घनश्याम कँडेलका प्रबन्धकाव्यमा रस {Ghanshyam Kandelka prabandh kavyama ras}
Date
2023
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली संकाय
Abstract
नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रसमक्ष नेपाली विषयमा विद्यावारिधि उपाधिप्राप्तिका लागि प्रस्तुत यस शोधकार्यको शीर्षक ‘घनश्याम कँडेलका प्रबन्धकाव्यमा रस’ रहेको छ । वि.सं. २००२ सालमा धादिङ जिल्लाको मलेखु बजार नजिक रिचोक्टार गाउँमा जन्मेका कवि घनश्याम कँडेल नेपाली साहित्य र समालोचना क्षेत्रका विशिष्ट प्रतिभा हुन् । उनका देवयानी (२०३९), उज्यालोतिर (२०५५), वनको क्रन्दन (२०५८), आँसुका अक्षर (२०६०), विश्वामित्र–मेनका (२०६६), धृतराष्ट्र (२०७३) र २०७८ भाद्रमा प्रकाशित सम्यक् सम्बुद्ध प्रबन्धकाव्य यस शोधकार्यमा अध्ययनका लागि समेटिएका छन् ।
कुनै कृतिमा आद्योपान्त सन्निहित रहने शृङ्खला वा सम्बन्ध नै प्रबन्धत्व हो । त्यस्तो सम्बन्ध विचार, विषय, भाव वा कथा कुनैको पनि हुन सक्छ । काव्यग्रन्थमा प्राप्त हुने यही एकवाक्यता वा पारस्परिक अन्तर्सम्बन्धबाट प्रबन्धकाव्य प्रतिफलित हुन्छ । प्रबन्धकाव्यका मुख्य दुई रूप छन्– महाकाव्य र खण्डकाव्य । यस शोधप्रबन्धमा कँडेलका छवटा खण्डकाव्यको रसविधानका दृष्टिले अध्ययन गरिएको छ भने पछिल्लो पटक प्रकाशित महाकाव्य ‘सम्यक् सम्बुद्ध’ (२०७८) को सामान्य परिचयमात्र उल्लेख गरिएको छ ।
प्रस्तुत शोधकार्यको मूल प्राज्ञिक जिज्ञासा कँडेलका प्रबन्धकाव्यहरूमा प्रयुक्त रसतत्त्वको खोजी गर्नु हो । यस अध्ययनका लागि आवश्यक सामग्री मूलतः पुस्तकालय र व्यक्तिगत सङ्कलनबाट जुटाइएको छ । यसमा अंशतः क्षेत्रीय विधिको पनि प्रयोग गरिएको छ । कँडेलका विश्लेष्य प्रबन्धकाव्यको छनोटका लागि समष्टिगत विधि, विश्लेषणका लागि निगमन विधि र अंशत आगमन विधिको समेत प्रयोग गरिएको छ । संस्कृत साहित्यको रसवादी समीक्षा पद्धति नै यस शोधमा सामग्री विश्लेषणको मूल आधार हो । सोही आधारमा उपलब्ध सामग्रीको अध्ययन अनुशीलन गरेर उपलब्ध निष्कर्षको उपस्थापन गर्ने काम यस शोधमा गरिएको छ ।
कवि घनश्याम कँडेलका प्रबन्धकृतिको अध्ययन अनुसन्धान माथि उल्लेख गरिए बमोजिम भए तापनि रसविधानका दृष्टिले उक्त कृतिहरूको अध्ययन अनुसन्धान भएको देखिन्न । तसर्थ उक्त कमीलाई पूर्णता दिन घनश्याम कँडेलका प्रबन्धकाव्यमा रस शीर्षकमा गरिएको प्रस्तुत अनुसन्धान नितान्त भिन्न र नौलो रहेको छ ।
प्रस्तुत शोधकार्यबाट घनश्याम कँडेलका प्रबन्धकाव्यहरूलाई रससिद्धान्तका दृष्टिले विवेचना गर्ने नवीन उपक्रम प्रारम्भ भएको छ । कवि घनश्याम कँडेलका पौराणिक प्रबन्धकाव्य, सामाजिक, प्राकृतिक र शोकपरक प्रबन्धकाव्यजस्ता छवटा काव्यहरूलाई रसविधानका दृष्टिले गहन अध्ययन गरी यथेष्ट प्रामाणिक स्रोत उल्लेख गरी उक्त काव्यहरूका अङ्गीरस र अङ्गरसहरूको स्पष्ट व्याख्या गरी निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययनको विधि, प्रक्रिया र निष्कर्षलाई अन्य यस्तै खालका अनुसन्धानमा समेत उपयोग गर्न सकिन्छ ।
नेपाली साहित्यको कविता विधाका सशक्त प्रतिभा घनश्याम कँडेलको जीवनी, व्यक्तित्व र कृतित्वबिचको अन्तर्सम्बन्धको उत्खनन यो शोधको महत्त्वपूर्ण प्राप्ति हो । यस अनुसन्धानले घनश्याम कँडेललाई रससचेत विशिष्ट कविका रूपमा चिनाउनुका साथै नेपाली भाषासाहित्यको क्षेत्रमा काम गर्ने प्राध्यापक, लेखक र साहित्यका पाठक एवम् विद्यार्थीसमेतलाई उपयुक्त बौद्धिक खुराक प्रदान गरेको छ ।
Description
Keywords
पाैराणिक प्रबन्धकाव्य Pouranik Prabandhkavya, रसतत्व Rashtatwa