अतिरिक्त क्रियाकलापको प्रभावकारिता {Atirikta kriyakalapko prabhabkarita}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
विद्यार्थी विद्यालय परिवारको एक महत्वपूर्ण पक्ष हो । यिनै विद्यार्थीहरुलाई पाठ्यक्रमले निर्देशित गरेको उद्देश्य र सिकाइ उपलब्धी हासिल गराउनु विद्यालयको प्रमुख कार्य रहेको हुन्छ । तर सिकाइका लागि पाठ्यपुस्तक र कक्षा कोठा भित्रको सिकाइ मात्र पर्याप्त हुँदैन । किनकी विद्यार्थीहरुको लागि चौतर्फी विकासको आवश्यकता पर्दछ । विद्यार्थीहरुको व्यक्तित्व विकासमा शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक पक्षसँग सम्बन्धित रही कक्षा कोठाको शिक्षण बाहेक अतिरिक्त समयमा सञ्चालन गरिने विभिन्न कृयाकलापहरुलाई अतिरिक्त कृयाकलाप भनिन्छ ।
अतिरिक्त कृयाकलापहरुले विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्न सहयोग गर्दछ । प्रस्तुत अध्ययन सामुदायिक विद्यालयमा अतिरिक्त कृयाकलापको प्रभावकारिता शीर्षक राखी सोको पहिचान गर्न यो शोधकार्य गरिएको हो । यो अध्ययन अतिरिक्त कृयाकलाप सम्बन्धि सरोकारवालाहरुको धारणा, अतिरिक्त कृयाकलापका कार्यक्रमहरुको प्रभावकारिता र अतिरिक्त कृयाकलापमा छात्राछात्रहरुको सहभागिता पत्ता लगाउन केन्द्रित रहेको थियो । यो अध्ययन विद्यालय तहमा अतिरिक्त कृयाकलापको अवस्था पत्ता लगाउन साथै अतिरिक्त कृयाकलाप र यसले विद्यार्थीको सिकाइमा पारेको प्रभाव विश्लेषण गर्न यो अध्ययन केन्द्रित रहेको थियो ।
यो अध्ययन सुनसरी जिल्ला अन्तरगतको धरान नगरपालिका भित्रका ५ वटा सामुदायिक विद्यालयहरुमा गरिएको अतिरिक्त कृयाकलापसँग केन्द्रित रहेको छ । यस अध्ययनमा आवश्यक सूचनाहरु संकलन गर्न अन्तर्वार्ता, प्रश्नावली, लक्षित समूह छलफल र अवलोकन अध्ययन आदिको प्रयोग गरिएको थियो । विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी एवं अभिभावकहरुबाट आवश्यक सूचनाहरु संकलन गरिएको थियो ।
अतिरिक्त कृयाकलाप सम्बन्धी सरोकारवालाहरुको धारणा लेखाजोखा गर्दा विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयहरुमा कक्षा शिक्षण बाहेक अतिरिक्त समयमा सञ्चालन हुने कार्यक्रमलाई अतिरिक्त कृयाकलापको रुपमा लिइएको पाइयो । विद्यार्थीहरुको कला, सौन्दर्य र सृजनात्मक क्षमता उजागर गर्ने कृयाकलापलाई पनि अतिरिक्त कृयाकलापको रुपमा लिइएको पाइयो । अतिरिक्त कृयाकलापले कक्षा कोठामा सिकेको ज्ञान वा शीपलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सहयोग गरेको देखियो । अतिरिक्त कृयाकलाप अन्तर्गत सञ्चालन हुने कार्यक्रमहरुमा खेलकुद, साँस्कृतिक कार्यक्रम, साहित्यिक गतिविधि, नाटक, प्रतियोगिता, सरसफाई कार्यक्रम, चित्रकला र हस्तकला प्रतियोगिता, हाजिरीजवाफ र हिज्जे प्रतियोगिता आदि रहेको देखियो । यी कार्यक्रमहरुलाई विद्यालयले उपलब्ध स्थानीय स्रोत साधन र सामग्री अनुसार सञ्चालन गर्ने गरेको पाइयो । कार्यक्रमहरुको लागि आवश्यक पर्ने स्रोत र सामग्रीहरुमा खेल मैदान लगायत, खेल सामग्री अन्तर्गत भलिबल, फुटबल, क्यारामबोर्ड, रिङ्ग, डोरी आदि रहेको पाइयो । यसैगरी साँस्कृतिक कार्यक्रम र नाटक प्रदर्शनीका लागि हार्माेनियम, मादल, झ्याम्टा, साउण्ड सिष्टम आदि आवश्यक पर्ने देखियो । चित्रकला र हस्तकला आदिको लागि विभिन्न किसिमका रंग, ब्रस, कागज र कपडा रहेको पाइयो । अतिरिक्त तथा सहकृयाकलाप स्रोत पुस्तिका (२०६१) मा उल्लेख गरिएका साधनहरुमध्ये आफ्नो विद्यालयहरुमा थोरै साधन र सामग्रीहरु रहेको सरोकारवालाहरुको प्रतिकृया रहेको पाइयो । विद्यालयहरुमा उपलब्ध स्रोत र साधनहरुप्रति प्र.अ., शिक्षक र विद्यार्थीहरुको आंशिक सन्तुष्टि रहेको पाइयो । अतिरिक्त कार्यक्रमले विद्यार्थीहरुमा नियमित अध्ययन गर्ने बानीको विकास, बोल्न सक्ने र नेतृत्व लिन सक्ने क्षमता प्रदान सृजनात्मक सोच, अनुशासित रहने बानीको विकास तथा शीप विकासका पक्षहरुमा सहयोग गरेको देखियो ।
अतिरिक्त कृयाकलापका कार्यक्रमहरुलाई छनौटमा परेका सबै विद्यालयहरुले अन्तर सदनको आधारमा सञ्चालन गर्ने गरेको पाइयो । प्रतिभाको दृष्टिकोणबाट सन्तुलित र व्यवस्थित हुने गरी विद्यार्थीहरुलाई सदनमा विभाजन गर्ने गरेको पाइयो । छनौटमा परेका विद्यालयहरु मध्ये एउटा विद्यालयले महिनामा २ पटक र एउटा विद्यालयले मात्र प्रत्येक शुक्रबार कार्यक्रमहरु गर्ने गरेको पाइयो । २ वटा विद्यालयले वार्षिक कार्य योजनामा नै कार्यक्रमहरुको विवरण उल्लेख गरेको पाइयो भने एउटा विद्यालयले वार्षिक कार्य योजनामा कार्यक्रमहरु उल्लेख गरेको पाइएन । अतिरिक्त कृयाकलाप सञ्चालनको आधारहरुमा सबै विद्यार्थीहरुको समान सहभागिता, विद्यार्थी केन्द्रित कृयाकलाप, लैंगिक समानता, विद्यालयको आवश्यकता, आर्थिक अवस्था र प्राप्त सुविधाहरु तथा विद्यालयका प्रधानाध्यापक शिक्षक र विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको पाइयो । विद्यालयको खेल मैदान र खेल सामग्रीको अभाव विद्यालयको आर्थिक स्रोत, भौतिक सामग्री, दक्ष जनशक्ति वा तालिम प्राप्त शिक्षकको अभाव, विद्यालयमा हुने लैंगिक र जातिगत भेदभाव विद्यार्थीहरुको न्यून सहभागिता, अनुशासनको कमी, प्र.अ. शिक्षक र विद्यार्थीहरुबीचमा सहमति र सहयोगको अभाव तथा अतिरिक्त कृयाकलापहरुको निरन्तर मूल्यांकन र अनुगमन नहुनु जस्ता पक्षहरु अतिरिक्त कृयाकलाप सञ्चालनमा बाधा गर्ने तत्वको रुपमा रहेको पाइयो । अतिरिक्त कृयाकलापहरुलाई नियमित र स्तरीय बनाउनुको लागि कार्यक्रमहरुसँग सम्बन्धित पक्षहरुको एक आपसमा प्रकार्यात्मक सम्बन्ध, प्रतिभाको दृष्टिकोणबाट सन्तुलित र व्यवस्थित हुने गरी विद्यार्थीहरुलाई सदनमा विभाजन, कार्यक्रममा भाग लिने विद्यार्थीहरुलाई पुरस्कार र प्रोत्साहन, कार्यक्रमका लागि आवश्यक पर्ने आर्थिक एवं भौतिक स्रोत जुटाउने, लैंगिक र जातीय भेदभावको अन्त्य, विद्यार्थीहरुप्रति समान व्यवहार, कार्यक्रमहरुको बारेमा पूर्व जानकारी र योजना निर्माण, विद्यार्थी केन्द्रित कार्यक्रम तथा कार्यक्रम सञ्चालन व्यवस्थापन र मूल्यांकनमा एकरुपता ल्याउनु पर्ने सुझाव प्रस्तुत गरिन्छ ।
छनौटमा परेका सबै विद्यालयहरुमा अध्ययनमा राम्रो दखल भएका विद्यार्थीहरु नै अतिरिक्त कृयाकलापमा सहभागिता बढी भएको देखियो । लैंगिक रुपमा विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलापमा समान सहभागिता भएको पाइयो । यसरी यस अध्ययनबाट अतिरिक्त क्रियाकलापको सम्बन्धमा देखिएका प्रभावहरुले विद्यालयसँग सम्बन्धित सबै पक्षलाई सहयोग गरेको छ ।
