भक्तपुरका जगन्नाथ मन्दिरहरूको सांस्कृतिक अध्ययन

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

वैष्णव सम्प्रदायमा अवतारवादको सिद्धन्त छ । उक्त सिद्धान्तमा विष्णुका विभिन्न अवतारहरू रहेको उल्लेख पाइन्छ । विष्णुका अवतारले आ–आफ्नै उद्देश्य र धार्मिक महत्व बोकेका छन । उक्त अवतारहरूमध्ये भगवान कृष्णको अवतार विशेष रूपमा महत्वपूर्ण मानिन्छ । सामान्यतः विष्णु तथा उनका अवतारहरूलाई मानव समाजले विभिन्न अवसरमा पूजा–आराधना गर्दै आएका छन । देवोपासनाका निम्ति विभिन्न स्थानमा उक्त देवताका मन्दिरहरू निर्माण गरिएको हो । तिनै स्वरूपहरूमध्ये, भगवान कृष्णको परिवारसहितको मूर्ति समूहका रूपमा जगन्नाथ मन्दिर एक विशिष्ट उदाहरण मानिन्छ । बलराम, सुभद्रा, र कृष्ण (जगन्नाथ) जगन्नाथ मन्दिरका प्रमुख देवीदेवता हन । जगन्नाथ परम्परा विशेषतः पौराणिक पूजा पद्धतिमा आधारित छ । जसको उदभव र विकास १२ औँ शताब्दीको मध्यतिर भारतको उडिसा राज्यस्थित पुरी क्षेत्रमा भएको हो । चोडगंगदेवले स्थापना गराएको पुरीको जगन्नाथ मन्दिरमा काठका चारवटा मूर्तिहरू बलराम, सुभद्रा, जगन्नाथ (कृष्ण), र सुदर्शन चक्र पूजा गरिन्छ । यस सम्प्रदायमा नवकलेवर संस्कार नामक अनुष्ठानअन्तर्गत नियमित समय अन्तरालमा पुराना काठका मूर्तिहरूलाई विधिपूर्वक जमिनमुनि दहन गरी नयाँ मूर्तिहरू निर्माण गरी उक्त मूर्तिहरूलाई मन्दिरको गर्भगृह स्थित रत्नवेदीमा प्रतिस्थापन गरिन्छ । यस प्रक्रियामा पुराना मूर्तिबाट ब्रह्मपदार्थ निकालेर नयाँ मूर्तिमा प्रतिष्ठित गर्दछन । यो ब्रह्मपदार्थलाई नै भगवान जगन्नाथको जीव वा कृष्णको मुटुको रूपमा लिइन्छ । त्यो जगन्नाथ ‘जीवित देवता’ हुन भन्ने मान्यताको प्रतिक हो । मन्दिरमा दैनिक पूजापाठसँगै हरेक वर्ष विभिन्न महत्वपूर्ण पर्व तथा जात्राहरू पनि भव्य रूपमा सम्पन्न गरिन्छन । महास्नान, अनासर÷अनावसर संस्कार, रथयात्रा आदि जगन्नाथ परम्पराका प्रमुख धार्मिक अनुष्ठानहरू हुन । यस्ता परम्पराहरू भारतको पुरी क्षेत्रबाट प्रचार–प्रसार हुँदै अन्य स्थानहरूमा फैलिएको हो । सोही क्रममा १६ औँ शताब्दीको मध्य तिर नेपालमा पनि जगन्नाथ सम्प्रदायको प्रसार भएको देखिन्छ । जसले यहाँका सांस्कृतिक तथा धार्मिक अभ्यासहरूमा विशेष प्रभाव पारेको पाइन्छ । भक्तपुर नेपालमा जगन्नाथ सम्प्रदायको केन्द्र हो । नेपालको सर्व प्राचीन जगन्नाथ मन्दिर भक्तपुरमा पाइन्छ । भक्तपुरबाट नै नेपालका अन्य क्षेत्रमा प्रसार र स्थापना भएका हुन । त्यसैले भक्तपुरलाई जगनाथ सम्प्रदायको केन्द्रको रूपमा मानिएको हो । भक्तपुरको तुलाछेँ टोलको जगन्नाथ मन्दिर जगन्नाथ सम्प्रदायको सर्व प्राचीन मन्दिर मानिन्छ । जगनाथ सम्प्रदायको हालसम्म पाइएको सर्व प्राचीन हस्तलिखित स्रोत अनुसार नेपाल सम्वत ६६३ मा प्राणमल्लको समयमा यस मन्दिरको स्थापना गरिएको थियो । यसबाहेक पनि भक्तपुर दरबार क्षेत्रको जगन्नाथ मन्दिर राजा यक्षमल्लले निर्माण गर्न लगाएको विद्वानहरूको मत रहेको छ । यो मन्दिरको पेटीमा रहेको नेपाल संवत ३४७ को अभिलेखमा भगवान विष्णुलाई विशेष संस्कार गरिएको विवरण उल्लेख छ । यो अभिलेख जगन्नाथ मन्दिरसँग सम्बन्धित हो भन्ने स्वीकार गर्दा भक्तपुर दरबार क्षेत्रको उक्त देवल नै जगन्नाथ सम्प्रदायको सव प्राचीन मन्दिर हो । एउटा महत्वपूर्ण तथ्य के छ भने यस अभिलेखको समयावधिमा पूरी क्षेत्रमा रहेको जगन्नाथ मन्दिरलाई पनि जगन्नाथ भनेर सम्बोधन गरिएको पाइँदैन । १४ औँ शताब्दीमा मात्र पुरी क्षेत्रको उक्त मन्दिरलाई जगन्नाथ भनी सम्बोधन गरिएको उल्लेख छ । तसर्थ भक्तपुर दरबार क्षेत्रको जगन्नाथ मन्दिर पनि ऐतिहासिक रूपले महत्वपूर्ण जगन्नाथ मन्दिर हो । यसका साथै भक्तपुरको तःमारी क्षेत्रमा जगन्नाथको अर्को मन्दिर रहेको छ । यो मन्दिर पुननिमाणको क्रममा जगको उत्खनन गर्दा सुन र चादीका स–साना पाटाहरूमा कछुवा कलश र मुद्रा फेला परेका थिए । ती पुरातात्विक अवशेषहरूको आधारमा उक्त मन्दिर मध्यकालीन हो भन्न सकिन्छ । तर यस मन्दिरको निश्चित समयावधि यकिन गर्न सकिने कुनै अभिलेख भन्ने प्राप्त भएको छैन । साथै धेरै अगाडि यस मन्दिरको मूर्ति पनि चोरी भयो । त्यसो हुनाले यस मन्दिरको ऐतिहासिकता अध्ययन गर्न कठिन छ । यद्यपि कला, वास्तुकला, काष्ठकला इत्यादिको अध्ययनबाट यो मन्दिर पनि भक्तपुरको जगन्नाथ सम्प्रदायको एक महत्वपूर्ण मन्दिर हो भन्ने तथ्य बुझ्न सकिन्छ । जगन्नाथ सम्प्रदायअन्तर्गत भक्तपुरमा रहेको प्रमुख जगन्नाथ मन्दिरहरू यही तीन ओटा हुन । जगन्नाथ सम्प्रदाय तथा जगन्नाथ पूजा परम्परालाई भक्तपुरका नेवार समुदायहरूले आत्मसाथ गर्दै मन्दिरमा पूजा गर्ने बाहेक घरमा पनि देवल स्थापना गरी जगन्नाथ प्रति आस्था प्रकट गरेको देखिन्छ । बोलाछेँ टोलको एक घरमा रहेको जगन्नाथ मन्दिरको स्थापनाले यो सन्दर्भलाई पुष्टि गरेको छ । भक्तपुरको खोह्रेँ (हनुमानघाट) स्थित सानो जगन्नाथ मन्दिरले पनि भक्तपुरमा जगन्नाथ सम्प्रदायले विशेष महत्व पाएको बुझ्न सकिन्छ । जगन्नाथ सम्प्रदायसँग सम्बन्धित यी कला–वास्तुकला बाहेक दत्तात्रय स्थित राष्ट्रिय काष्ठकला सङ्ग्रहालयमा पनि काठमाडौँको मखनको जगन्नाथ मन्दिरबाट ल्याइएका बलराम, सुभद्रा र जगन्नाथका काष्ठ मूर्तिहरू रहेका छन । यी मूर्तिहरू जगन्नाथ सम्प्रदायमा कलेवर परिवर्तनको उदाहरणको रूपमा लिन सकिन्छ । किनकि काठमाडौँको मखनमा रहेको जगन्नाथ मन्दिरमा मूर्तिहरू पुरानो र जीर्ण भएका कारण उक्त पुरानो मूर्ति भक्तपुरको राष्ट्रिय काष्ठकला सङ्ग्रहालयलाई बुझाई मखनको जगन्नाथ मन्दिरमा नयाँ काष्ठ मूर्तिहरू स्थापना गरिएको थियो । तसर्थ जगन्नाथ सम्प्रदाय नेपालमा प्रसार भएपछि मध्यकालमा उक्त सम्प्रदायलाई राजकीय धर्मको रूपमा समेत स्थान दिई समाजमा विशिष्ट धर्म सम्प्रदायको रूपमा मानिसहरूले मानेको पाइन्छ । भक्तपुरको जगन्नाथ मन्दिरमा तान्त्रिक पक्षलाई पनि विशेष महत्व दिएको पाइन्छ । पुरी क्षेत्रको जगन्नाथ मन्दिरमा जस्तै यहाँका जगन्नाथ मन्दिरहरूमा पनि पूजा अर्चना गरिन्छ । तर यहाँका पूजा विधि भने स्थानीय परिवेशको आधारमासम्पन्न गरिने भएकाले केहि फरक खालको परम्परा पनि रहिआएको छ । तुलाछेँ टोलको जगन्नाथ मन्दिरलाई वैदिक र पौराणिक पूजाविधि बाहेक पनि तान्त्रिक देवदेवीको रूपमा पूजाआजा गर्ने गर्दछन । अप्रत्यक्ष रूपमा बलिसमेत दिने परम्परा वर्तमान समयसम्म पनि छ । वर्षभरिका पूर्णिमाका दिनलाई जगन्नाथ मन्दिरमा विशेष पूजा गर्ने दिनको रूपमा लिइन्छ । यस दिन भक्तपुरका निश्चित समुदायहरूको सक्रिय सहभागितामा विशेष पूजा विधिहरू सम्पन्न गरिन्छन । यी बाहेक जेष्ठ शुक्ल पूर्णिमाको दिन स्नान गरिने, जुन महास्नान र पूजाविधिको प्रकृतिमा तान्त्रिक क्रियाकलाप विशेष रहेको देख्न सकिन्छ । यस क्रममा होम यज्ञ गरी मूर्तिको प्राणलाई तानेर तीन ओटा छुट्टाछुट्टै कलशमा स्थापना गरिने परम्परा रहेको छ । त्यसपछि जगन्नाथ मन्दिरमा आई मूर्तिको अनासर संस्कार भक्तपुरका छुट्टाछुट्टै थर भएका समुदायले सम्पन्न गर्दछन । यस अनासर संस्कार अन्तर्गत भक्तपुरका हाडा–बिजुक्छेँ समुदायले बलरामको मूर्तिमा, सायचीनिया समुदायका परिवारले सुभद्राको मूर्तिमा र खिंबाजा÷ खिम्बन्जार समुदायका परिवारले जगन्नाथको मूर्तिमा रङ्ग लेपन गर्ने परम्परा रहेको छ । यस अनासर संस्कार जेष्ठ शुक्ल पूर्णिमादेखि १५ दिनभित्र सम्पन्न गरिन्छ । अनासर संस्कार सम्पन्न गरिए पछि असार शुक्ल द्वितीयको दिन जगन्नाथको रथयात्रा सञ्चालन गरी सम्पन्न गर्दछन । भक्तपुरमा परम्परागत जगन्नाथ रथयात्रा लोप भएको लगभग एक शताब्दी भइसकेको छ । यी बाहेक पनि जगन्नाथ सम्प्रदायका परम्परागत कतिपय संस्कार, जात्रा, पर्व इत्यादि लोप भइसकेका छन । केही मात्रामा मात्र जगन्नाथ परम्पराका संस्कारहरू औपचारिकतामा चलिआएका छन । भक्तपुरमा मनाइने जगनाथ सम्प्रदायसँग सम्बन्धित पूजाविधि संस्कार तथा जात्रामा पुरी क्षेत्रको जगन्नाथ मन्दिरको संस्कारहरूको केही अंश तथा प्रभावहरू देखिए पनि अधिकतम संस्कार तथा पूजा विधिहरू भने यहाँका मौलिक विशेषता हुन । यस क्रममा मन्दिरको वास्तु निर्माण विधि, मूर्ति निर्माण विधि, संस्कार इत्यादिमा परिवर्तन पाइन्छ । यस प्रकारका जगन्नाथका परम्परागत पूजा विधि जात्रा संस्कार हाल लोप हुने अवस्थामा देखिन्छ । मध्यकालमा विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाहरूलाई सामाजिक तथा राजकीय स्तरमा विशेष महत्व र उच्च स्थान दिने परम्परा मल्ल राज्यको पतन पश्चात यस कार्यमा कमी आएका कारण जगनाथ सम्प्रदायका मूर्त तथा अमूर्त सम्प्रदाय लोप हुन गएको देखिन्छ । जगन्नाथ मन्दिरमा गरिनुपर्ने धार्मिक तथा तान्त्रिक अनुष्ठानहरूमा भक्तपुरका समुदायहरूको सहभागितामा कमी, राज्य स्तरबाट गरिनुपर्ने सहयोगहरूमा उदासीनता, धार्मिक सम्प्रदायहरूको प्रतिस्पर्धात्मक उपस्थिति, सरसफाइमा कमी जस्ता कारणले जगन्नाथ सम्प्रदायमा विकृत देखिन थालेको र लोप हुने अवस्थामा पुगेको देखिन्छ । जगन्नाथ सम्प्रदायसँग सम्बन्धित यस शोध अध्ययन नेपालमा जगनाथ सम्प्रदाय को विकासक्रम, मन्दिरसँग सम्बन्धित मूर्त तथा अमूर्त विषयवस्तुको खोज र परिवर्तित र लोप हुन लागेका संस्कारहरूको अन्वेषण् गर्दैै भक्तपुरमा जगन्नाथ सम्प्रदायसँग सम्बन्धित ज्ञानको खोजी गर्ने प्रयास यस शोध अध्ययनको रहेको छ । यस अध्ययनमा प्रसारवाद अनुसन्धान खाकालाई प्रमुख अनुसन्धान दर्शनको रूपमा र उद विकासवादलाई सहायक अनुसन्धान दर्शनको रूपमा प्रयोग गरी जगन्नाथ मन्दिरसँग सम्बन्धित मूर्त र अमूर्त परम्परागत संस्कृति र संस्कारहरूको खोज गरी प्राप्त तथ्यहरू प्रकाशमा ल्याइएको छ । यस अध्ययन गुणात्मक अध्ययन विधिको प्रयोग गरिएको छ भने प्राप्त तथ्याङ्क तथा विवरणहरूलाई वर्णनात्मक अनुसन्धान ढाँचामा प्रस्तुत गरिएको छ । यस अध्ययनको लागि आवश्यक तथ्याङ्क सङ्कलन गर्न स्रोतको रूपमा प्राथमिक स्रोत र द्वितीयक स्रोतको प्रयोग गरिएको छ । यो शोध भक्तपुरमा जगन्नाथ मन्दिर र सम्बन्धित संस्कारहरूको विगत र वर्तमानको अवस्थाहरूको तथ्यहरू सङ्कलन तथा विश्लेषण गरिएको हो । प्रप्त निष्कर्षलाई सामान्यीकरण गर्दै आगमनात्मक विधिका उपयोग गरी नयाँ मान्यताको विकास गर्ने प्रक्रिया अनुसरण गरिएको छ ।

Description

Citation