सामुदायिक र संस्थागत विद्यालयमा छात्राहरुकाे सहभागिताकाे तुलनात्मक अध्ययन {Samudaik ra sasthagat bidhayalayama chhatraharuko sahabhagitako tulanatmak adhyayana}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

शोधसार प्रस्तुत अध्ययन “सामुदायिक र संस्थागत विद्यालयमा छात्रा सहभागिताको तुलनात्मक अध्ययन” शिर्षक अन्तर्गत कपिलवस्तु जिल्लामा अवस्थित हथौसा गा.वि.स. लाई छनोट गरी उक्त क्षेत्रमा संचालित एउटा सामुदायिक र एउटा संस्थागत विद्यालयलाई नमुनाको रुपमा छनोट गरिएको थियो । यस अध्ययनमा सामुदायिक र संस्थागत विद्यालयमा छात्राहरुको जातिगत सहभागिताको अवस्था पत्ता लगाउनु र छात्राहरुको विद्यालयमा सहभागिता वारे सरोकारवालाहरुको धारणा पहिल्याउनु मुख्य उद्देश्य राखिएको थियो । यस अध्ययनको उद्देश्य अनुसार अध्ययन क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयको २०७० सालको कक्षा १ देखि १० सम्मको जातिगत रुपमा छात्रा विद्यार्थीको भर्नालाई अध्ययन गर्दा संस्थागत विद्यालयको प्राथमिक विद्यालय तहमा मुसलमान र मधेसी दलित जातिका छात्राहरुको भर्ना शून्य रहेको पाइयो भने सामुदायिक विद्यालयमा ती जातिका छात्राहरुको भर्ना नगन्य रुपमा रहेको देखियो । त्यस्तै सामुदायिक विद्यालयको निम्न माध्यमिक विद्यालय तहमा मधेसी दलीत जातिका छात्राहरु शून्य रहेको तर संस्थागत विद्यालयमा भने पहाडि दलित,मधेसी दलित र मुसलमान जातिका छात्राहरुको भर्ना शून्य रहेको पाइयो । त्यसैगरी सामुदायिक विद्यालयको माध्यमिक विद्यालय तहमा पनि प्रा.वि र नि.मा.वि. तहमा जस्तै मुसलमान जातिका छात्राहरुको भर्ना शून्य रहेको देखिन्छ भने पहाडी जनजाति,पहाडी दलित र मधेसी दलित जातिका छात्राहरुको भर्ना संस्थागत विद्यालयमा शून्य रहेको पाइयो । छात्राको लैंगिक अनुपात सामुदायिकमा ५१% रहेको तर संस्थागतमा तिनीहरुको अनुपात ३१% रहेको पाइयो । यसरी संस्थागत विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा छात्रा भर्ना बढी हुनुमा न्यून आर्थिक अवस्था,अभिभावकमा जनचेतनाको कमी जस्ता तत्व जिम्मेवार रहेको भनी शिक्षकहरुको जवाफ रहेको थियो भने आर्थिक अवस्था कमजोर, केटा र केटीमा गरीने असमानता, संस्थागत विद्यालयमा शैक्षिक शुल्क महङ्गो हुनाले पनि संस्थागत विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा छात्रा भर्ना वढी भएको भन्ने जवाफ अभिभावकले दिएको पाइयो । छनौटमा परेका दुवै विद्यालयको कक्षा ९ का विद्यार्थीहरुको विद्यालयमा उपस्थिति हेर्नका लागि वि. सं.२०७० सालमा भर्ना भएका विद्यार्थीहरुको हाजिरी रेकर्ड अध्ययन गर्दा सामुदायिक विद्यालयका एक जना विद्यार्थीको शैक्षिक सत्र २०७० सालमा औसत उपस्थित हुने दिन १४३.५० (७४.७४%) रहेको र संस्थागत विद्यालयका एक जना विद्यार्थीको एक शैक्षिक सत्रमा औसत उपस्थित हुने दिन १९४.२५ (८८.२९%) रहेको पाइयो । त्यस्तै सामुदायिक विद्यालयका एक जना विद्यार्थी एक वर्षमा औसत अनुपस्थित दिन ४८.५ (२५.२६%) रहेको र संस्थागत विद्यालयका एक जना विद्यार्थी एक वर्षमा औसत अनुपस्थित दिन २५.७५ (११.७०%) रहेको पाइयो । यसरी सामुदायिक विद्यालयका विद्यार्थीहरुले भन्दा संस्थागत विद्यालयका विद्यार्थीहरुले ५०.७५औसत उपस्थित दिन वढी पढ्न पाएका रहेछन् भने संस्थागत विद्यालयका विद्यार्थीहरुको भन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरुको औसत अनुपस्थित दिन २२.७५ धेरै रहेको देखिन्छ । सामुदायिक विद्यालयका केटाहरुको औसत उपस्थित दिन १३६ (७१.२६%) र केटीहरुको औसत उपस्थित दिन १४८ (७७.३६%) र संस्थागत विद्यालयमा केटाहरुको औसत उपस्थित दिन १९४.५ (८८.४०%) र केटीहरुको औसत उपस्थित दिन १९४.०८ (८८.२१%) रहेको पाइयो । त्यस्तै सामुदायिक विद्यालयका केटाहरुको औसत अनुपस्थित दिन ५०.१३ (२८.७१%) र केटीहरुको औसत अनुपस्थित दिन ३८.४६ (२२.२६%) रहेको र संस्थागत विद्यालयका केटाहरुको औसत अनुपस्थित दिन २५.५ (११.५९%) र केटीहरुको औसत अनुपस्थित दिन २५.९२ (११.७८%) रहेको पाइयो ।तुलनामा संस्थागत विद्यालयमा विद्यार्थी वढि उपस्थित हुने गरेको र अनुपस्थित पनि कम हुने गरेको पाइयो । त्यस्तै अभिभावकहरुको कृषि पेशा हुनु, बाली लगाउने र थन्काउने वेलामा विद्यालय जान नपाउनु, घरमा भाईबहिनी हेर्नपर्नु, घरमा कोही विरामी भए हेरचाह गर्नुपर्ने, गाँउघरमा विवाह पूजा हुँदा र पानी परेको समयमा विद्यालय जान नपाउने जस्ता कारणहरु जिम्मेवार रहेकाले विद्यालयमा नियमित उपस्थित हुन नसक्ने भन्ने जवाफ अभिभावकले दिएको पाइयो । विद्यालयमा कक्षा छाड्ने छात्राहरुमा धेरैजसो मधेसी, दलित ,थारु र पहाडी जनजाति जातिका छात्राहरु रहेको भनी सामुदायिक र संस्थागत दुवै विद्यालयका शिक्षकहरुले जवाफ दिएको पाइयो । जसको कारण ; घरायसी कामधन्दाले पढ्न नपाउनु, फेल हुनु, कक्षाको तुलनामा उमेर बढी हुनु, छिटो विवाह हुनु, अभिभावकको अन्धविश्वास जस्तै ; छोरीलाई जति पढाए पनि अर्काको घरमा काम गर्न पठाउनै पर्छ भन्ने सोचाई जस्ता तत्वहरु जिम्मेवार रहेको भनी शिक्षकहरुको जवाफ रहेको पाइयो । त्यस्तै छोरीको शिक्षा प्रतिसामुदायिक विद्यालयका सरोकारवालाहरु भन्दा संस्थागत विद्यालयका सरोकारवालाहरु वढी सकारात्मक र सचेत रहेको पाइयो । वास्तवमा जातिगत रुपमा छात्राहरुको विद्यालयमा सहभागिता वढाउन अभिभावकको आर्थिक पक्ष सवल बनाउने किसिमका रोजगारमूलक कार्यक्रम ल्याउनुपर्ने, अभिभावकमा चेतनाको विकास गराउने, छुवाछुतको धारणालाई कम गर्ने, छात्रा छात्रवृत्ति, ड्रेस लगायतका छात्रा विद्यार्थीलाई पढ्न आवश्यक पर्ने सामाग्री निशुल्क उपलब्ध गराउनुपर्ने, विद्यालयको वातावरण छात्रा मैत्री वनाउनु पर्ने, छात्राहरुलाई नियमित उपस्थित गराउनका लागि प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था सामुदायिक विद्यालयका साथै संस्थागत विद्यालयले अवलम्वन गर्नुपर्ने देखिन्छ । साथै विशेष गरी अभिभावकको सहभागिता वढाउन जोड दिनुपर्ने र अभिभावकसँगको संबन्ध अझ सुदृढ गराउनुपर्ने जस्ता उपायहरु अपनाउनु पर्ने देखिन्छ ।

Description

Citation