्रकृतिका आधारमा र विद्यार्थीहरूको लैङ्गिकताको आधारमा अध्ययन गरिएको छ । यस शोधपत्रमा तथ्याङ्क सङ्कलनका क्रममा सम्बन्धित विद्यालयका विषय शिक्षकको आवश्यक सहयोगका आधारमा विद्यालय प्रशासनसँग समन्वय गर्दै प्रतिनिधि नमुनाका रूपमा छनोट गरी भरतपुर महानगरपालिकाको शैक्षिक सत्र २०७५ सालका दशमा अध्ययनरत दशवटा विद्यालयका १०\१० जना विद्यार्थीहरूलाई छुट्टै कोठामा राखी आवश्यक निर्देशन दिएर बढीमा १५ मिनेट समय निर्धारण गरी लेख्न लगाइएको छ । नमुनाका रूपमा चयन गरिएका विभिन्न विद्यालयका सम्बन्धित उत्तरपुस्तिकालाई सङ्कलन गरिएको छ । तत्पश्चात सङ्कलन गरिएका चिठीका उत्तरपुस्तिकालाई विषयवस्तु, प्राविधिक पक्ष (मिति, सम्बोधन, ठेगाना, अभिवादन, खामको नमुना) भाषिक शुद्धता र मौलिकताका आधारमा परीक्षण गरी तथ्याङ्क सङ्कलन गरिएको छ । तथ्य सङ्कलनका क्रममा प्राप्त चिठीमा अङ्कित गरी प्राप्ताङ्कलाई लैङ्गिकता र विद्यालयको प्रकृतिका आधारमा समूहगत रूपमा वर्गीकरण गरी तालिकाबद्ध गरिएको छ । तथ्य विश्लेषणका क्रममा सम्पूर्ण विद्यार्थीहरूको प्रतिशताङ्क तथा त्यसको स्तम्भ चित्र, मध्यमान र निकालिएको छ । प्रतिनिधि नमुनामा समाविष्ट विद्यार्थीहरूमध्ये मध्यमानभन्दा तल कति प्रतिशत छन् र मध्यमानभन्दा माथि कति प्रतिशत छन् भनी गणना गरिएको छ । उल्लेखित विभिन्न समूहको क्षमता मापन गर्न तथ्य विश्लेषणमा सरलता ल्याउने प्रयत्न गरिएको छ । त्यसरी नै प्राप्ताङ्कका आधारमा निम्नतम, मध्यम, उच्च र उच्चतम स्थानमा पर्ने विद्यार्थीहरूको वास्तविक सङ्ख्या पत्ता लगाउन प्रतिशताङ्क श्रेणी निर्धारण गरी गणना गरिएको छ । यसका साथै समग्र मध्यमानकै आधारमा विभिन्न चलहरूबीच चिठी लेखन क्षमताको पहिचान गरिएको छ । विभिन्न आधारबाट छात्रहरूको तुलनामा छात्राहरूको चिठी लेखन क्षमता राम्रो भएको निष्कर्ष निकालिएको छ । (क) सम्पूर्ण विद्यार्थीहरूको चिठी लेखन क्षमताको प्रतिशताङ्क स्थिति गणना गर्दा ६८ प्रतिशत विद्यार्थीहरूले ५१ प्रतिशतभन्दा माथि चिठी लेखन क्षमता मापन गराउन सफल देखिनुले कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूमा चिठी लेखन क्षमता सन्तोषजनक रहेको देखिन्छ । (ख) विद्यालयको प्रकृतिका आधारमा तुलना गर्दा सामुदायिक विद्यालयका विद्यार्थीहरूभन्दा संस्थागत विद्यालयका विद्यार्थीहरूको चिठी लेखन क्षमता उच्च देखिन्छ । जसअनुसार ५१ प्रतिशतभन्दा तल चिठी लेखन क्षमता सामुदायिक विद्यालयका विद्यार्थीहरूमा ४२ प्रतिशत देखिन्छ भने संस्थागत विद्यालयका विद्यार्थीहरूमा २२ प्रतिशत देखिन्छ । यसबाट सामुदायिक विद्यालयका विद्यार्थीहरूको चिठी लेखन क्षमता कमजोर रहेको देखा पर्छ भने संस्थागत विद्यालयका विद्यार्थीहरूको चिठी लेखन क्षमता सन्तोषजनक रहेको ज्ञात हुन आउँछ । (ग) सामुदायिक विद्यालय समूहका समग्र विद्यार्थीहरूको प्रतिशताङ्क स्थिति गणना गर्दा ५१ प्रतिशतभन्दा तल चिठी लेखन क्षमता भएका विद्यार्थीहरूको सङ्ख्या २१ अर्थात् ४२ प्रतिशत र ५१ प्रतिशतभन्दा माथि चिठी लेखन क्षमता भएका विद्यार्थीहरूको सङ्ख्या २९ अर्थात् ५८ प्रतिशत रहेकाले केही विद्यार्थीहरूको चिठी लेखन क्षमता सन्तोषजनक देखिन्छ भने केही विद्यार्थीहरूको चिठी लेखन क्षमता सन्तोषजनक देखिँदैन । (घ) संस्थागत विद्यालय समूहका विद्यार्थीहरूको चिठी लेखन क्षमतालाई लिएर प्रतिशताङ्क स्थिति गणना गर्दा ५१ प्रतिशतभन्दा माथि ७८ प्रतिशत विद्यार्थीहरू रहनुले संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको चिठी लेखन क्षमता उच्चतम् रहेको देखिन्छ । (ङ) समग्र छात्र विद्यार्थीहरूमध्ये छात्र विद्यार्थीहरूको चिठी लेखन क्षमता सन्तोषजनक रहेको पाउन सकिन्छ । ५१ प्रतिशतभन्दा माथि चिठी लेखन क्षमता मापन गराउन ६४ प्रतिशत छात्रहरू पाइनुले यसलाई प्रस्ट्याउँछ । (च) समग्र विद्यार्थीहरूमध्ये छात्रा समूहको चिठी लेखन क्षमतालाई लिएर प्रतिशताङ्क गणना गर्दा ५१ प्रतिशतभन्दा तल अल्पसङ्ख्यक अथवा २८ प्रतिशत मात्र रहनुले चिठी लेखन क्षमतामा छात्रा समूहका विद्यार्थीहरूको स्तर बलियो रहेको पाइन्छ । (छ) समग्र छात्र र छात्रा विद्यार्थीहरूको तुलना गरी प्रतिशताङ्क स्थिति गणना गर्दा ५१ प्रतिशतभन्दा माथि चिठी लेखन क्षमता भएका छात्र विद्यार्थीहरूको सङ्ख्या ३२ अर्थात् ६४ प्रतिशत र ५१ प्रतिशतभन्दा तल चिठी लेखन क्षमता भएका विद्यार्थीहरूको सङ्ख्या १४ अर्थात् २८ प्रतिशत रहेकाले छात्र विद्यार्थीहरूको तुलनामा छात्रा विद्यार्थीहरूको चिठी लेखन क्षमता उच्चतम रहेको देखिन्छ ।