Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8216
Title: साहित्यकार देवी ‘क्षेत्री’ दुलालको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन र विश्लेषण {Study and analysis of the biography, personality and work of the writer Devi Chhetri Dulal
Authors: भट्टराई Bhattarai, योगनिधि Yoganidhi
Keywords: वंशपरम्परा Lineage;साहित्यिक व्यक्तित्व Literary personality
Issue Date: 2008
Publisher: नेपाली विभाग
Institute Name: Mahendra Ratna Multiple Campus, Ilam
Level: Masters
Abstract: दुई दशक भन्दा बढी समयदेखि नेपाली साहित्यका नाटक, एकाङ्की, कथा, कविता, उपन्यास, समालोचना, आदि विधामा कलम चलाउँदै आएका देवी ‘क्षेत्री’ दुलाल वर्तमान समयमा पनि यसतर्फ लागिरहेका छन् । नेपाली साहित्यमा उदयमान वर्तमान पूर्वेली श्रष्टा दुलालको समग्र जीवनी, व्यक्तित्व र पुस्तकाकार कृतिहरूको अध्ययन र विश्लेषण यस शोध–प्रबन्धमा गरिएको छ । साहित्यकार देवी ‘क्षेत्री’ दुलालको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन र विश्लेषण गर्ने क्रममा यस शोधपत्रलाई जम्मा ६ परिच्छेदमा विभाजन गरिएको छ । जसको प्रथम परिच्छेदमा शोध परिचय मूल शीर्षक भएको हुँदा शोध गर्दा अपनाउनुपर्ने नियमगत उपशीर्षकहरू शोधशीर्षक, शोध प्रयोजन, विषय परिचय, समस्याकथन, शोधकार्यको उद्देश्य, पूर्वकार्यको विवरण र समीक्षा, शोधकार्यको औचित्य, शोधकार्यको सीमाङ्कन, शोधविधि र शोधपत्रको रुपरेखालाई प्रस्तुत गरिएको छ । यस शोधपत्रको दोस्रो परिच्छेदमा ‘साहित्यकार देवी ‘क्षेत्री’ दुलालको परिचय र जीवनी’ अन्तर्गत दुलालको वंशपरम्परा, जन्म, जन्मस्थान, शिक्षादीक्षा, पारिवारिक जीवन, जागिरे जीवन, आर्थिक अवस्था, भ्रमण, शारीरिक बनोट, स्वभाव र रुचि राखिएका छन् । यी सबै कुराहरू शोधनायक र उनको पारिवारिक स्रोतबाट प्राप्त जानकारीका आधारमा प्रस्तुत गरिएका छन् । यस शोधपत्रको तेस्रो परिच्छेदमा साहित्यकार देवी ‘क्षेत्री’ दुलालको व्यक्तित्वका प्रमुख पक्षहरूमध्ये साहित्यिक र साहित्येतर व्यक्तित्व गरी दुई दृष्टिकोणबाट हेर्ने प्रयास गरिएको छ । साहित्यिक व्यक्तित्वका पक्षहरूमा नाटककार व्यक्तित्व, एकाङ्कीकार व्यक्तित्व, कवि व्यक्तित्व, कथाकार व्यक्तित्व, उपन्यासकार व्यक्तित्व, समालोचक व्यक्तित्व र साहित्यिक पत्रपत्रिका र संस्थाहरूमा संलग्नता र सम्पादक व्यक्तित्व गरी छुट्टाछुट्टै उपशीर्षकमा प्रस्तुत गरिएको छ भने साहित्येतर व्यक्तित्वमा राजनैतिक व्यक्तित्व, पत्रकार व्यक्तित्व र प्राध्यापक व्यक्तित्वका रुपमा अध्ययन गरिएको छ साथै अन्त्यमा छोटो एक अनुच्छेदमा व्यक्तित्व पक्षको सारांश पनि राखिएको छ । यस शोधपत्रको चौथो परिच्छेद अन्तर्गत साहित्यकारका रुपमा देवी ‘क्षेत्री’ दुलाललाई उपस्थित गराउन आमुख, लेखनकार्यका निम्ति प्रेरणा र प्रभाव, प्रथम प्रकाशित कृति, साहित्य लेखनका विधा र पुस्तकाकार कृतिहरू, साहित्यकार देवी ‘क्षेत्री’ दुलालको साहित्य यात्रा तथा जीवनी व्यक्तित्व र साहित्यलेखन बीचको अन्तः सम्बन्ध उपशीर्षकहरू रहेका छन् । यसमा देवी ‘क्षेत्री’ दुलाललाई साहित्यकार भन्न सकिने आधारहरू प्रस्तुत गरिएका छन् । यस शोधपत्रको पाँचौ परिच्छेदमा “साहित्यकार देवी ‘क्षेत्री’ दुलालको कृतित्वको अध्ययन विश्लेषण” मूल शीर्षक अन्तर्गत कृतित्वको विधागत वर्गीकरण सहित नाटककारका रुपमा देवी ‘क्षेत्री’ दुलाललाई उपस्थित गराई आमुख र नाट्य प्रवृत्तिगत विशेषताहरूलाई प्रस्तुत गरिएको छ । यसपछि ‘साहस’ नाटकको परिचयात्मक अध्ययन र विश्लेषण उपशीर्षकमा ‘साहस’ नाटकको परिचय सहित नाट्य तत्वका आधारमा विश्लेषण गरिएको छ साथै अन्त्यमा शीर्षक र साहस नाटक बीचको सम्बन्धलाई पनि प्रस्तुत गरिएको छ । यसै पाँचौ परिच्छेदको अर्को उपशीर्षकमा एकाङ्कीकारका रुपमा दुलाललाई चिनाई ‘सेतो परेवा’ (२०५५) एकाङ्की सङ्ग्रहमा सङ्ग्रहित ६ वटा एकाङ्कीहरू सेतो परेवा, जोखाना, सासू–बुहारी, रुने मान्छे, बाँच्ने रहर र सगरमाथाकी छोरी ‘सारु’ को एकाङ्कीगत तत्वका आधारमा व्याख्या विश्लेषण सहित प्रत्येक एकाङ्कीको शीर्षक सार्थकतालाई पनि खोज्ने प्रयास गरिएको छ । यसै पाँचौ परिच्छेदको अर्को उपशीर्षकमा उपन्यासकारका रुपमा दुलालालई प्रस्तुत गर्दै उनको एकमात्र प्रकाशित रङधोजी (२०६० असोज) उपन्यासका आधारमा दुलालको सामान्य औपन्यासिक विशेषतालाई प्रस्तुत गरिएको छ साथै ‘रङधोजी’ उपन्यासको औपन्यासिक तत्वका आधारमा अध्ययन र विश्लेषण गर्ने प्रयास गरिएको छ । यस शोधपत्रको छैटौं परिच्छेदमा “साहित्यकार देवी ‘क्षेत्री’ दुलालको समग्र व्यक्तित्व र कृतित्वको मूल्याङ्कन” मूल शीर्षक अन्तर्गत व्यक्तित्वको मूल्याङ्कन र कृतित्वको मूल्याङ्कन दुई उपशीर्षकमा दुलालको समग्र मूल्याङ्कन छोटकरीमा गर्ने प्रयास गरिएको छ । यसै भित्र भावी कार्यको सम्भावना पनि प्रस्तुत गरिएको छ । यस शोधपत्रको अन्त्यमा सन्दर्भसामग्री भाग अन्तर्गत सन्दर्भसामग्री सूची पनि राखिएको छ । जसमा शोधपत्र तयार पार्दा प्रयोग गरिएका अति महत्वपूर्ण ग्रन्थहरूको सूची राखिएको छ साथै परिशिष्ट भागमा दुलालको एउटा ‘बाँच्ने रहर’ एकाङ्की र तस्वीर राखिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8216
Appears in Collections:Nepali

Files in This Item:
File Description SizeFormat 
COVER.pdf94.51 kBAdobe PDFView/Open
CHAPTER.pdf488.15 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.