लिच्छविकालका अभिलेखमा प्रयुक्त संवत् {Lichchhabikalka abhilekhma prayoukta sambat}
Date
2023
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
अनुसन्धान सार
यो अनुसन्धानलिच्छविकालका अभिलेखमा प्रयुक्त संवत्को विषयमा गरिएको विस्तृत विवरणात्मक, विश्लेषणात्मक तथा तुलनात्मक ढंगको अध्ययन हो । नेपालसंवत्को प्रादुर्भाव हुनुभन्दा अघिको ८०२ वर्षको पूर्णअवधिलाई प्राचीनकाल अथवा लिच्छविकाल भनेर पनि मान्न सकिन्छ । त्यस्तैगरि लिच्छविकालको अभिलेखलाई लिच्छवि अभिलेख तथा त्यसवखत चलेको लिपिलाई लिच्छवि लिपि र त्यस बखत चलेको संवत्लाई लिच्छविसंवत् मान्नमा कुनै कठिनाई देखिएको छैन । यी लिच्छवि अभिलेखमा प्रयोग भएका संवत्लाई यहाँ लिच्छविसंवत्को परिभाषा भित्र राखी अध्ययन गरिएको छ ।
यही लिच्छवि संवत्को बारेमा बिभिन्न स्वदेशी तथा विदेशी विद्वानहरूको पनि इतिहासको कालक्रमलाई मिलाउनका लागि कसरत गर्दै अनेकौं प्रयासहरू हुँदै आए तर ती प्रयासहरू जम्मै मतमतान्तरमा मात्र सीमित रहन पुगे । ती मतहरू मध्ये कसैले अभिलेखमा भएका तिथि मिति प्रकरणमा बार उल्लेख भएको तर्फ , कसैले अधिकमास उल्लेख भएको तर्फ, कसैले महिनाको शुरु चैत्र हो कि कार्तिक हो भन्ने तर्फ आकर्षित भएर, त कसैले छिमेकी मुलुकको घटनासँग जोडेर आफनो विचार तथा धारणाहरू अघि सार्दै आए ।
यो अध्ययनलाई यहाँ सातवटा अध्यायमा विभाजन गरेर एउटा स्वरुप दिइएको छ । ती अध्यायहरूमा पहिलोमा शोध परिचय, दोस्रोमा पूर्व प्रकाशित कृतिहरूको समीक्षा तेस्रोमा संवत् मितिको सिद्धान्त चौथो अध्यायमा प्राचीन अधिमास सिद्धान्त पाँचौंमा संवत्हरूको इतिहास छैठौँमा लिच्छवि अभिलेखको संवत् र सातौँ अध्यायमा निष्कर्ष र सुझाव रहेको छ । यी अध्याय मध्ये पाँच अध्यायमा मुख्य विषय वस्तु समावेश गरिएको मुख्य अंग हुन् । यी अध्यायहरू एक अर्को अध्यायसंग सम्वन्ध जोडिएका छन् । इतिहास संस्कृतिको लागि संवत् अलि संवेदनशील विषय छ । तसर्थ संवत् बिनाको इतिहास र संस्कृतिको अध्ययन संभव नै नभएकोले यसमा धेरै विचार गरी आफ्नो अभिव्यक्ति दिनु परेको छ । नेपालमा प्रामाणिक इतिहासको थालनी भनेकै अभिलेखमा संवत् मिति स्पष्ट पाइएकोले हो । परन्तु अभिलेखहरूमा अहिले जस्तो संवत्को नाम नै खुलाउने चलन त्यो बेला नभएकै कारण अनेक किसिमको भ्रमले खेल्ने मौका पाई आएको हो । यद्यपि अभिलेखहरूमा अधिमास, वार, नक्षत्र जस्ता अवयवको रुपमा आएको प्रकरणले उचित बाटो देखाउन मद्दत गरेको हुँदा यी पक्षको पनि अध्ययन भएका छन् । अर्को कुरो जसरी विक्रमसंवत् शकसंवत् इस्वीसंवत् लिच्छविसंवत् मानदेवसंवत् जस्ता संवत्का नाम देखा परे तर त्यति बेला यसरी कुनै पनि संवत्का नाम उल्लेख गर्ने चलन थिएन । लिच्छविकालमा चलेको संवत् भन्ने अर्थमा लिच्छविसंवत भन्न सकेको मात्र हो ।
लिच्छविकालका अभिलेखमा प्रयोग भई आएका संवत्को विश्लेषणात्मक अध्ययन अनुसन्धान गर्दा पहिलोमा पूर्व प्रकाशित कृतिहरूको समीक्षा दोस्रोमा तत्कालीन अभिलेखहरूमा तिथिमितिको प्रयोग भए तापनि संवत् मात्र किन भनियो ? किन यसको पहिचान आवश्यक भएको हो ? यस किसिमले पहिचानको महत्व कस्तो छ ? आदिको अनुसन्धान गरिएको छ । पूर्व प्रकाशित कृतिहरूको समीक्षामा अनुसन्धानकर्ताहरूले के कस्ता ?कुरामा ध्यान दिइएको रहेछ त्यसको अध्ययनबाट, विज्ञहरूको अन्तर्वार्ताको आधारबाट, स्थलगत सर्वेक्षणबाट प्राप्त जानकारीको आधारबाट अनुसन्धान गरिएको छ । तेस्रो र अन्तिम रुप अनुसन्धानकर्ताले खोजेको अनुसन्धान सामग्रीहरूको बारेमा छलफल गरिएको छ । सवै अध्यायको साराँश पनि प्रस्तुत गरिएको छ ।
यस अध्ययनमा यदाकदा थोरै स्थानमा प्रश्नावलीको उत्तर प्रस्तुत गर्ने क्रममा परिमाणात्मक पनि भएको छ । अनुसन्धानको क्रममा अध्ययन क्षेत्र सालमिति युक्त १०६ वटा लिच्छविकालका अभिलेखहरूका मितिलाई मात्र यस शोधमा लिन खोजिएको र ती अभिलेख पहिले नै प्रकाशित भैसकेकोले यी अभिलेखको लागि अवलोकनको खासै जरुरी भएन । यसप्रकार नेपालसंवत्मा ८०२ जोडे पछि लिच्छविकाल देखिको इतिहास उभिन आउंने हुन्छ । अझ यसलाई स्पष्टसँग खुलासा गर्नुपर्दा लिच्छविसंवत् ८०३ अर्थात नेपालसंवत् १ भनेको नै यो शक ८०१ को कार्तिकदेखि शक ८०२ को आश्विन तक रहने , इ.सं.बाट भन्दा ८७९ को अक्टोवरदेखि ८८० को सेप्टेम्वरसम्म रहने र वि.सं बाट भन्नु पर्दा ९३६ कार्तिकदेखि ९३७ आश्विन तक रहनु मै यस अध्ययनसंग आधार जोडिएको छ ।
विगतमा अघिका इतिहासकारहरूले शकसंवत् र मानदेवसंवत्को आधारमा कालक्रम जुन बनाउन खोजेका थिए त्यसमा पनि शकपूर्व २ हुनु पर्नेलाई शक मानेर २ वर्षको कद घटाएर मिलाउन खोज्दा स्वाभाविक रुपले धेरै ठाउँमा बाधा आउने गरेको र पछि ५२९ लाई ५२७ को सट्टा २९ हुँदै आएको सालमाथि साल खप्ट्याई दिँदा नेपालसंवत्को उठानसम्ममा प्रत्यक्ष असर पर्न गएको देखिन आएको नै अध्ययनको विषय बनाइएको हो । किनभने त्यो प्रत्यक्ष असर शकसंवत्बाट भन्दा ८०१ को कार्तिकमा नेपालसंवत् उठान भएको त्यस्तै लिच्छविसंवत्बाट भन्दा ८०३ कार्तिकमा नेपालसंवत् उठान भएको बिन्दु एउटै भएको तिर ध्यानाकृष्ट हुनसकेन । यस अध्ययनमा समग्र तथ्यहरू विवेचना प्रस्तुत गरिएको छ ।
Description
Keywords
लिच्छविकाल Lichhabikal, नेपाल संवत Nepal sambat