व्यावहारिक लेखन शिक्षणमा नेपाली भाषा शिक्षकका शिक्षण कौशल
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
प्रस्तुत शोधपत्र व्यावहारिक लेखन शिक्षणमा नेपाली भाषा शिक्षकका शिक्षण कौशल शीर्षकमा आधारित रही तयार पारिएको छ । व्यावहारिक लेखन शिक्षणमा नेपाली भाषा शिक्षकका शिक्षण कौशल र विद्यालयअन्तर्गत माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूका लेखन कौशलको अध्ययन तथा विश्लेषण गर्ने अभिप्रायले यस शोधपत्रका उद्देश्य व्यावहारिक लेखन शिक्षणका शिक्षण कौशलको अवस्था पहिल्याउनु, व्यावहारिक लेखन शिक्षणका विशिष्ट कौशलको विश्लेषण गर्नु, व्यावहारिक लेखन शिक्षणका विशिष्ट कौशलको प्रभाव निरूपण गर्नु र व्यावहारिक लेखन शिक्षणका सामान्य र विशिष्ट कौशलको तुलनात्मक विश्लेषण गर्नु रहेका छन् । नेपालमा नेपाली भाषा शिक्षण चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा नेपाली भाषा शिक्षकका शिक्षण कौशलको विकास, विस्तार तथा विद्यार्थीमा लेखन कौशलको विकास के कसरी गर्न सकिन्छ र व्यावहारिक लेखन शिक्षणमा कसरी सुधार ल्याउन सकिन्छ भत्रेतर्फ प्रस्तुत अध्ययन केन्द्रित रहेको छ ।
गुणात्मक अनुसन्धान ढाँचामा आधारित प्रस्तुत अध्ययनमा कैलाली जिल्लाका टीकापुर नगरपालिकाभित्रका १, २, र ३ तथा जानकी गाउँपालिकाभित्रका ३ र ६ वडामा रहेका सामुदायिक र संस्थागत गरी छओटा विद्यालयमा माध्यमिक तहमा अध्यापन गर्ने नेपाली भाषा शिक्षक र अध्ययन गर्ने विद्यार्थीहरूलाई सहभागीका रूपमा लिइएको छ । छओटा विद्यालयमध्ये तीनओटा सामुदायिक र तिनओटा संस्थागत विद्यालयका नेपाली भाषा शिक्षण गर्ने नेपाली भाषा शिक्षक र अध्ययनरत विद्यार्थीहरूलाई प्रस्तुत अध्ययनमा नमुनाका रूपमा लिइएको छ । अनुसन्धानमा तथ्य तथा सूचना सङ्कलन गर्नका लागि व्यावहारिक लेखनसँग सम्बन्धित विषयवस्तु प्रस्तुत गर्न बन्द प्रश्नावली निर्माणका साथै शिक्षकको कक्षा अवलोकन गरिएको छ । नमुना छनोटमा परेका शिक्षक तथा विद्यार्थीलाई उक्त प्रश्नावलीमा आवश्यक सूचना लेख्न र शिक्षकलाई व्यावहारिक लेखनसम्बन्धी पाठ अध्यापन गर्न लगाई विषयगत रूपमा सूचनाको सङ्कलन गरिएको छ । यसरी सङ्कलन गरिएका सूचनालाई सार विश्लेषण र व्याख्यात्मक विधि (Thematic analysis methods) द्वारा विश्लेषण गरिएको छ ।
अनुसन्धानको मुख्य प्राप्तिका रूपमा नेपाली भाषा शिक्षकका शिक्षण कौशलको विकासमा व्यावहारिक लेखन शिक्षणले महत्वपूर्ण भूमिका खेलेको पाइएको छ । यसलाई अझ व्यावसायिक र उत्पादनमूलक तरिकाले शिक्षण गरे मानिसका दैनिक तथा व्यावहारिक जीवनका विविध समस्या सजिलै समाधान गर्न सकिने भत्रे विषयमा सबै सूचकका विचारमा एकरूपकता रहेको पाइएको छ । माध्यमिक तहको वर्तमान भाषा पाठ्यक्रममा समाविष्ट पाठहरू व्यावहारिक लेखन कार्यकलापतर्फ उन्मुख भएका छैनन् तर जति समावेश भएका छन् तिनले विशिष्ट लेखन कौशलको विकासमा जोड दिएको देखिन्छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तालिम प्राप्त भएकाले उनीहरूको शिक्षण कौशलका साथै पेसागत विकास संस्थागत विद्यालयका शिक्षकको भन्दा राम्रो रहेको छ । व्यावहारिक लेखन शिक्षणका शैक्षणिक विधि तथा प्रक्रियाका सम्बन्धमा सामुदायिक विद्यालयका शिक्षकभन्दा संस्थागत विद्यालयका शिक्षकमा शिक्षण विधिसम्बन्धी अस्पष्टता र शैक्षणिक ज्ञान कम भएकाले कक्षाकोठामा हुने शिक्षण सिकाइ कार्यकलापका साथै विद्यार्थीमा लेखन कौशलको विकास गर्न प्रभाव परेको देखिन्छ ।
व्यावहारिक लेखन प्रकृतिका सम्बन्धमा सूचकमा वैचारिक समानता देखिए पनि पारिभाषिक दृष्टिकोण भने फरक रहेको देखिएको छ । छनोटमा परेका छजना नेपाली भाषा शिक्षकमध्ये चारजना शिक्षकका व्यावहारिक लेखनका प्रकृति सम्बन्धमा स्पष्ट दृष्टिकोण रहेको छ भने दुईजना शिक्षकमा स्पष्टता नभएको देखिएको छ । त्यस्तै बाह्रजना विद्यार्थीमध्ये सातजना विद्यार्थीले आफ्नो लेखन कौशलको विकासमा सामान्य लेखनले र चारजना विद्यार्थीले विशिष्ट लेखन कौशलले र एकजना विद्यार्थीले सामान्य र विशिष्ट नभई अनुलेखन र निबन्ध लेखनले लेखाइ सिपको विकासमा महत्वपूर्ण सहयोग पुर्याउने गरेको विचार व्यक्त गरेका छन् । सामान्य लेखनभित्र दैनिक व्यावहार सञ्चालनमा सहयोग पुर्याउने चिठी, दैनिकी, निवेदन, विज्ञापन आदि लेखन र विशिष्ट लेखनमा मानिसका दैनिक जीवनका खास पक्ष चिठी, निवेदन, विज्ञापन, निमन्त्रणा, तमसुक, माइन्युट, जाहेरीपत्र, प्रतिवेदन लेखन आदिबारे साझा दृष्टिकोण रहेको पाइएको छ ।
विद्यालयको प्रकृतिका आधारमा व्यावहारिक लेखन शिक्षणमा शिक्षण कौशलसम्बन्धी सामुदायिक र संस्थागत विद्यालयका शिक्षकमा मिश्रित प्रतिक्रिया रहेको छ । सामुदायिक विद्यालयका दुईजना र संस्थागत विद्यालयका एकजना शिक्षकले सामान्य लेखन कौशल र सामुदायिक विद्यालयका एकजना र संस्थागत विद्यालयका दुईजना शिक्षकले विशिष्ट लेखन कौशलको महत्व शिक्षण सिकाइमा बढी रहेको विचार प्रस्तुत गरेका छन् । त्यस्तै सहभागीको प्रकृतिका आधारमा तिनजना शिक्षकले सामान्य लेखन कौशल र तिनजना शिक्षकले विशिष्ट लेखन कौशलले सहयोग पुर्याएको बताएका छन् । त्यस्तै सातजना विद्यार्थीले सामान्य लेखन कौशल र पाँचजना विद्यार्थीले विशिष्ट लेखन कौशल र एकजना विद्यार्थी सामान्य र विशिष्ट नभई अनुलेखन र निबन्ध लेखनले लेखन कौशलको विकास गर्ने गरेको बताएका छन् । व्यावहारिक लेखन शिक्षणमा नेपाली भाषा शिक्षकका शिक्षणीय कौशलको विकास स्तरीय रूपमा भए कक्षा शिक्षण प्रभावकारी हुनुका साथै शिक्षकमा शिक्षण कौशल सिप र विद्यार्थीमा लेखन कौशल सिपको विकास व्यावहारिक रूपले भएको मात्र सकिन्छ ।