चन्द्रागिरिस्थित शोणितपुर क्षेत्रको संस्कृति र परम्परा {Chandragiristhit Sonitpur kshetrako sanskriti ra parampara}
Date
2024
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
प्रस्तुत शोधको शीर्षक ‘चन्द्रागिरिस्थित शोणितपुर क्षेत्रको संस्कृति र परम्परा’ रहेको छ । सांस्कृतिक तथा पुरातात्विक दृष्टिले समेत महत्वपूर्ण रहेको चन्द्रागिरिको ४ नं वडामा पर्ने शोणितपुर क्षेत्रको संस्कृतिले पौराणिक समयको झल्को दिने गरेको छ । यहाँ अझैसम्म पनि जारी रहेका टाउको लुकाउने जात्रा, महालक्ष्मी जात्राजस्ता अमूर्त सांस्कृतिक परम्पराले यो क्षेत्र पाराणिक समयदेखि नै बसोबासको क्षेत्र थियो भन्ने आधारहरु देखाएको छ । काठमाडौंका विभिन्न क्षेत्रका नेवारी समुदायको तुलनामा यो क्षेत्रको संस्कृति भिन्न रहेको भेटिएको छ । यहाँको क्षेत्रमा काठमाडौंको कोर नेवारी समुदाय र उपत्यका बाहिरका अन्य जातिको संस्कृतिको सम्मिश्रण भेटिन्छ । यद्यपि सांस्कृतिक पद्धति र मान्यताको आधारमा हरेक संस्कृतिको मौलिक अर्थ रहेको भेटिएको छ ।
शोणितपुर क्षेत्र ऐतिहासिक दृष्टिले प्राचीन समयदखि नै महत्वपूर्ण क्षेत्र हो भन्ने पुरातात्विक प्रमाणले पुष्टि गरिसकेको छ । यहाँको आदिनारायण मन्दिरमा भेटिएको शिलालेखले यो क्षेत्रबाट नै नेपालमा सनदपत्र वा प्रशासनिक राजाज्ञाको सुरुवात भएको थियो प्रमाण भेटिन्छ । साहित्यक स्रोतलाई आधार
मान्ने हो भने यसको प्रमाण पौराणिक रुपमा द्वापर युगसम्मको भेटिन्छ । प्राचीनकालीन सुप्रभानगरीका
तत्कालीन दैत्यराज वाणासुर अति वीर पराक्रमी हुनुकासाथै शिवभक्त भएकाले भगवान पशुपतिनाथको आराधनाबाट वरदान पाई आफ्नो राज्य स्वर्णमय (सुनैसुनको) बनाएका थिए। उनको घमण्डको अगाडि कसैको केही लाग्दैनथ्यो । त्यसैले उनले आफनी अति सुन्दरी छोरी राजकुमारी उषालाई जलक्रीडाका लागि तत्कालीन नेपाल खाल्डोलाई जलमग्न (ताल) बनाई दिए । राजकुमारी उषाले एकदिन सपनामा
देखिएकी युवक मनपराएकीले उनैसँग बिहे गर्ने अठोट गरिन र उक्त कुरा आफना बाबु वाणासुरलाई सुनाइन । तर सपनामा देखिएका ती युवक को हुन, कहाँका हुन केही अत्तापत्तो थिएन । तापनि वाणासुरले आफ्नी प्यारी छोरीको लागि अप्सरा चित्रलेखा (राजकुमारी उषाकी १०० जना सुसारेमध्येकी अति मन मिल्ने शयन कक्ष समेतमा रहने सुन्दरी) लाई बोलाई राजकुमारी उषाले हुलिया बताए अनुसारको चित्रलेखाले चित्र कोर्दा ती युवकको अनुहार द्वारिका नगरीका अनिरुद्र (भगवान श्रीकृष्णका नाति) सँग ठयाक्क मिलेकोले रातारात चित्रलेखालाई समेत पठाई अनिरुद्रलाई लिन पठाए । राती सुतिरहेका अनिरुद्रलाई खाट समेत उठाई अपहरण गरी ल्याएर शोणितपुरमा लुकाएर राखे । त्यो कुरा भगवान श्रीकृष्णले थाहा पाएर वाणासुरसँग लडी उनको धमण्ड चकनाचुर पारिदिए भन्ने पौराणिक मान्यताले यो क्षेत्र द्वापरयुगदेखि नै महत्वपूर्ण रहेको थियो भन्ने साहित्यिक स्रोतबाट पुष्टि हुन आउँछ ।
प्रस्तुत शोधको मूल लक्ष्य शोध समस्यासँग सम्बद्ध क्षेत्रमा विद्यमान रिक्तताको परिपूर्ति गर्नु र तत्सम्बद्ध नवीन ज्ञानको निर्माण गर्नु हो । यस शोधमा शोणितपुर क्षेत्रको पहिचान गरी त्यहाँको ऐतिहासिकता, भौतिक संस्कृति र अभौतिक संस्कृतिको बारेमा खोजी गर्नु थियो । जसले आगामी दिनमा शोध गर्न चाहनेहरुको लागि पृष्ठपोषण प्रदान गर्नु र यो क्षेत्रका थप समस्याको बारेमा जानकारी दिनु यस शोधको
औचित्य हो । प्रस्तुत शोध कार्यमा गुणात्मक विधि प्रयोग गरी यस अन्तर्गतका वर्णनात्मक र विवरणात्मक पद्धतिबाट
तथ्यको व्याख्या विश्लेषण गर्नुका साथै स्वानुभाविक विधिको समेत उपयोग गरिएको छ । शोधको अध्ययन समयमा व्यवस्थित हिसाबले कतिपय जात्रा पर्व र संस्कृतिको प्रत्यक्ष अवलोकन गरिएको छ भने यस शोधका लागि शोधार्थीले यसअघि विभिन्न जात्रामा सहभागी भएर अवलोकन र तथ्यांक संकलन गरेको थियो । शोधको मूल ढाँचा गुणात्मक भएकाले यसको प्रकृति विश्लेषणात्मक छ । शोधको विषयलाई
दार्शनिक चिन्तन, सैद्धान्तिक मान्यता, सामाजिक परिवेश र सामाजिक मान्यता जस्ता विशेषताले प्रभाव
पारेको छ ।
Description
Keywords
सांस्कृतिक विकासक्रम Sanskritik bikashkram, नेवार समुदाय Newar samuday