दार्चुला जिल्लाको व्यासी जातिको सांस्कृतिक अध्ययन {Darchula jillako byasi jatiko sanskritik adhyayan}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
दार्चुला जिल्लाको व्यासी जातिको सांस्कृतिक अध्ययन शीर्षकको शोधप्रबन्ध त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा संस्कृति विषयको उपाधि प्राप्त गर्न आंशिक आवश्यकता परिपूर्तिका निमित्त नेपाली इतिहास, संस्कृति तथा पुरातŒ व केन्द्रीय विभाग कीर्तिपुरमा प्रस्तुत गरिएको हो । दार्चुला जिल्लाको व्यासी जातिको जातिय परिचय के हो ? दार्चुलाको व्यासी जातिका मूर्त सांस्कृतिक सम्पदाहरू के कस्ता रहेका छन् ? दार्चुलाको व्यासी जातिका अमूर्त सांस्कृतिक सम्पदाहरू के कस्ता रहेका छन् ? भन्ने सन्दर्भ यो अध्ययनका समस्या हुन् । दार्चुलाको व्यासी जातिको जातीय परिचय खोजी गर्नु , दार्चुलाको व्यासी जातिका मूर्त सांस्कृतिक सम्पदाहरूको अन्वेषण गर्नु , दार्चुलाको व्यासी जातिका अमूर्त सांस्कृतिक सम्पदाहरूको खोजी गर्नु जस्ता विशिष्ट उद्देश्य यो अध्ययनले निर्धारण तथा परिपूर्ति गरेको हो ।
विषयवस्तुका दृष्टिकोणले यो अध्ययन व्यासी दार्चुलाको जातिको जातीय परिचय र मूर्त अमूर्त सांस्कृतिक सम्पदाहरूमा मात्रै केन्द्रित रहेको छ । भूगोलका आधारमा यो अध्ययन व्यासी जातिको मुलथाँत थलो व्यास गाउँपालिकामा पर्ने तिंकर, छाङरु, र महाकाली नगरपालिकाको खलंगा क्षेत्रमा मात्र केन्द्रित छ । प्रस्तुत शोधकार्यमा प्राथमिक तथा द्वितीयक दुवै किसिमका स्रोत तथा सामग्रीका साथै तथ्याङ्क एवम् सूचनालाई उत्तिकै महत्व दिइएको हो । विशेषतः यो अनुसन्धान कार्य प्राथमिक तथ्याङ्कमा आधारित छ । द्वितीयक सूचना प्रकाशित तथा अप्रकाशित उपलब्ध सामग्रीहरूको विवेचनाबाट र प्राथमिक तथ्याङ्कहरू स्थलगत अध्ययनबाट सङ्कलन गरिएका हुन् । प्राथमिक तथ्याङ्कहरू संकलनका लागि अवलोकन, जानकार व्यक्तिहरूसँगका अन्तर्वार्ता र फोटोग्राफी र भिडियोग्राफी प्रयोगमा ल्याइएको छ । यो गुणात्मक अध्ययन हो । विश्लेषणात्मक, वर्णनात्मक एवम् अन्वेषणात्मक अनुसन्धानको सैद्धान्तिक ढाँचामा यो शोधपत्र अनुबन्धित गरिएको छ ।
व्यासी जातिको बसोबास दार्चुलाको तिंकर, छाङरु, रपाङ,कुटी, नाबी, गुन्जी,स्याङकाङ र सदरमुकाम खलंगामा रहेको छ । वि.सं. २०७८ को जनगणना अनुसार देशभर व्यासी जातिको जनसङख्या ५,७१८ जना रहेकोमा दार्चुलामा १,२६४ जना रहेको छ (राष्ट्रिय जनगणना, वि.सं. २०७८)। यस जातिलाई सरकारी दस्तावेजमा ‘व्यासी’, क्षेत्री–बाहुनले‘व्यासी सौका’ तिब्बतीहरूले ‘ज्याङबा’ र उनीहरु आफैले ‘रँ’ भनेर चिनाएको पाईन्छ । यस अध्ययनका क्रममा भने सरकारी दस्तावेजकै शब्द‘व्यासी’ प्रयोग गरिएको छ ।
छालाको रङ् हल्का पहेँलो ,गोलो एवम् अण्डाकार मुखाकृति, भित्र गडेको सामान्यतया चिम्सो आँखा, कालो र सिधा कपाल,छोटो र फराकिलो नाकसामान्य जुङ्गा दाह्री यो जातिका मुख्य शारीरिक विशेषता हुन् । यस जातिमा ऐतवाल, बोहरा र लाला, तिङ्करी, बुढाथोकी,कल्याल,जोहारी जस्ता थर प्रचलनमा रहेको छन् । संयुक्त परिवार लामो समयसम्म संगोलमै बसेको यो समाजमा पाइन्छ । उनीहरुले समाज एक गाउँ हो र गाउँ परिवार हो भन्ने धारणा राख्छन् । परम्परागत रूपमा ढुङ्गाका छानो भएका घरहरू बनाउने चलन छ । परम्परागत पहिरनको रुपमा पुरुषहरूले रंगा बेन्ठूलो, र महिलाहरूले च्यूङ्बाला, लगाउने गर्दछन् । छाकु छम्मा ,क्वटो, दू, कलङ ,दाङती, ति–चेम्पेन, भार बरछ्याङ च्यक्ती, दलङ यो समुदायका परम्परागत परिकारहरू हुन् । कंच, गोकपर, एरती ग्व्अल्व्अकोस्यी ,दबस्यिन,, पाक्व, छ्य ,दुङपा ,ज्या दोङब्व ,बूति, दोङब्व खाङ ,जुगली , हरब्या,क¥या , दाबन,सा तिपरी,सा गरी,सा कलिन्चै,क्वचै , खाल्व ,घा ,चल्ला ,चरु,डी यो समुदायका परम्परागत भाडाकँडा हुन् । धम्ये, ब्यासली, छ्याँछ्याँ, ब्याँकुली, घोंघरौं, जङथर,ढौलक यस जातिका परम्परागत बाजा हुन् ।
यो जातिभित्र आफ्नै मिथक एवम् लोककथा, जनश्रुति, लोकगीतहरू, उखान टुक्काहरू,गाउँखाने कथाहरू लोकभाषा एवम् लिपि लोकगीत तथा सङ्गीत लोकनाचगान, लोकखेल, धामीझाँक्रीको प्रदर्शन रहेका छन् । सामाजिक भूमिकामा बढा ढाक्पा, ल्हेवा जस्ता पदीय जिम्मेवारी प्राप्त व्यक्तिहरू पनि हुने गर्दछन् ।् परिवारमा जेष्ठ पुरुषलाई घर मुली मानिन्छ भने जेष्ठ महिलालाई मुलिन रानीको रुपमा विशेष सम्मान छ । नारीको स्थान यहाँको परिवार र समाजमा उच्च छ । महिलामाथि हुने हिंसा र दाईजो, बहुबिबाह, देउकी प्रथा, छाउपडी प्रथा जस्ता कुनै प्रकारका विकृती यो समाजमा छैनन् । बालबालिकाको पनि निर्णय प्रक्रियामा अधिकार हुन्छ । रक्त सम्बन्ध, बैबाहिक सम्बन्ध र मितेरी लगायत अन्य समुदायमा जस्तै नातेदारी यहाँ पाईन्छ । परम्परागत न्याय प्रणालीका कारण समुदायभित्रका विवादहरु कमै मात्रै सरकारी निकायहरुमा पुग्छन् । व्यासी जातिमा छ्युसिमो (जन्म संस्कार), बुमो बोक्ने (बच्चालाई पिठ्युमा राखेर बोक्ने),दुक्लाङ छिमो (पास्नी), किपाङ कोर्मो (शिशुलाई मन्दिर लैजाने) बुढानी ठुमो (जेठो छोराको बुढानी पुजा), बिबाह संस्कार र मृत्यु संस्कार हुन् । यिनीहरुले कलिङ (पुजा गर्न राखिएको ढुङ्गा), व्यास ऋषि, महादेव, भुमि, मुलिन रानी (चुलो), ज्ञमराङ मूल ढोका), आदिको पुजा गर्दछन । यो जातिका मुख्य पर्वहरुमा व्यास पुजा, गबला, किर्जीबाम, नमज्युङको पुजा, चाँचिमो, दच्र्यो उभ्याउने पर्व, ग्युगरी आदि पर्दछन् । प्रकृतिसँग सम्वन्धित विद्या, ब्रह्माण्डसँग सम्वन्धित विद्या, लोकऔषधोपचारसम्बन्धी विद्या, झारफुक तन्त्रमन्त्रसम्वन्धी विद्या, कला, वास्तुकला पक्षसँग सम्बन्धित विद्या एवम् सीपजस्ता विधाहरु पनि यो जातिमा पाइन्छन् । यहाँ स्थानीय स्तरमा उपलव्ध हुने जडिबुटीहरूको प्रयोग तथा आफ्नै मौलिक परम्परागत उपचार पद्धति विकास गरिएको पाइन्छ । लमाले झारफुक गर्ने र तन्त्रमन्त्रको प्रयोग गर्ने परम्परा छ । ऊन तथा अल्लो लगायत रेसाबाट विभिन्न लुगा ,गलैँचा निर्माण गर्ने जस्ता हस्तकला सीप तथा प्रविधि पाइन्छन् । श्रृङ्गार एवम् सजावटसम्बन्धी, वाद्यवादन, गायन तथा नृत्यसम्बन्धी, झारफुक एवम् तन्त्रमन्त्रसम्बन्धी ज्ञानविज्ञान प्रविधिमा पनि यो जाति अग्रणी नै देखिन्छ । पछिल्लो समय आधुनिकताको प्रभावले व्यासी जातिका मूर्त, अमूर्त सम्पदामा ठूलो प्रभाव पारिरहेको छ । यी सम्पदाहरुको अध्ययन, अनुसन्धान, दस्तावेजीकरण एवम् संरक्षणको आवश्यकता देखिन्छ ।
