गण्डकी प्रदेशमा प्रचलित नेपाली लाेककथामा लाेकविश्वास
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
प्रस्तुत शोधकार्य गण्डकी प्रदेशमा प्रचलित नेपाली लोककथामा अभिव्यक्त लोकविश्वासको विश्लेषणमा केन्द्रित रहेको छ । गण्डकी प्रदेश कास्की, गोरखा, तनहुँ, नवलपुर, पर्वत, मनाङ, म्याग्दी, मुस्ताङ, लमजुङ, बागलुङ र स्याङ्जा जिल्लाहरूलाई समेटेर बनाइएको राजनीतिक र प्रशासनिक भूगोल हो । यस प्रदेशमा प्रचलित लोककथाको लोकतात्विक, तुलनात्मक, संरचनावादी र सन्दर्भवादी पद्धति आदिका आधारमा खास उद्देश्यका लागि अध्ययन गरिए तापनि ती लोककथामा अभिव्यक्त लोकविश्वासको अध्ययनकार्य भएको छैन । यही रिक्ततालाई दृष्टिगत गरी प्रस्तुत शोधकार्यमा गण्डकी प्रदेशमा प्रचलित नेपाली लोककथामा प्रयुक्त लोकविश्वासलाई शोधसमस्याको रूपमा लिइएको छ । ती लोककथामा अभिव्यक्त लोकविश्वासका विषयवस्तुगत प्रकार, अभिव्यक्तिगत प्रक्रिया र प्रयोजनलाई शोध समस्या बनाई यो शोधकार्य गरिएको छ । यसमा गण्डकी प्रदेशका नेपाली लोककथामा अभिव्यक्त लोकविश्वासका विषयवस्तुगत प्रकारको विश्लेषण गर्ने, लोकविश्वासको अभिव्यक्तिगत प्रक्रियाको समीक्षा गर्ने र लोकविश्वासका प्रयोजनको मूल्याङ्कन गर्ने उद्देश्य रहेका छन् ।
प्रस्तुत शोधकार्यमा प्राथमिक स्रोतका सामग्रीको सङ्कलनका लागि कास्की, गोरखा, तनहुँ, नवलपुर, पर्वत, मुस्ताङ, लमजुङ र स्याङ्जा जिल्लाहरूलाई भौगोलिक सीमाङ्कन तथा लोकविश्वाससम्बन्धी अवधारणालाई सैद्धान्तिक सीमाङ्कनका रूपमा उपयोग गरिएको छ । प्राथमिक स्रोतका सामग्री निर्धारित क्षेत्रमा गई लोककथाका स्रोतव्यक्तिलाई प्रत्यक्ष भेटेर एक सय सैँतिसओटा लोककथाको श्रव्यदृश्य माध्यमबाट तथा स्याङ्जा र पर्वतबाट एक÷एकओटा लिखित रूपका लोककथा गरी एक सय उनन्चालिसओटा लोककथा सङ्कलन गरिएको छ । ती लोककथामा अभिव्यक्त लोकविश्वासको सघनता र सबलताका आधारमा चवन्नओटा लोककथाको सोद्देश्य छनोट विधिका आधारमा विश्लेषणका निम्ति चयन गरिएको छ ।
प्रस्तुत गुणात्मक प्रकृतिको शोधमा मुख्यतः पाठविश्लेषण विधिको उपयोग गरिएको छ । यसमा लोकविश्वाससम्बन्धी अवधारणालाई शोध सामग्रीका विश्लेषणको प्रमुख आधार बनाइएको छ । लोकसमुदायले आस्था र श्रद्धाका साथ स्वीकार गरेका भावनात्मक विश्वास र परम्परादेखि अविच्छिन्न रूपमा प्रचलित मानवीय अनुभूतिजन्य व्यवहार नै लोकविश्वास हुन् । लोकविश्वासको उत्पत्ति ज्ञानको कमी, दैवी शक्तिमा विश्वास, भय, आत्मरक्षाको प्रवृत्ति, मिथ्या ज्ञान, अनुमान र दृश्य, आदिम संस्कार, अदृश्य शक्तिप्रति गरिने विश्वासका कारण हुने मान्यता रहेको छ । लोकविश्वासलाई आदि जातिले वैयक्तिक तथा सामूहिक जीवनको आचरण बनाएको हुँदा तिनमा लोकको आस्था रहने मान्यता छ । लोकसमाजमा पृथ्वी र आकाश, मानव, मानव निर्मित वस्तु, पशुपक्षी, वनस्पति, असाधारण जीव र वस्तु, दैवी शक्ति, जादु, टुनामुना, आत्मा र पुनर्जीवन, शकुन र अपशकुन, भाग्य, भविष्यवाणी, सपना, श्राप र आशीर्वाद, निषेध र रोगको निदान तथा औषधीसम्बन्धी लोकविश्वास प्रचलित रहेको धारणा छ । लोकविश्वास आदिम चेतनायुक्त लोकाभिव्यक्ति हुन् । आदिम चेतनामा शुभाशुभ, अतिरञ्जना, धर्म र अनुष्ठान, शक्ति, जड र चेतनमा आत्मतत्व तथा तन्त्रमन्त्र जस्ता विषय पर्दछन् । लोककथाका संरचक तत्व कथानक, पात्र, परिवेश र अभिप्रायमार्फत लोकविश्वासको अभिव्यक्ति हुन्छ । लोकविश्वासको प्रयोजन धर्म र संस्कारको ज्ञान दिने, नैतिक शिक्षा दिने, मनोविनोद प्रदान गर्ने, लोककल्याणको कामना गर्ने र मानिसमा सदाचारको विकास गरी सभ्य समाजको निर्माण गर्ने रहेको छ । प्रस्तुत अवधारणाबाट लोककथामा लोकविश्वासको अध्ययन गर्न सकिने आधार स्पष्ट भएको छ ।
गण्डकी प्रदेशमा प्रचलित चवन्नओटा नेपाली लोककथामा चार सय त्रियासीओटा लोकविश्वास व्यक्त भएका छन् । तीमध्ये सबैभन्दा बढी धार्मिक मान्यतामा आधारित दुई सय बाउन्नओटा लोकविश्वास रहेका छन् । यहाँ बहुलोक, देवीदेवता, धार्मिक व्यक्ति, जातीय संस्कारमा विश्वास गरी तीर्थ, व्रत, पूजापाठ गरेमा पुण्य प्राप्ति हुने लोकविश्वास हिन्दु धर्मदर्शनबाट निर्दिष्ट छन् । लामाले असाधारण कार्य गर्ने, काग लामाको अवतार हुने र गुम्बा ज्ञान प्रचारका केन्द्र भएका लोकविश्वासले उक्त क्षेत्रको जनजीवन हिन्दु र बौद्ध धर्मबाट प्रभावित रहेको प्रस्ट हुन्छ । यी लोकविश्वासमा देवीदेवताको शक्तिभन्दा अतृप्त आत्मामा ज्यादा विश्वास गरिएको छ । यहाँ मानिसले भविष्यप्रति चिन्ता गर्दै शुभाशुभ फलको अनुमान गर्ने लोकविश्वास रहेका छन् । यिनमा देवीदेवता, भूतप्रेत, मानिस, जीवजन्तु तथा वस्तुमा असाधारण शक्ति हुने हुँदा अस्वाभाविक कार्य गर्ने लोकविश्वास रहेको छ । जड र मानवेतर प्राणीमा रहेको आत्मतत्वले मानिसको कल्याण हुने लोकविश्वास पाइएको छ । दुष्टात्माले जादुको नकारात्मक शक्तिबाट मानिस, जीवजन्तु, वनस्पति र प्रकृतिलाई दुःख दिने तर धामीझाँक्रीले त्यस्तो शक्ति रोक्ने लोकधारणा रहेको छ । प्रस्तुत लोककथामा शुभाशुभसम्बन्धी, अतिरञ्जनामूलक, धार्मिक अनुष्ठानसम्बन्धी, शक्तिनिष्ठ, जड र चेतनमा आत्मतत्व तथा तन्त्रमन्त्रनिष्ठ लोकविश्वास कथानक, पात्र र अभिप्राय तŒवमार्फत सघन रूपमा र परिवेश तत्वबाट न्यून रूपमा व्यक्त भएका छन् । चेतन मनोदशाका कारण व्यक्त लोकविश्वासको उद्देश्य मानिसलाई सामाजिक आचारसंहिता र कर्तव्यको पालना गर्न उत्प्रेरित गर्नु रहेको छ । अवचेतन मनोदशाबाट प्रकट हुने लोकविश्वासले मानिसलाई लोककल्याण विपरीतका कार्य हुनबाट जोगाएका छन् भने अचेतन मनोदशाका कारण अभिव्यक्त लोकविश्वास अस्वाभाविक, अयथार्थ र अतिरञ्जित रहेका छन् । लोकविश्वासकोे धार्मिक उद्देश्य विभिन्न धार्मिक अनुष्ठानका विधि र प्रक्रियाको ज्ञान दिई जीवजन्तु, पशुपक्षी, वनस्पति आदिको रक्षा गर्दै मानवीय जीवनलाई सार्थक बनाउने रहेको छ । व्यक्तिलाई नैतिकवान्, आत्मनिर्भर र व्यावहारिक बनाएर आदर्श समाजको निर्माण गर्नु प्रस्तुत लोकविश्वासको शैक्षिक उद्देश्य रहेको छ । लोकविश्वासको सामाजिक प्रयोजन नैतिक शिक्षामार्फत असल आचरण विकास गरी व्यक्तिलाई परिवार र समाजप्रति उत्तरदायी बनाउने रहेको छ । परम्परागत संस्कार र जातीय मौलिकपन कायम राख्दै मानिसलाई आध्यात्मिक चेतनामार्फत प्रकृतिप्रति कृतज्ञ बनाई आपसी सद्भाव वृद्धि गर्न अभिप्रेरित गर्नु यी लोकविश्वासको सांस्कारिक प्रयोजन रहेको छ ।
समग्रमा गण्डकी प्रदेशमा प्रचलित नेपाली लोककथामा धार्मिक मान्यता, सामाजिक व्यवहार, असाधारण शक्ति, शुभाशुभ, जादु र तन्त्रमन्त्र, निषेध र विश्वब्रह्माण्डसम्बद्ध लोकविश्वासको अभिव्यक्ति पाइएको छ । तीमध्ये धार्मिक मान्यतामा आधारित लोकविश्वास धेरै रहेका छन् । यहाँ देवीदेवताको शक्तिभन्दा अतृप्त आत्माको शक्तिमा विश्वास गरिएका लोकविश्वास बढी छन् । जड र मानवेतर प्राणीमा रहेको आत्माले मानिसको कल्याण भएको छ भने लोककथाका कथानक, पात्र र अभिप्राय तत्वमार्फत ज्यादा लोकविश्वासको अभिव्यक्ति पाइएको छ । प्रस्तुत लोकविश्वासको उद्देश्य अतिरञ्जनामार्फत मनोरञ्जन प्रदान गर्नु, परम्परागत चालचलनका बारेमा ज्ञान दिनु, अर्तीउपदेशका माध्यमबाट लोकशिक्षा दिई सदाचारको विकास गर्दै व्यक्तिलाई सामाजिकीकरणमा मदत गरी सभ्य समाजको निर्माण गर्नु रहेको छ । लोककथाका तत्वगत बुनोटभित्र विभिन्न लोकविश्वास रहेका र ती ज्ञानप्रद, शिक्षाप्रद र मनोरञ्जनकारी समेत रहेको कुरा यस शोधबाट सिद्ध भएको छ ।
