विधाेदय उ. मा. वि. भाेजपुर स्राेतकेन्द्रका शिक्षाकहरुमा उत्प्रेरणा { Bidhodaya u. ma. vi. Bhojpur srotkendraka sikshakharuma utprerana}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
यो अध्ययन विद्योदय उ.मा.वि.भोजपुर स्रोतकेन्द्रका शिक्षकहरुमा उत्प्रेरणा शीर्षकमा गरिएको छ । यस अध्ययनका मुख्य उद्देश्यहरु शिक्षकहरुमा उत्प्रेरणाको तह लेखाजोखा गर्नु, शिक्षक उत्प्रेरणामा प्रभाव पार्ने तत्वहरुको खोजी गर्नु र .शिक्षकहरुको उत्प्रेरणामा सुधार गर्ने उपायहरु पत्ता लगाउनु हो ।
यो अध्ययनमा परिमाणात्मक र गुणात्मक दुवै विधिको प्रयोग गरिएको छ । उद्देश्यमूलक नमूना छनौट विधिको प्रयोग गरी भोजपुर जिल्ला र विद्योदय उ.मा.वि.स्रोतकेन्द्र छनौट गरिएको थियो । विद्योदय उ.मा.वि.भोजपुर स्रोतकेन्द्र अन्तरगतका चारवटा गा.वि.स.मा रहेका ३३ वटा सामुदायिक विद्यालयहरु मध्ये भोजपुर र टक्सार गा.वि.स.अन्तरगतका विद्यालयहरुलाई शहरी क्षेत्र र वोखिम र भैंसिपंखा गा.वि.स. अन्तरगतका विद्यालयहरुलाई ग्रामिण क्षेत्रमा विभाजन गरी असमानुपातिक स्तरीकृत नमूना छनौट विधिबाट ५।५ वटा गरी जम्मा १० वटा विद्यालयहरुको छनौट गरिएको थियो । त्यसैगरी विद्योदय स्रोतकेन्द्रमा रहेका १७० जना शिक्षकहरुलाई स्थायी र अस्थायी, प्राथमिक र माध्यमिक, महिला र पुरुष, तालिम प्राप्त र अप्राप्त, शहरी र ग्रामीण उपक्षेत्रमा विभाजन गरी असमानुपातिक स्तरीकृत नमूना छनौट विधिको प्रयोग गरी ५० जना शिक्षकहरु छनौट गरिएको थियो । प्रश्नावली, लक्षित समूह छलफल तथा अवलोकनको प्रयोग गरी प्राथमिक स्रोतका सूचना संकलन गरिएको छ भने दस्तावेजको अध्ययनबाट द्वितीय स्रोतका सूचना संकलन गरिएको थियो । तथ्याङ्क विश्लेषण प्रक्रियालाई सान्दर्भिक र अर्थपूर्ण बनाउन तालिकीकरण, चित्र, ग्राफ चार्ट, प्रतिशत औसत लगायतका तथ्याङ्क शास्त्रीय विधिको प्रयोग गरी तथ्याङ्कको विश्लेषण गरिएको छ ।
समग्र शिक्षकहरुको उत्प्रेरणाको तह मध्यम स्तरमा रहेको देखिन्छ अर्थात शिक्षकरु आफ्नो पेशाप्रति आफैं नत अनुत्प्रेरित छन् नत उत्प्रेरित नै छन् । शिक्षकहरुका पृष्ठभूमि विशेषताका आधारमा ग्रामिण, पुरुष, अस्थायी, तालिम अप्राप्त, माध्यमिक शिक्षकको तुलनामा शहरी, महिला, स्थायी, तालिम प्राप्त, र प्राथमिक शिक्षकहरुमा उत्प्रेरणाको तह बढी देखिन्छ । प्रश्नावलीमा समावेश गरिएका आठवटा उत्प्रेरणाका तत्वहरु विश्लेषण गर्दा पेशागत विकास सम्बन्धी तत्वमा उत्प्रेरणाको तह सबैभन्दा बढी देखिन्छ । त्यस्तै सबैभन्दा न्यून तहमा कार्यसम्पादन मूल्यांकन प्रणालीलाई लिएको पाइयो । दोस्रो उच्च तहमा व्यक्तिगत प्रवृति र दोस्रो न्यून तहमा तलब र सुविधालाई लिएको देखिन्छ अन्य उत्प्रेरणाका तत्वहरुमा शिक्षकहरुको उत्प्रेरणा तह मध्यम तहमा रहेको पाइयो ।
विभिन्न माग र आवश्यकता भएका शिक्षकहरुलाई एउटै विधिबाट शिक्षण पेशामा उत्प्रेरित गर्न सकिदैन । समग्रतामा उत्प्रेरणामा प्रभाव पार्ने तत्वहरुमा कार्यसम्पादनमा आधारित पुरस्कार दण्डलार्ई पहिलो र स्रोत साधन सम्पन्न कक्षाकोठा र विद्यालयलाई दोस्रो प्राथमिकतामा राखेको पाइयो ।अस्थायी शिक्षकले सेवाको सुरक्षालाई पहिलो प्राथमिकतामा राखे भने स्थायी शिक्षकले कार्यसम्पादनमा आधारित दण्ड र पुरस्कारलाई पहिलो प्राथमिकतामा राखेको पाइयो ।
कार्यसम्पादन मूल्यांकनको आधारमा दण्ड र पुरस्कारको व्यवस्थाको प्रभावकारी कार्यान्वयन, विद्यालय तथा कक्षाकोठामा आवश्यक स्रोत साधनको व्यवस्था, न्यूनतम आवश्यकता परिपूर्ति हुने खालको तलब भत्ता र अन्य आर्थिक सुविधाको व्यवस्था र पेशागत विकास तथा निरन्तर पृष्ठपोषण र सहायता प्रणालीको कार्यान्वयनबाट शिक्षक उत्प्रेरणामा सुधार गर्न सकिन्छ ।
