विद्यालयमा प्रदान गरिएकाे दिवा खाजा कार्यक्रमले सिकाइमा पारेको प्रभाव { Bidyalayama pradan gariyeko diwa khaja karyakramle sikaima pareko prabhab}
Date
2014
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
शोध सार
‘विद्यालयमा प्रदान गरिएको दिवा खाजा कार्यक्रमले सिकाइमा पारेको प्रभाव’ शीर्षकमा तयार पारिएको यो शोध पत्रको मुख्य उद्देश्य दिवा खाजा कार्यक्रमको कार्यन्वयनको अवस्था, यसले विद्यार्थीहरुको सिकाइमा प्रभाव पार्ने तत्व, विद्यालयमा भर्ना, कक्षा छाड्ने, कक्षा दोहोर्याउने, उपस्थित, पास प्रतिशत र प्राप्ताङ्क प्रतिशत आदि क्षेत्रमा पारेको प्रभावको लेखाजोखा गर्नु र कार्यन्वयनमा देखापरेका समस्याहरुको समाधानको उपायहरुको खोजी गर्नु रहेको छ । यसका लागि सुनसरी जिल्लाको प्रकाशपुर श्रोतकेन्द्र अन्तर्गतका तीनवटै गा.वि.स.को खाजा कार्यक्रम लागु भएका ६ वटा विद्यालयहरुलाई छनौट गरिएको छ । विद्यालयहरु छनौट गर्न उद्देश्यमूलक नमूना छनौट विधिको प्रयोग गरिएको छ भने कक्षा ५ का वर्ग शिक्षक तथा अभिभावकहरुलाई समेत सूचनाका लागि छनौट गरिएको छ । यस अध्ययनका लागि प्रधानाध्यापक, शिक्षक तथा अभिभावकको लागि बन्द तथा खुल्ला प्रश्नावली र विद्यार्थीहरुका लागि लक्षित समूह छलफल (FGD) काे माध्यमद्वारा सूचनाहरुको सङ्कलन गरिएको थियो ।
यस अध्ययनमा विद्यार्थीहरुको सिकाइमा प्रभाव पार्ने तत्वहरु भर्ना, उपस्थिति, कक्षा दोहोर्याउने, कक्षा छाड्ने, पास प्रतिशत र औषत प्राप्ताङ्क तालिका मान अनुसार दिवा खाजा कार्यक्रमले सकारात्मक प्रभाव पारेको देखिन्छ । तर तथ्याङ्कशास्त्रीय विश्लेषणका आधारमा भने यसले कुनै महत्व राखेको पाइदैन । यसले के देखाएको छ भने यो कार्यक्रम लागु गर्दा विद्यार्थीहरुको सिकाइ उपलब्धिमा केही सुधार भएपनि सन्तोषजनक नतिजा दिन सकेको छैन । प्र.अ., शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको धारणा अनुसार यस कार्यक्रमले सोचेजति सिकाइमा प्रभाव छाड्न नसके तापनि फलदायी नै देखिएको पाइन्छ । भर्ना वृद्धि भएको, औषत उपस्थिति वृद्धि रहेको, कक्षा छाड्ने दरमा कमि आएको, कक्षा दोहो¥याउने दरमा कमि आएको, पास प्रतिशतमा वृद्धि भएको र औषत प्राप्ताङ्कमा पनि वृद्धि रहेको पाइयो । विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलाप, गृहकार्य, कक्षा कार्य, शिक्षकसँग छलफल, अन्तरक्रिया समेत गरेको पाइयो ।
कार्यान्वयनको तहमा रहेको दिवा खाजा कार्यक्रमको सञ्चालनको नीतिमा देखिएका समस्याहरु समाधान गर्न अनुगमन प्रणालीलाई चुस्त, दुरुस्त बनाइ राम्रो सिकाइ उपलब्धि प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था समेत गर्नुपर्ने देखिन्छ । यसका साथै यो कार्यक्रम सञ्चालनको जिम्मा पाएका शिक्षा कार्यालय, विद्यालय, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुलाई दिवा खाजा कार्यक्रमको मूल मर्मको बारेमा जानकारी गराउँदै कार्यान्वयनमा लैजान सकेको खण्डमा मात्र भविष्यमा सुधार गरि यसलाई प्रभावकारी बनाउन सकिन्छ ।
Description
Keywords
दिवा खाजा Diwa khaja, सिकाइ उपलब्धि Sikai upalabdhi