गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिकता

dc.contributor.advisorमहादेव अवस्थी
dc.contributor.authorसरस्वती पाण्डे
dc.date.accessioned2026-06-29T05:24:23Z
dc.date.available2026-06-29T05:24:23Z
dc.date.issued2025
dc.description.abstract१.विषयपरिचय गोपालप्रसाद रिमाल (१९७५–२०३०) नेपाली साहित्यको मूलतः कविता, नाटकजस्ता विधामा कलम चलाउने स्रष्टा हुन् । कविता विधाका माध्यमबाट साहित्य यात्रा प्रारम्भ गरेका रिमालका साहित्यक कृतिहरूमा नाटक विधाअन्तर्गत मसान (२००३), यो प्रेम ! (२०१५) दुई पूर्णाङ्की नाटक र माया (२०१०) लघुनाटक प्रकाशित छन् । कविता विधाअन्तर्गत आमाको सपना (२०२०) कविता सङ्ग्रह प्रकाशित छ । रिमाल नेपाली समाजका यथार्थ विषयलाई नाटकमार्फत प्रस्तुत गरी नेपाली नाट्य क्षेत्रमा यथार्थवादको प्रारम्भ गर्ने नाटककारका रूपमा परिचित छन् । उनले विशेषतः नाट्यसाहित्यको क्षेत्रमा नै सिद्धि प्राप्त गरेका छन् । उनका मसान र यो प्रेम ! नाटकमा पितृसत्तात्मक समाजको यथार्थ चित्रण गरिएको छ । दुवै नाटकमा नारी अस्तित्व, स्वतन्त्रता र समानताको स्वर पाइन्छ । नेपाली समाजमा रहेको नारी र पुरुषबिचको वैवाहिक सम्बन्धभित्रको समस्यामा केन्द्रित नाटकमा नारीविद्रोहको स्वर प्रकट भएको छ । यसर्थ रिमाल मसान र यो प्रेम ! नाटक लैङ्गिकताका दृष्टिले महŒवपूर्ण रहेका छन् । लैङ्गिकता भनेको सामाजिक परिवेश, सांस्कृतिक अवस्थाबाट निर्धारित महिला र पुरुषको पहिचान हो । साथै यौनिकताका आधारमा निर्मित पहिचान र व्यवहारहरू पनि लैङ्गिकताभित्र पर्दछन् । लिङ्गकै आधारमा परिवार, समुदाय, राष्ट्र र अन्तर्राष्ट्रिय रूपमा व्यक्तिले निर्वाह गर्ने विभिन्न भूमिका तथा जिम्मेवारीहरूमा हुने विभेद र भिन्नता पनि लैङ्गिकताभित्र पर्छन् । लैङ्गिकताअन्तर्गत नारीवाद, पितृसत्ता र पुरुषव्यवहार, समलैङ्गिकता, लैङ्गिक विभेद, शोषण, शक्तिसम्बन्ध, उत्पीडन र हिंसा आदि विभिन्न विषयको अध्ययन गरिन्छ । रिमालका मसान र यो प्रेम ! सामाजिक यथार्थवादी नाटक हुन् । मसान नाटकमा पितृसत्तात्मक विचारधाराले महिलामाथि गरेको शोषणलाई कृष्ण, हेलेन र दुलहीका माध्यबाट प्रस्तुत गरिएको छ । कृष्णले हेलेनलाई आङ्खनो स्वार्थ पूरा गर्ने साधनका रूपमा प्रयोग गरेको छ भने दुलहीलाई सन्तान जन्माउने वस्तुका रूपमा लिएको छ । कृष्णको वास्तविक रूप अवगत भपछि यी दुवै पात्रले शोषणका विरुद्ध विद्रोहको स्वर उठाएको देखिन्छ । त्यस्तै यो प्रेम ! नाटकका पात्रहरू गङ्गा, शशि, शेखर र सानुबाबुका माध्यमबाट महिलामाथि गरिने शोषण र महिलामा जागृत चेतनालाई प्रस्तुत गरिएको छ । यी दुई नाटकका पात्रहरूद्वारा लैङ्गिक समानता जनाउने विषय प्रस्तुत गरी समाजमा विद्यमान लैङ्गिक विभेदको विरोध गरिएको छ । यसर्थ यी दुवै नाटक लैङ्गिक अध्ययनका कोणबाट विश्लेषण गर्नु उपयुक्त ठानिएको छ । रिमालकामसान र यो प्रेम ! नाटकको विधातŒव, मातृत्व चेतना, नारीवादी दृष्टिकोणलाई सैद्धान्तिक आधा बनाई अध्ययन विश्लेषण गरिए पनि लैङ्गिकताका दृष्टिले विश्लेषण नगरिएकाले प्रस्तुत शोधप्रबन्धमा गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिकता शीर्षक चयन गरिएको हो । प्रस्तुत शोधकार्यमा रिमालका नाटकमा निहित लैङ्गिकताको अध्ययनका लागि लैङ्गिकताका सैद्धान्तिक मान्यतालाई आधार बनाइएको छ । यहाँ विशेषतः लैङ्गिक समालोचनाअन्तर्गत पर्ने लैङ्गिक प्रतिनिधित्व र पहिचान, लैङ्गिक शक्तिसम्बन्ध, लैङ्गिक उत्पीडन र प्रतिरोधलाई मूल सैद्धान्तिक आधार बनाई रिमालका नाटकको विश्लेषण गरिएको छ । २. समस्याकथन गोपालप्रसाद रिमालका मसान र यो प्रेम † नाटकमा समाजमा विद्यमान पितृसत्ताले निम्त्याएका लैङ्गिक समस्याहरू अभिव्यक्त छन् । बहुविवाह र पुरुषमैत्री संस्कारको प्रभावमा हुर्केका मध्यमवर्गीय पुरुषहरूले नारीलाई प्रेम र विवाहका नाममा गरेको शोषण र नारीको हकअधिकार खोसिएपछि उनीहरूबाट निस्किएका विद्रोहका चेतना नाटकको प्रमुख विषयवस्तुका रूपमा प्रस्तुत भएको छ । रिमालका नाटकमा लैङ्गिक विषयवस्तु नै प्रमुख रूपमा प्रस्तुत गरिएको हुनाले नाटकमा प्रयुक्त नारी र पुरुष पात्रहरूको प्रतिनिधित्व र पहिचान, ती पात्रबिचको शक्तिसम्बन्ध र तिनै नारी र पुरुष पात्रले भोगेका उत्पीडन र प्रतिरोधी चेतनालाई मुख्य शोधसमस्याका रूपमा लिइएको छ । प्रस्तुत शोधको मुख्य प्राज्ञिक समस्यालाई निम्नलिखित प्रश्नात्मक बुँदाका आधारमा थप स्पष्ट पारिएको छ ः (क) गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक प्रतिनिधित्व र पहिचानको अवस्था केकस्तो रहेको छ ? (ख) गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक शक्तिसम्बन्ध कसरी कायम गरिएको छ ? (ग) गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोधको अभिव्यक्ति कसरी गरिएको छ ? ३. शोधको उद्देश्य समस्याकथनमा उल्लिखित शोधसमस्याहरूको प्राज्ञिक समाधान खोज्नु नै यस शोधकार्यको मुख्य उद्देश्य रहेको छ । यसर्थ उल्लिखित शोधसमस्याको समाधानार्थ यस शोधकार्यका उद्देश्यहरू निम्नानुसार रहेका छन् ः (क) गोपालप्रसाद रिमालका नाटकमा प्रस्तुत लैङ्गिक प्रतिनिधित्व र पहिचानको समीक्षा गर्नु, (ख) गोपालप्रसाद रिमालका नाटकमा प्रस्तुत लैङ्गिक शक्तिसम्बन्धको विवेचना गर्नु, (ग) गोपालप्रसाद रिमालका नाटकमा प्रस्तुत लैङ्गिक उत्पीडन र प्रतिरोधको विश्लेषण गर्नु । ४. अध्ययनको औचित्य र महत्व मसान र यो प्रेम † सामाजिक विषयवस्तुमा आधारित नाटक हो । समाज व्यवस्थाले नारी र पुरुषको शारीरिक भिन्नतालाई मूल आधार बनाई उनीहरूबिचको असमान पहिचान र शक्तिसम्बन्ध स्थापित गरेको कुरा नाटकको मूल विषयवस्तु हो । रिमालका दुवै नाटकमा समाजले स्थापित गरेको नारी र पुुरुषबिचको असमान भूमिका अभिव्यक्त भएको हुनाले प्रस्तुत शोध लैङ्गिकताका कोणबाट अध्ययन गर्नु यसको प्राज्ञिक औचित्य रहेको छ । प्रस्तुत पूर्वकार्यको समीक्षाले रिमालका नाटकमाथि नारीवादी दृष्टिकोण, पात्रका भूमिका, भाषिक संरचना, नाट्यतŒवका आधारमा मात्र रहेर अध्ययन अनुसन्धान भएको कुरा पुष्टि गरेको छ । साथै सोही पूर्वकार्यको अध्ययनबाट सांस्कृतिक अध्ययनभित्रको नवीन समालोचनात्मक सैद्धान्तिक अवधारणा लैङ्गिकताका कोणबाट अध्ययन अनुसन्धान नभएको कुरा स्पष्ट भएको छ । त्यसैले उल्लिखित नाटकमा अभिव्यक्त लैङ्गिक प्रतिनिधित्व र पहिचान, शक्तिसम्बन्ध, उत्पीडन र प्रतिरोधको चेतनाको अध्ययन गरिनु आवश्यक छ । प्रस्तुत शोध सोही आवश्यकता पूर्तिका निम्ति औचित्यपूर्ण रहेको छ । मसान र यो प्रेम † नाटकबारे अनुसन्धान गर्न चाहने उत्तवर्ती अनुसन्धाता र यसबारे जानकारी लिन चाहने जोकोहीका लागि यो शोध औचित्यपूर्ण रहेको छ । ५. अध्ययनको सीमाङ्कन गोपालप्रसाद रिमालका मसान र यो प्रेम गरी दुई पूर्णाङ्की नाट्यकृति र एक माया लघुनाटक प्रकाशित छन् । लघुनाटकलाई अध्ययनको विषयका रूपमा नलिई पूर्णाङ्की नाटकलाई मात्र अध्ययन अनुसन्धान गरिनु नै प्रस्तुत अध्ययनको सीमाङ्कन हो । मसान र यो प्रेम † नाटकमा लैङ्गिक चेतना सघन रूपमा प्रस्तुत भएको पाइन्छ । त्यसैले प्रस्तुत शोधमामसान र यो प्रेम † नाटकलाई विश्लेषणका लागि चयन गरिएको हो । लैङ्गिकताअन्तर्गत नारीवाद, पुरुषसत्ता, लैङ्गिक हिंसा, उत्पीडन, शोषण, अधीनस्थ, समलैङ्गिक, लैङ्गिक पहिचान, प्रतिरोध, शक्तिसम्बन्ध जस्ता विभिन्न विषयको अध्ययन गर्न सकिने भए तापनि उपर्युक्त नाटकमा लैङ्गिक प्रतिनिधित्व र पहिचान, लैङ्गिक शक्तिसम्बन्ध, लैङ्गिक उत्पीडन र प्रतिरोधको चेतनाको प्रवाह सबल देखिएकाले प्रस्तुत शोध यिनै सैद्धान्तिक आधारमा केन्द्रित रहेको छ । ६.शोधविधि गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिकता शीर्षकको प्रस्तुत शोधकार्य सम्पन्न गर्नका लागि प्रयोग गरिने सामग्री सङ्कलन विधि र विश्लेषण विधिलाई देहायबमोजिम फरक फरक शीर्षकमा उल्लेख गरिएको छ ः ६.१ सामग्री सङ्कलन विधि प्रस्तुत अध्ययनको मूल सामग्रीका रूपमा गोपालप्रसाद रिमालका मसान रयो प्रेम † नाटकलाई लिइएको छ । नाटक विश्लेषणका आधार निर्माणका लागि लैङ्गिकतासम्बन्धी सिद्धान्त भएका र समस्याकथनमा उठाइएका तीनओटा प्राज्ञिक जिज्ञासा समाधानका लागि रिमालका दुवै नाटकमाथि अध्ययन अनुसन्धान भएका कृति, शोध, पत्रपत्रिकालाई सहायक सामग्रीको रूपमा लिइएको छ । यी दुवै प्राथमिक र द्वितीयक सामग्री पुस्तकालयीय अध्ययन कार्यबाट सङ्कलन गरिएको छ । ६.२ विश्लेषण विधि प्रस्तुत शोधमा किटान गरिएका प्राज्ञिक समस्यासँग सम्बद्ध सामग्री विश्लेषणका लागि लैङ्गिकता सिद्धान्तलाई प्रमुख आधार बनाइएको छ । यसका लागि फ्रान्सेली दार्शनिक फुकोको शक्तिसम्बन्धी मान्यता, लुई आल्थुसरको विचारधारासम्बन्धी मान्यता र ग्राम्चीको प्रभुत्वसम्बन्धी मान्यतालाई मुख्य रूपमा उपयोग गरिएको छ । लैङ्गिक अध्ययनका सिद्धान्तका आधारमा नाटकमा प्रस्तुत लैङ्गिक प्रतिनिधित्व र पहिचान, लैङ्गिक शक्तिसम्बन्ध तथा लैङ्गिक उत्पीडन र प्रतिरोधको अध्ययन गरिएको छ । मसान र यो प्रेम ! नाटकको लैङ्गिक विश्लेषणमा आधारित प्रस्तुत शोध गुणात्मक अनुसन्धान पद्धतिमा आधारित रहेको छ । नाटक विश्लेषणका व्रmममा व्याख्यात्मक र विश्लेषणात्मक अध्ययन विधिको प्रयोग गरिएको छ । प्रस्तुत शोधमा शोधप्रश्नका रूपमा उठाइएका समस्याको समाधानार्थ निम्नलिखित ढाँचा तयार गरिएको छ ः शोधप्रश्न (१) मा उल्लिखित गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक प्रतिनिधित्व र पहिचानको अवस्था केकस्तो रहेको छ भन्ने प्रश्नसँग सम्बद्ध रही निम्नलिखित उपशीर्षक चयन गरी सामग्री विश्लेषण गरिएको छ ः (क) मसान नाटकमा लैङ्गिक प्रतिनिधित्व र पहिचान (ख) यो प्रेम † नाटकमा लैङ्गिक प्रतिनिधित्व र पहिचान शोधप्रश्न (२) मा उल्लिखित गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक शक्तिसम्बन्ध कसरी कायम गरिएको छ भन्ने प्रश्नसँग सम्बद्ध रही निम्नलिखित उपशीर्षक चयन गरी सामग्री विश्लेषण गरिएको छ ः (क) मसान नाटकमा नारी र पुरुषबिचको शक्तिसम्बन्ध (ख) यो प्रेम † नाटकमा नारी र पुरुषबिचको शक्तिसम्बन्ध (ग) मसान नाटकमा नारी र नारीबिचको शक्तिसम्बन्ध (घ) यो प्रेम † नाटकमा नारी र नारीबिचको शक्तिसम्बन्ध शोधप्रश्न (३) मा उल्लिखित गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोधको अभिव्यक्ति कसरी गरिएको छ भन्ने प्रश्नसँग सम्बद्ध रही निम्नलिखित उपशीर्षक चयन गरी सामग्री विश्लेषण गरिएको छ ः (क) मसान नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोध (ख) यो प्रेम † नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोध ७.शोधप्रबन्धको रूपरेखा उपर्युक्त परिच्छेदअन्तर्गतका मूल शीर्षकहरूलाई अध्ययनको सरलताका लागि आवश्यकतानुसार विभिन्न उपशीर्षकहरूमा पनि विभाजन गरिएको छ । प्रस्तुत शोधकार्यलाई सुसङ्गठित र व्यवस्थित गर्नका लागि निम्नलिखित पाँच परिच्छेदमा विभाजन गरिएको छ ः पहिलो परिच्छेद ः शोधपरिचय दोस्रो परिच्छेद ः गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक प्रतिनिधित्व र पहिचान तेस्रो परिच्छेद ः गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक शक्तिसम्बन्ध चौथो परिच्छेद ः गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोध पाँचौ परिच्छेद ः सारांश र निष्कर्ष सन्दर्भ सामग्रीसूची ८.सारांश तथा निष्कर्ष यस शोधमा सारांश तथा निष्कर्षलाई निम्नलिखित रूपमा छुट्टाछुट्टै प्रस्तुत गरिएको छ । ८.१ सारांश गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिकता शीर्षकको प्रस्तुत शोधमा जम्मा पाँचओटा परिच्छेद रहेका छन् । शोधपरिचय शीर्षकको पहिलो परिच्छेदमा शोधशीर्षकको परिचय प्रस्तुत गर्दै गोपालप्रसाद रिमालका नाटकमा अभिव्यक्त लैङ्गिकताको विश्लेषण गर्ने कार्यलाई शोधसमस्याका रूपमा लिइएको छ । यसका लागि विवेच्य नाटकमा रेहेको लैङ्गिक प्रतिनिधित्व र पहिचान, लैङ्गिक शक्तिसम्बन्ध र लैङ्गिक उत्पीडन तथा प्रतिरोधलाई मूल समस्या बनाई यी समस्याका समाधानका लागि तीनओटा उद्देश्य निर्धारण गरिएको छ । यस शोधमा शोधशीर्षकसँग सम्बन्धित पूर्वकार्यको विवरणसहित समीक्षा प्रस्तुत गरी शोधको औचित्य पुष्टि गरिएको छ । यहाँ शोधको सैद्धान्तिक र प्रायोगिक पक्षको सीमाङ्कन गरी शोधका लागि आवश्यक सामग्री सङ्कलन र विश्लेषण विधिको छनोट गरिएको छ । शोधप्रबन्ध कुन सङ्गठनमा रहने भनी शोधको रूपरेखा यसै परिच्छेदमा राखिएको छ । प्रस्तुत शोधको दोस्रो परिच्छेदमा गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक प्रतिनिधित्व र पहिचान शीर्षक दिइएको छ । यस परिच्छेदमामसान रयो प्रेम ! नाटकभित्र रहेका पात्रहरूको प्रतिनिधित्व र पहिचानलाई अध्ययन विश्लेषण गर्नका लागि आवश्यक सैद्धान्तिक आधार प्रस्तुत गरिएको छ । प्रस्तुत नाटकहरूमा नारी तथा पुरुष पात्रहरूको भूमिकाका आधारमा पितृसत्तात्मक सामाजिक संरचनाले पारेको प्रभावको अध्ययन गरी नाटकमा रहेका पात्रको प्रतिनिधित्व र पहिचानलाई अध्ययन विश्लेषण गरिएको छ । शोधको तेस्रो परिच्छेद गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक शक्तिसम्बन्ध प्रस्तुत गरिएको छ । यसमा शक्तिसम्बन्धसम्बन्धी सैद्धान्तिक स्वरूपको परिचय प्रस्तुत गरी रिमालका मसान र यो प्रेम ! नाटकलाई लैङ्गिक शक्तिसम्बन्धका आधारमा अध्ययन विश्लेषण गरिएको छ । यसमा फ्रान्सेली चिन्तक फुकोका शक्तिसम्बन्धी मान्यताका आधारमा नाटकको विश्लेषण गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनामा पुरुष नै शक्तिकेन्द्रमा रहेका छन् । शक्तिपरिधिमा रहेका नारीलाई पुरुषले उत्पीडन गर्दा उनीहरू प्रतिकारमा उत्रिएर आफ्नो शक्ति प्रदर्शन गरेका छन् । यिनै आधारहरू लिएर यस परिच्छेदमा नाटकमा रहेका नारी र पुरुष र नारी र नारीबिचको शक्तिसम्बन्ध प्रस्तुत गरिएको छ । शोधको चौथो परिच्छेदमा गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोध प्रस्तुत गरिएको छ । यसमा लैङ्गिक उत्पीडन र प्रतिरोधसम्बन्धी सैद्धान्तिक स्वरूपको परिचय प्रस्तुत गरी त्यसकै आधारमा रिमालका मसान र यो प्रेम ! नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोधको अध्ययन विश्लेषण गरिएको छ । तत्कालीन पितृसत्तात्मक समाजमा पुरुष र नारीले भोग्नु परेका मानसिक तथा शारीरिक पीडालाई प्रस्तुत गरिएको नाटकलाई आधार लिई पुरुषशक्ति र सत्ताका आडमा पुरुषद्वारा नारीमाथि गरिने शारीरिक तथा मानसिक उत्पीडनको विश्लेषण गरिएको छ । साथै पुरुषको उत्पीडनप्रति प्रतिकार गरी आफ्नो पहिचान खोज्ने नारीहरूको प्रतिरोधको अध्ययन विश्लेषण गरिएको छ । अन्तिम अर्थात् पाँचौँ परिच्छेदमा शोधको सारांश र निष्कर्ष प्रस्तुत गरिएको छ । ८.२ निष्कर्ष प्रस्तुत शोध गोपालप्रसाद रिमालका नाटकमा लैङगिकता शीर्षकमा केन्द्रित छ । यसको अध्ययनका लागि मसान र यो प्रेम दुई नाटकलाई लैङ्गिक प्रतिनिधित्व र पहिचान, शक्तिसम्बन्ध, उत्पीडन र प्रतिरोधसम्बन्धी सैद्धान्तिक अवधारणालाई आधार बनाइएको छ । शोधशीर्षकसँग सम्बद्ध समस्याकथनमा उठाइएका तीनओटा प्रश्नको विश्लेषण गर्ने व्रmममा प्राप्त निष्कर्ष निम्नलिखित बुँदामा प्रस्तुत गरिएको छ ः १.गोपालप्रसाद रिमालका नाटकमा प्रस्तुत लैङ्गिक प्रतिनिधित्व र पहिचान केकस्तो देखाएको छ भन्ने प्रश्न यस अध्ययनको पहिलो समस्याको रूपमा रहेको छ । रिमालका मसान र यो प्रेम ! नाटक लैङ्गिक कोणबाट सशक्त छन् । उनका नाटकमा विशेषतः पितृसत्तात्मक समाजले नारीलाई वस्तुकरण गरेको तथा किनारामा पारिएको पक्षलाई प्रस्तुत गरिएको छ । उनको मसान नाटकमा कृष्ण, हेलेन र दुलही प्रमुख पात्रका रूपमा उपस्थित छन् । कृष्णले हेलेनलाई यौन तृप्तिको साधन मात्र बनाएर नारीको स्थान किनारामा पारेको देखिन्छ । पुरुषमैत्री समाजले नारीलाई पनि पुरुषको अधीनमा हिँडाएको र नारीको पहिचान परिधिमा पारेको कुरा हेलेनले कृष्णलाई दोस्रो विवाह गराएको प्रसङ्गबाट पुष्टि भएको छ । मुख्य पात्रका रूपमा रहेका हेलेन र दुलहीको भूमिका नाटकमा फरक फरक रहेको छ । नारीलाई पुरुषले प्रयोग गरेको थाहा नपाउँदा दुलही मानसिक रूपमा पीडित बनी प्राण त्याग गर्न विवश बनेकी छ भने पुरुषको वास्तविक रूप देखेपछि प्रतिकार गरी आफ्नो पहिचानका लागि हेलेन उत्रिएकी छ । तथापि पितृसत्तात्मक सामाजिक संरचनाले नारीलाई किनारामा राखी पुरुषलाई केन्द्रमा राखेको कुरा घर छोड्न बाध्य भएकी हेलेनबाट स्पष्ट भएको छ । यो प्रेम ! नाटकमा पितृसत्तात्मक विचारधाराकै कारण प्रेमकोे बहानामा नारीअस्मितामाथि खेलबाड गर्ने र प्रेमको नाममा नारीमाथि फोस्रो आडम्बर देखाउने पुरुषप्रवृत्तिको विषयलाई प्रस्तुत गरिएको छ । गङ्गा, शशि, सानोबाबु र शेखर प्रमुख पात्रका रूपमा उपस्थित भएका नाटकमा पुरुषको भूमिकालाई केन्द्रमा राखी नारीको भूमिकालाई परिधिमा राखिएको छ । पे्रमको बहानामा नारीको अस्मितामाथि खेलबाड गर्न तयार रहने पुरुषलाई समाजले प्रमुख स्थान दिएको र नारीलाई किनारामा राखी पीडित बनाएको कुरा नाटकमा प्रस्तुत भएका पुरुष र नारी पात्रका भूमिकाले प्रस्ट पारेको देखिन्छ । यो प्रेम ! नाटकमा पनि मसान नाटकमा जस्तै अन्तिममा नारी पात्रले पुरुषका वास्तविक रूप थाहा पाएपछि प्रतिकार गरी आफ्नो पहिचान खोजेको देखिन्छ । रिमालका यी दुवै नाटकमा समाजमा नारीको प्रतिनिधित्व र पहिचान गौण पारिए तापनि उनीहरूको आफ्नै अस्तित्व रहेको र अस्तित्व प्राप्तिका लागि नारीहरू पुरुषमैत्री समाजसँग लड्न तयार रहेको विषय प्रस्तुत भएको छ । २.गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक शक्तिसम्बन्ध केकस्तो देखाइएको छ भन्ने प्रश्न प्रस्तुत अध्ययनको दोस्रो समस्याका रूपमा रहेको छ । रिमालकामसान रयो प्रेम ! नाटकमा सामाजिक भूमिकामा नारीभन्दा पुरुषको स्थान प्रभुत्वशाली रहेको विषय प्रस्तुत छ । मसान नाटकमा कृष्ण निर्णायक भूमिकामा रहेको छ भने हेलेन र दुलही विद्रोही स्वभावका देखिए पनि पीडित र शोषित पात्रको भूमिकामा रहेका छन् । त्यस्तै यो प्रेम ! नाटकमा शेखर र सानुबाबुले गङ्गा र शशिलाई मान्छेको रूपमा भन्दा बढी मनोरञ्जनका साधनका रूपमा लिएका कारण उब्जिएको समस्या र त्यस समस्याले निम्त्याएको सम्बन्धको विखण्डन प्रस्तुत छ । मसान रयो प्रेम ! नाटकमा प्रभुत्वशाली वर्गले कमजोर वर्गलाई समाजले निर्धारण गरेको शक्तिको आडमा अधीनस्थ बनाई शोषण गरेको सामाजिक यथार्थलाई प्रस्तुत गरिएको छ । दुवै नाटकमा पुरुषलाई शक्तिशाली देखाइए तापनि नारीको अधिकार पनि पुरुषसरह रहेको छ भन्ने निष्कर्ष प्रस्तुत छ । ३. गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोध केकस्तो देखाइएको छ भन्ने प्रश्न प्रस्तुत अध्ययनको तेस्रो समस्याका रूपमा रहेको छ । रिमालका मसान र यो प्रेम ! नाटकमा पितृसत्तात्मक सामाजिक संरचनाका कारण पुरुषले नारीलाई भोग्या र कमजोर ठानेर अस्तित्वहीन जीवन बाँच्न विवश बनाएको विषय प्रस्तुत गरिएको छ । मसान नाटकमा कृष्णले हेलेनको मातृत्व अधिकार खोसी यौन शोषण गरेको छ र दुलहीलाई सन्तान जन्माउनका लागि प्रयोग गरेको छ । दुवै नारीलाई उत्पीडन गर्ने कृष्णमाथि हेलेनले प्रतिरोध गरेकी छ भने दुलहीले पनि आफ्नो शरीरलार्ई वस्तुकरण गरिएको अवस्थाप्रति प्रतिरोध गरेकी छ । यो प्रेम ! नाटकमा आºनी श्रीमती हुँदाहुँदै पुरुषले अन्य नारीलाई वासनात्मक प्रेम गरी नारीको अस्तित्वमाथि खेलबाड गरेको विषय प्रस्तुत छ । गङ्गा, शशिले शेखर र सानोबाबुको वास्तविक रूप थाहा पाएपछि जङ्गली प्रेम भनी प्रतिरोध गरेका छन् । तथापि दुवै नाटकमा तत्कालीन पुरुष प्रधान समाजमा पुरुषद्वारा नारी उत्पीडनको सिकार बने तापनि र त्यसका विरुद्ध प्रतिरोध गरी नारीले पनि अस्तित्वको खोजी गर्न सक्छन् भन्ने निष्कर्ष प्रस्तुत छ । समग्रमा गोपालप्रसाद रिमालका नाटकको अध्ययन गर्दा उनका मसान र यो प्रेम ! नाटकमा लैङ्गिक रूपमा किनारीकृत बनाइएका नारी समुदायको प्रतिनिधित्व र पहिचान सशक्त रूपमा प्रस्तुत भएको देखिन्छ । उनका नाटकमा पुरुषमैत्री र उत्पीडनकारी सामाजिक संरचनाका आडमा पुरुषले विभिन्न बहानामा नारीलाई अन्याय तथा अत्याचार गरी लैङ्गिक रूपमा परिधिका पारेका छन् । पितृसत्तात्मक समाजका पुरुष मानसिकताबाट सञ्चालित नारीबाट नारी नै लैङ्गिक हिंसामा परेका देखिन्छन् । ती अस्तित्वहीन बनाइएका नारी आफ्नो अस्तित्व र पहिचान निर्माणका लागि पुरुषमैत्री व्यवस्था विरुद्ध उत्रिएका छन् । पितृसत्तात्मक संरचनाका आडमा सुरुमा पुरुषले नारीमाथि हिंसा गरी उनीहरूको प्रतिनिधित्व र पहिचान मेटाउन प्रयास गरे तापनि अन्तमा नाटकमा निहित नारी पात्रको मुख्य भूमिकामा उपस्थित पात्रहरूले आफूमाथिको हिंसा विरुद्ध प्रतिकार गर्न सफल भएकाले नारीको प्रतिनिधित्व र पहिचान शक्तिशाली बन्न पुगेको छ । यो नै रिमालका नाटकको मुख्य उपलब्धि मान्न सकिन्छ । रिमालले दुवै नाटकमा लैङ्गिक प्रतिनिधित्व, पहिचान, शक्तिसम्बन्ध, उत्पीडन र प्रतिरोध सन्दर्भलाई प्राथमिकता दिएर लैङ्गिक रूपमा परिधिमा रहेका नारी समुदायको आवाजलाई शक्तिशाली रूपमा प्रस्तुत गरेको देखिन्छ । यसरी पितृसत्तात्मक समाजका पुरुष र पुरुषमैत्री मानसिकताबाट ग्रसित नारीका कारण नारीमाथि गरिएका लैङ्गिक उत्पीडन तथा विभेदहरूको चित्रण गर्दै ती समस्याको समाधानार्थ लैङ्गिक समतामूलक समाज निर्माणमा नारी र पुरुष दुवै जुट्नुपर्छ भन्ने सचेत विचार रिमालका नाटकमा सघन रूपमा प्रस्तुत छ । गोपालप्रसाद रिमाल आफ्ना नाटकमा लैङ्गिक समस्यालाई मुख्य विषय बनाई त्यस समस्यालाई समाधान गर्न उन्मुख रहेका देखिन्छन् । उनका नाटकले नेपाली समाजको तत्कालीन समयमा व्याप्त लैङ्गिक विभेदपूर्ण सामाजिक संरचना र संस्कृतिलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन् । त्यस व्रmममा विभेदपूर्ण सामाजिक व्यवस्थाको परिवर्तनका लागि नारीको भूमिका महŒवपूर्ण हुन्छ भनी देखाउन उनले सक्षम नारी पात्रको सही प्रयोग गर्ने नाट्यकुशलता देखाएको कुरा यस अध्ययनबाट स्पष्ट भएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/27115
dc.language.isone
dc.subjectनेपाली साहित्य
dc.subjectनाटकमा लैङ्गिकता
dc.titleगोपालप्रसाद रिमालका नाटकमा लैङ्गिकता
dc.typeThesis
local.academic.levelM.Phil.
local.institute.titleCentral Department of Nepali

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
691.44 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections