गाेविन्दराज भट्टराईकाे ' गाेधुलीमा दश पाइला ' निवन्ध सङ्ग्रहकाे कृतिपरक अध्ययन विश्लेषण
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
मेची अञ्चल अन्तर्गत ताप्लेजुङ्ग जिल्लाको सिकैचा गा.वि.स. मा जन्मिएका गोविन्दराज भट्टराईले २०३१ साउन १५ को गोरखापत्रमा नदी किनारा कथाबाट नेपाली साहित्यमा कलम चलाउन शुरु गरेका हुन् । हालसम्म उनको लेखनी कथा, कविता उपन्यास र निबन्ध विद्यामा अगाडि बढेको छ । अनुवाद, समालोचना जस्ता क्षेत्रमा पनि ख्याति कमाएका भट्टराई बहुमुखी प्रतिभाका धनी व्यक्ति हुन् । नेपालका विभिन्न ठाँउ र नेपाल बाहिरका भारत, भुटान, चाइना, ग्रीस, फ्रान्स, अमेरिका आदि विभिन्न भू–भागको भौगोलिक पृष्ठ भूमिमा रहेर भट्टराईले आफ्नो सृजनालाई सार्थक र बलियो बनाएका छन् । गोविन्दराज भट्टराईको चौथो निबन्धसङ्ग्रह ‘गोधूलिमा दस पाइला’ (२०६६) नामक निबन्धात्मक कृतिको अध्ययन यस शोध प्रबन्धमा गरिएको छ ।
निबन्धकार गोविन्दराज भट्टराईको ‘गोधूलिमा दस पाइला’ (२०६६) निबन्धसङग्रहको अध्ययन गर्ने क्रममा यस शोधप्रबन्धलाई जम्मा पाँच भागमा बाँडिएको छ । यस शोध प्रबन्धको पहिलो परिच्छेद अन्तर्गत यस शोधपत्रको रुपरेखा प्रस्तुत गरिएको छ । यस खण्डमा शोधशीर्षक, शोधप्रयोजन, विषय परिचय समस्याकथन, शोधकार्यको उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधकार्यको औचित्य, महत्व र उपयोगिता, शोधकार्यको सीमाङ्ककन शोधविधि, सामाग्री संकलन विधि र शोधकार्यको रुपरेखा रहेका छन् ।
यस शोध प्रबन्धको दोस्रो परिच्छेदमा गोविन्दराज भट्टराईको संक्षिप्त परिचय राखिएको छ । यसका उपशीर्षकहरुमा गोविन्दराज भट्टराईको जीवनी अन्तर्गत जन्म र बाल्यकाल, शिक्षादीक्षा, जागिरका विभिन्न क्रम भ्रमण सम्मान तथा पुरस्कार, लेखनको थालनी र प्रकाशित कृतिहरु राखिएका छन् । यसै परिच्छेदमा गोबिन्दराज भट्टराईको व्यक्तित्व अन्नर्गत शारीरिक व्यक्तित्व र व्यक्तित्वका विभिन्न पाटाहरुको चर्चा गरिएको छ । नेपाली साहित्यको कविता, उपन्यास, निबन्ध, समालोचना सम्पादान, अनुवाद जस्ता क्षेत्रमा कलम चलाएका भट्टराईको योगदान अमूल्य रहेको छ ।
यस शोध प्रबन्धको तेस्रो परिच्छेदमा निबन्धसिद्धान्त र गोविन्दराज भट्टराईको निबन्धयात्रा शीर्षक राखिएको छ । यसका उपशीर्षकहरुमा निबन्धको सैद्धान्तिक परिचय, निबन्धको पृष्ठभूमि, निबन्धको परिभाषा, निबन्धको विकाशक्रम र निबन्धको चरणविभाजन (पहिलो र दोस्रो), निबन्धका तत्वहरु अन्तर्गत विषयवस्तु, सम्वेदना, निजात्मकता उद्देश्य, संक्षिप्तता र भाषशैली को परिचय दिइएको छ । गोबिन्दराज भट्टराईको निबन्धयात्रालाई दुई चरणमा विभाजन गरी अध्ययन गरिएको छ । यसै परिच्छेदमा ‘गोधूलिमा दस पाइला’ (२०६६) निबन्धसङग्रहलाई भट्टराईको निबन्धयात्राको दोस्रो चरण (२०६२–हाल) को महत्वूर्ण कृतिका रुपमा स्थापित गरिएको छ ।
यस शोधप्रबन्धको चौथो परिच्छेद अन्तर्गत ‘गोधूलिमा दस पाइला’ निबन्धसङग्रह भित्रका निबन्धहरूको अध्ययन र विश्लेषण राखिएको छ । यस अन्तर्गत कृतिपरिचय र ‘गोधूलिमा दस पाइला’ निबन्धसङ्ग्रह भित्रका निबन्धहरुको वर्गीकरण गरिएको छ । जसमध्ये यस निबन्धसङ्ग्रहमा रहेका निबन्धहरु ८ ओटा यात्रासंस्मरणात्मक, बाह्र ओटा विचारमूलक, चार ओटा शिक्षामूलक र तीन ओटा संस्मरणात्मक निबन्धहरु प्रस्तुत गरिएको छ । यसै परिच्छेदमा गोबिन्दराज भट्टराईका ‘गोधुलिमा दस पाइला’ निबन्धसङ्ग्रहका निबन्धहरुको निबन्धकातत्व विषयवस्तु, सम्वेदना, निजात्मकता , उद्देश्य, संक्षिप्तता र भाषा शैलीका आधारमा अध्ययन र विश्लेषण गरिएको छ । गोबिन्दराज भट्टराईका निबन्धात्मक विशेषताहरु पनि यस निबन्धसङ्ग्रहका आधारमा निरुपण गरिएको छ । भट्टराईको यो निबन्धसङ्ग्रह निजात्मकता, यात्रासंस्मरणात्मकता, यथार्थता र वैचारिकताले भरिएको निबन्ध सङग्रह हो र गोबिन्दराज भट्टराई निजात्मक, यात्रासंस्मरणात्मक यथार्थवादी , भाषाप्रेमी, शिक्षाप्रेमी, साहित्यप्रेमी र वैचारिक निबन्ककार हुन् ।
यस शोधप्रबन्धको पाँचौँ परिच्छेदमा उपसंहार एवम् निष्कर्ष शीर्षक राखिएको छ र अन्तमा सम्भावित शोधशीर्षकका उपशीर्षकहरु पनि राखिएको छ । सन्दर्भग्रन्थसूची शीर्षकमा यो शोधप्रबन्ध तयार पार्ने क्रममा प्रयोग गरिएका पाठ्यपुस्तक र पत्रपत्रिकाको सूची राखिएको छ ।
