सामुदायिक र संस्थागत विद्यालयको एस.एल.सी परीक्षाफलको तुलनात्मक अध्ययन Samudayik ra Sansthagat Bidhyalayako S.L.C. Parikshyfalko tulanatmak adhyayan

Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
महेन्द्र रत्न वहुमुखी क्याम्पस इलाम Mahendra Ratna Multiple Campus, Ilam
Abstract
माध्यमिक विद्यालय तहको अन्तमा लिइने राष्ट्रिय स्तरको एस.एल.सी. परीक्षामा देशमा संचालन भैरहेका सामुदायिक र संस्थागत माध्यमिक विद्यालयहरुको परिणामलाई तुलनात्मक रुपमा हेर्दा निकै भिन्नता देखिन्छ जुन कुरा हरेक वर्ष हुने एस.एल.सी.परीक्षाको परिणामले प्रष्ट पारेको छ । सामुदायिक र संस्थागत विद्यालयको परीक्षा परिणाममा भिन्नता देखिनुका साथै सामुदायिक विद्यालयको नतिजा न्युन हुनुमा विभिन्न कारणले प्रभाव पारेको छ । त्यसैले सामुदायिक र संस्थागत विद्यालयको एस.एल.सी. परीक्षाफलको तुलनात्मक अध्ययन शीर्षक अन्तर्गत ताप्लेजुङ्ग जिल्लाको फुङलिङ्ग र खोक्लिङ्ग गा.वि.स.लाई अध्ययन क्षेत्रको रुपमा छनौट गरी ४ ओटा सामुदायिक र ४ ओटा संस्थागत माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा लिई अध्ययन गरिएको छ । अध्ययन क्षेत्रको सामुदायिक र संस्थागत माध्यमिक विद्यालयको एस.एल.सी. परीक्षाफलको अवस्था, उक्त विद्यालयका एस.एल.सी. परीक्षाफलमा फरक आउनाका कारणहरु र दुबै थरी विद्यालयका समस्या र समाधानका उपायहरु पत्ता लगाउने उद्देश्यले गरिएको यस शोधकार्यमा प्र.अ.,शिक्षक, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र विद्यार्थीका लागि खुला अन्तवार्ता प्रश्नावली र शिक्षकको कक्षाकोठा शिक्षणको अवलोकन गर्न कक्षा अवलोकन फारामको निर्माण तथा प्रयोग गरी प्राथमिक तथा सहायक तथ्याङ्कबाट सूचना संकलन गरिएको छ । अध्ययनको क्रममा विद्यालयको तथ्याङ्क फाराम,उपस्थिति पुस्तिका, अन्तवार्ता तथा कक्षा अवलोकन र छलफलबाट प्राप्त सूचनालाई गुणात्मक एवं संख्यात्मक विधि अपनाई व्याख्या एवं विश्लेषण गर्दा अध्ययन क्षेत्र भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको तालिम, अनुभव ,दक्षता तलव,भत्ता संस्थागत विद्यालयको तुलनामा राम्रो भएता पनि एस.एल.सी. परीक्षाफल राम्रो नभएको पाइयो । साथै सामुदायिक विद्यालयका शिक्षकको अनियमितता, पेशाप्रति कर्तव्यवोध नहुनाको कारण एस.एल.सी.को परीक्षाफल न्युन रहेको पाइयो । सामुदायिक र संस्थागत विद्यालयको एस.एल.सी.को परीक्षाफलमा भिन्नता देखिनुको कारणहरुमा अध्ययन गर्दा शिक्षकको नियमितता, लगनसिलता, कर्तव्यनिष्टता, अनुशासन, अभिभावकको पेशा, शिक्षा, आर्थिक अवस्था, लगानी र चासो, विद्यालयको प्रशासन र व्यवस्थापन, निरीक्षण, नियन्त्रण, रेखदेख र सुपरीवेक्षण आदिले सामुदायिक र संस्थागत विद्यालयको एस.एल.सी. परीक्षाफलमा भिन्नता ल्याउन भुमिका खेलेको पाइयो । सामुदायिक विद्यालयको शिक्षण सिकाइमा पक्की भवन, कक्षाकोठा, उपयुक्त वातावरण, फर्निचर, शिक्षक विद्यार्थीको सक्रियताको कमी र समस्या रहेको पाइयो भने संस्थागत विद्यालयको शिक्षण सिकाइमा शिक्षकको तलव, भत्ता, सामुदायिक विद्यालयका शिक्षकको भन्दा कम भएको, तालिमको अवसर नभएको शैक्षिक सामग्रीको कमी, शिक्षकको पेशागत सुनिश्चितता नभएको जस्ता समस्याहरु रहेको पाइयो । सामुदायिक विद्यालयमा भएका समस्या समाधान गर्न वि.नि. र स्रोत व्यक्तिले महिनामा एक पटक अनिवार्य रुपमा विद्यालयको निरीक्षण गरी सुझाव दिनु पर्ने, विद्यालय व्यवस्थापन समिति, प्र.अ.,शिक्षक र अभिभावकहरुले शिक्षाको गुणस्तर उकास्न सक्रिय भएर लाग्नु पर्ने र आवश्यक मात्रामा कक्षाकोठा, शिक्षक र शैक्षिक सामग्रीको व्यवस्था गरी शिक्षण सिकाइ प्रभावकारी रुपमा गर्नुपर्ने देखिन्छ । त्यसैगरी संस्थागत विद्यालयमा भएका समस्या समाधान गर्न संस्थागत विद्यालयका शिक्षकलाई पनि सेवाकालिन तालिमको व्यवस्था गर्नुपर्ने, शिक्षकहरुलाई नियुक्ति पत्र दिने, स्थायी गर्ने र आवश्यक मात्रामा शैक्षिक सामग्रीको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
Description
Citation